सीमाक्षेत्रमा पेट्रोलियम पदार्थको तस्करी बढ्दो

काठमाडौं– नेपाल तथा भारतको खुल्ला सिमानाका कारण बर्सेनि तेल तस्करी बढिरहेको छ । प्रहरीका अनुसार रक्सौल, सुनौली, सिलिगुरी, जोगबनी, जलेश्वर, रुपैडिहालगायत सीमावर्ती क्षेत्रबाट तेल तस्करी हुने गरेको छ । 

पेट्रोलियम पदार्थको आयातमा भर पर्नुपर्ने नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । 

आइओसीले गत सेप्टेम्बर १६ (भदौ ३१)मा निगमलाई पठाएको नयाँ अन्तर्राष्ट्रिय मूल्यका आधारमा निगमले गत असोज १ गते मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढायो । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा ३ रुपैयाँ बढाएको हो । उक्त मूल्यसँगै काठमाडौंको थानकोट, सुर्खेत, तथा दीपायलका डिपोहरूमा पेट्रोलमा प्रतिलिटर ११४, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १०१ रुपैयाँ कायम भयो । पोखरा तथा दाङ डिपोमा भने पेट्रोलमा प्रतिलिटर ११३ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर १ सय ५० पैसा पुगेको छ । 

यस्तै निगमको चारआली, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज तथा धनगढीका डिपोहरूमा पेट्रोलमा प्रतिलिटर ११२ रुपैयाँ ५० पैसा तथा डिजेल र पेट्रोलमा ९९ रुपैयाँ ५० पैसा पुगेको छ । निगमले उक्त डिपोहरूको १५ किमिभित्रका क्षेत्रमा लागु हुने गरी सो मूल्य निर्धारण गरेको हो । 

निगमका अनुसार छिमेकी देश भारतमा दैनिकी रूपमा अन्तर्राष्ट्रिय बजारको मूल्यअनुरूप मू्ल्य समायोजन हुँदै गइरहेको कारणले गर्दा पनि अझै पनि वीरगन्जतर्फ भारतको रक्सौलमा भन्दा पेट्रोल प्रतिलिटर २३ रुपैयाँ ७८ पैसा र डिजेल प्रतिलिटर २२ रुपैयाँ ५० पैसा सस्तो रहेको छ । 

वीरगन्जमा अहिले पेट्रोल प्रतिलिटर १ सय १२ रुपैयाँ ५० पैसा, तथा डिजेलमा ९९ रुपैयाँ ५० पैसा हुँदा भारतको रक्सौलमा पेट्रोल प्रतिलिटर १३६ रुपैयाँ २८ पैसा तथा डिजेलमा १ सय २२ रुपैयाँ छ । 



पेट्रोलियम पदार्थको मूल्य भारतभन्दा नेपालमा सस्तो रहँदा यसको तस्करी बढ्ने गरेको जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । 

तस्करहरूले पेट्रोलियम पदार्थको तस्करी गर्दा विभिन्न तरिका पनि अपनाउने गरेको प्रहरीको दाबी छ । पर्सा प्रहरीका अनुसार तस्करहरूले मोटरसाइकलमा तेल भरेर सीमा पारी पु¥याउने र फेरि सीमा वारि आएर तेल भर्ने गर्छन् । उनीहरूले यो कार्यलाई निरन्तरता दिने गरेका छन् । गत वर्ष मात्र प्रहरीले पर्सामा ८ सय ८० लिटर पेट्रोल तथा ३१ सय ७६ लिटर डिजेल नियन्त्रणमा लिएको थियो  । 



यस्तै, यस आर्थिक वर्षको असोज ९ गतेका दिन पर्सा प्रहरीले एक थान इन्डियन मोटरसाइकलसहित ३५ लिटर डिजेल नियन्त्रणमा लिएको छ । तस्करीका क्रममा प्रहरी देख्नासाथ तस्करहरूले पेट्रोलियम पदार्थसहित सवारीसाधन छाडेर भाग्ने गरेको पर्सा प्रहरीले दाबी गरेको छ ।  

यता, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाको बोर्डरबाट अवैध रूपमा तस्करहरूले तेल तस्करी गर्ने गरेका छन् । तर, यस वर्षदेखि सीमाक्षेत्रमा कडा चेकजाँच गरिने प्रहरीको योजना छ । यसका लागि सोमबार सम्बन्धित निकायका पदाधिकारीबीच पनि छलफल भएको झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । 
 
निगमले गत भदौ ३१ गते आइओसीबाट प्राप्त पेट्रोलियम पदार्थको मूल्यअनुसार समग्रमा निगमलाई १५ दिनमा करिब ५१ करोड ५१ लाख  घाटा हुने देखिएपछि मूल्य समायोजन गरेको थियो । 

मूल्य समायोजनपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९२ पैसा तथा डिजेल २ रुपैयाँ ७२ पैसा घाटा हुने स्थिति पुगेको निगमका प्रवक्ता वीरेन्द्र गोयतले बताए । 
निगमका अनुसार, कच्चा तेलको मूल्य प्रतिब्यारेल एक अमेरिकी डलर मात्र बढ्दा महिनामा करिब १७ करोडको अतिरिक्त भार पर्ने तथा प्रतिअमेरिकी डलरमा १ मात्र डलरको सटही दर बढ्दा अर्को १५ करोड प्रतिमहिना भार पर्ने गरेको छ ।

१५–२० दिनअघि एक अमेरिकी डलरको सटही दर करिब ११३ रुपैयाँ भएकोमा हाल यो बढेर प्रतिडलर ११८ को हाराहारीमा पुग्दा निगमको घाटा बढ्ने निश्चित भएको निगमका प्रवक्ता गोयतले बताए । 

  • प्रकाशित मिति : असोज २३, २०७५ मंगलबार १५:४६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया