[टिप्पणी] तालिबानको पुनरोदयले अलकायदा उत्साहित होलान् ?

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाको हमलाले संसारलाई चकितमात्र पारिदिएन असुरक्षित महसुस पनि गरायो । चौतर्फी सुरक्षा व्यवस्था मजबुत रहेको ट्विनटावरमा हमला गर्नु अलकायदाको सानो साहस थिएन । 

अलकायदा अफगानिस्तानमा लुकेर बसेको र तिनलाई तालिबानले शरण दिइरहेको आशंकामा अमेरिकी नेतृत्वका सैनिक सोही समय अफगानिस्तान गए । र, तिनले तालिबानलाई सत्ताबाट च्युत गर्न मद्दत गरे । साथै, अफगान सेनालाई विभिन्न तालिम र प्रशिक्ष दिँदै तालिबानसँग लड्न सक्षम बनाउने प्रयत्न अमेरिकाले गर्‍याे ।

तर, दुई दशकसम्म अमेरिकाले गरेको प्रयत्न र अर्बौं डलर लगानी ‘बालुवामा पानी’ बन्न पुग्यो । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्तीको घोषणा गरेसँगै तालिबान त्यहाँ पुनः सक्रिय हुन थाले र अन्त्यमा तिनले शासनसत्ता कब्जा गरिछाडे । 

अफगानिस्तानमा तालिबानको पुनरोदयले एउटा आशंकालाई बलियो पारिदिएको छ- अब के अलकायदा पुनः सक्रिय हुने छन् ? शंका के गरिँदै छ भने, अफगानिस्तानमा अलकायदाले भित्रभित्रै संगठन मजबुत पारिरहेको छ । तालिबानलाई सत्ता कब्जामा तिनको पनि केही सहयोग रहेको छ । अब ठूलो प्रश्न के उठेको छ भने- अफगानिस्तानमा भइरहेको तीव्र परिवर्तनसँग अमेरिकाको बाइडेन प्रशासनले आतंककारी समूह अलकायदाको सामना गर्नु पर्ला ?

ट्रम्प प्रशासनका काउन्टर टेरोरिज्मका वरिष्ठ निर्देशक क्रिस कोस्टा भन्छन्, ‘अमेरिकी सेनाको छिटोछिटो फिर्ती र अफगानिस्तानमा तालिबानको उदयसँग मुलाई लाग्न थालेको छ कि, अलकायदाले अवसर पाएको छ । र, तिनले यो अवसरको फाइदा उठाउने छन् । अफगानिस्तानमा जे भइरहेको छ त्यो हरेक क्षेत्रमा रहेका जिहादीहरूका लागि उत्साहजनक घटना हुन पुगेको छ ।’

अफगानिस्तानमा २० वर्षको युद्धबाट अलकायदा निकै कमजोर भएको थियो । यही कारण पनि के भन्न सकिन्न भने, तिनीहरूसँग निकट भविष्यमा अमेरिकामा ९/११ को जस्तो विनाशकारी हमला गर्न सक्ने क्षमता छ कि छैन ! अमेरिकाले पछिल्ला दुई दशकमा निगरानीका साथै अन्य सुरक्षात्मक उपायहरुमा आफूलाई निकै मजबुत पारेको छ ।



तर, संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को १ जुनको रिपोर्टमा भनिएको छ- अलकायदा समूहको वरिष्ठ नेतृत्व सयौं सशस्त्र हतियारका साथ अफगानिस्तानमा लुकेर बसेका छन् । तालिबानले नै अमेरिकाको ९/११ को हमलाअघि अलकायदालाई शरण दिएर राखेको थियो । यिनको सम्बन्ध मित्रतापूर्ण, साझा संघर्ष, वैचारिक सहानुभूति र अन्तर्विवाहमा समेत जोडिएको छ । 

पेन्टागनका प्रवक्ता जोन किर्बीले शुक्रबार स्वीकार गरेका छन्-‘अफगानिस्तानमा अलकायदाको उपस्थिति छ । तर, त्यहाँ कति अलकायदा छन् भन्ने कुरो यकिन गर्न जासुसी संयन्त्रको क्षमताले पुग्दैन । तिनको संख्या निर्धारण गर्न कठिन छ । किनकि, तिनले कुनै परिचयपत्र बनाउँदैनन् र कतै दर्ता पनि गर्दैनन् ।’



विभिन्न रिपोर्ट, विज्ञहरुको आशंका र विगतमा तालिबान-अलकायदाबीचको सम्बन्धका कारण अफगानिस्तान अमेरिकाको पुनः टाउको दुखाइको विषय नबन्ला भन्न सकिन्न । यही कारण पनि बाइडेनले अफगानिस्तानबाट सेना फिर्तीको निर्णय गर्न हतार गरेको बताउने विश्लेषक थुप्रै छन् । 

(एजेन्सीहरूको सहयोगमा) 
 
 

  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार ९:२९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया