अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच भएको विवादको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले बनाएको छानविन समितिले आज प्रतिवेदन बुझाउने भएको छ ।
समितिकी सदस्य सुविर्ण श्रेष्ठले छानबिन प्रक्रिया सकिएको र आजै राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाउने योजना रहेको जानकारी दिइन्।
छानबिनका क्रममा १४ जनाको बयान लिइएको थियो । त्यसका साथै आवश्यक कागजातबाट पनि छानबिन प्रक्रिया पूरा गरिएको हो । घटनाको विवरण तथा त्यसमा कसको के कमजोरी रहेको भन्ने कुरा प्रतिवेदनमा खुलाइएको छ ।
गत साता कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधरसहित स्वयम् नेम्वाङ तथा अन्य पदाधिकारीको पनि बयान लिइएको थियो ।
प्रतिवेदन सार्वजनिक गर्नुअघि नै समितिले दुई पक्षबीच सहमति गराउने प्रयास पनि गरेको थियो । तर उक्त सहमतिको प्रयास असफल रहेपछि अन्य प्रक्रिया अघि बढाइएको हो ।
छलफलमा राखेप सदस्य सचिव रमेश सिलवाल, संयोजक समितिका अन्य तीन सदस्य, एन्फा अध्यक्ष महासचिव तुलाधर, अन्य दुई उपाध्यक्ष तथा टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय समेत सहभागी रहेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।