कक्षा १२ का परीक्षार्थीले पाउन थाले खोप, १८ वर्षमुनिका लागि पनि खोप ल्याइँदै

संसदीय समितिले कक्षा १२ को परीक्षार्थीलाई तुरुन्त खोपको व्यवस्था गर्न  सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । 

कक्षा १२ को परीक्षार्थीका लागि कोभिड १९ विरुद्धको खोपको तुरुन्त व्यवस्थापन गरी परीक्षाको लागि वातावरण बनाउन समिति सभापति जयपुरी घर्तीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएकी हुन् । 

‘शिक्षा मन्त्रालयलाई तुरुन्तै व्यवस्था गरेर अगाडि बढ्न हामीले भनिसक्यौँ,’ उनले भनिन्, ‘स्वास्थ्य मन्त्रालयले गर्ने कामचाहिँ खोपको व्यवस्थापन कति दिनभित्र गर्न सक्नुहुन्छ त्यो व्यवस्था गरेर तुरुन्तै परीक्षाको लागि वातावरण बनाइदिनुपर्यो । खोप स्वास्थ्य कार्यालयले छिटो गरोस् भन्ने म निर्देशन दिन चाहन्छु ।’

बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जापान सरकारले दिएको खोप स्टक रहेको भन्दै सोही खोप कक्षा १२ का परीक्षार्थीलाई उपलब्ध गराउन सुुरु गरिसकेको बताए । देशभरका गाउँ तथा सहरका कक्षा १२ का परीक्षार्थीले खोप लगाउन पाउने उनको भनाइ छ । 

‘जापान सरकारले १६ लाख दिएको जुन खोप हो त्यो आइसक्यो । जेष्ठ नागरिकलाई दिइसकेपछि ५–७ लाख स्टक छ । राज्यमन्त्री श्रेष्ठले भने, ‘त्यो स्टक भएको चाहिँ कमसेकम १२ कक्षाका विद्यार्थीलाई देशभर उपलब्ध गराउने भनेर अहिले सुुरु भएको छ ।’

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारले १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि पनि खोप खरिदको प्रक्रिया अगाडि बढाएको बताए । उनले भने, ‘मोर्डना खोपको पैसा तिरिसकिएको छ, ९ वर्षदेखि १८ वर्षकाले लगाउने । साना बच्चाले लगाउने फाइजर ६० लाख ल्याएर, १ करोड फाइजर खोप ल्याउने तयारी भइरहेको छ । १८ वर्ष मुनिकालाई मोर्डना र फाइजर खोप लगाउने जानकारी गराउँछु ।’





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार १८:२२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया