आधार इलाका गुमाउँदै एमाले नेता भीम रावल

एमाले उपाध्यक्ष भीम रावलले आफ्नो आधार इलाका गुमाउने भएका छन् । यसअघि सुदूरपश्चिम प्रदेशमा रावलको वर्चस्व थियो । उनी एमाले ओली पक्षमा लागेसँगै प्रदेशमा उनकै विश्वासपात्र मानिएकाले पनि साथ छाड्ने भएका छन् ।
 
एमाले पार्टीमा विवाद भएपछि अध्यक्ष केपी शर्मा ओलीको खरो विरोध गर्ने भीम रावल एमालेमा रहँदै ओली पक्षमा खुलेपछि उनले सुदूरपश्चिममा आफ्ना विश्वासपात्र गुमाउने देखिएको हो । 

एमालेभित्र देखिएको विवादले गर्दा सात महिनासम्म रावलको दबदबा रह्यो, प्रदेशमा । यतिसम्म कि एमालेभित्र विवाद भएदेखि रावलको अनुमतिविना प्रदेश सरकारमा कुनै पनि निर्णय हुन सकेन । रावलको अनुमतिमा नै गत जेठ १५ मा प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको थियो ।

बुधबार एमालेबाट छुट्टिएका माधव नेपाल पक्षधरले आफ्नो छुट्टै पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि सुदूरपश्चिममा को–कसको खेमातर्फ भन्ने बहस सुरु भएको छ । 

सुदूरपश्चिममा तत्कालीन समयमा पार्टी र प्रदेशसभामा नेपाल समूहको वर्चस्व रहेको थियो । रावल पनि नेपाल समूहमै थिए । जसले गर्दा यहाँ रावलको हावी थियो । तर, अहिले नेता नेपालले नयाँ पार्टी दर्ता गरेका छन्  । 

एमालेमा देखिएको यो पछिल्लो घटनाक्रमले सुदूरपश्चिममा रावलले आफ्नो आधार इलाका गुमाउने देखिएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेमा सभामुखसहित २५ जना सांसद छन् । त्यसमध्ये यसअघि माधव नेपाल समूहमा १७ जना खुलेका थिए भने ओली पक्षमा सातजना मात्रै थिए । पार्टी फुटेपछि अब यो संख्यामा केही फेरबदल हुनेछ ।
 
समाचार स्रोतका अनुसार यसअघि नेपाल पक्षमा रहेका दुईजना रावल अर्थात् ओली पक्षमा जाँदै छन् । उनीहरु ओलीभन्दा पनि रावललाई नेता मान्ने भएकै कारण सो समूहमा जान लागेका हुन् ।  



एमाले प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र हर्कबहादुर कुँवर खुल्ने प्रबल सम्भावना छ । 

यसो हुँदा ओली पक्षमा रहेका सातजनामा थप दुईजना खुलेपछि यो संख्या ९ पुग्नेछ । रावलका विश्वास पात्र रहेका भौतिक पूर्वाधारमन्त्रीसमेत रहेका दीर्घ सोडारीले भने नेपाललाई साथ दिँदै छन् । उनी यसअघि रावलका नजिकका विश्वास पात्र मानिएका थिए ।



प्रदेशसभामा प्रतिनिधित्व गर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, पूर्व उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट एकीकृत समाजवादीको केन्द्रीय कमिटीमै छन् । मन्त्री जोशीले भने प्रदेशसभामा यसअघि नेपाल समूहमा रहेका सबै नयाँ पार्टीमा आउने दाबी गरेकी थिइन् ।
 
प्रदेश सांसद तारा लामा तामाङले पनि यसअघि नेपाल समूहमा रहेका सबै एकै ठाउँमा रहेको बताइसकेका छन् । यद्यपि, उनले एकै ठाउँ भने पनि कहाँ खुल्ने भनेर स्पष्ट पारेनन् । पूर्वमन्त्रीसमेत रहेका सांसदले पनि नेता नेपाललाई छाड्न नसकिने संकेत गरेका छन् । 

यद्यपि, प्रदेशमा अहिले नै को कसको पक्षमा भन्न सकिने अवस्था पनि नरहेको नेताहरुले बताउने गरेका छन् । भोलिसम्म सबैको आ–आफ्नो कित्ता क्लियर हुने एक नेताले बताएका छन् ।

  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १७:०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया