अष्टलक्ष्मीको कष्ट : एमाले रोज्ने कि मुख्यमन्त्री ?

नेपाली समाजमा एउटा उखान प्रचलित छ, ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छाबाउको अनुहार’ । अहिले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अवस्था यस्तै बनेको छ । लामो समयसम्म एमाले नेता माधव नेपालको पक्षमा उभिँदै आएकी नेतृ शाक्यले पार्टी एकता जोगाउने भन्दै मुख्यमन्त्री पद सम्हालेको एक हप्तामा नै उनको पद धरापमा परेको छ । 

एमालेतर्फ खुलेपछि अष्टलक्ष्मी शाक्यलाई पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले नै प्रस्ताव गरेर संसदीय दलको नेता चयन गरेर बागमती प्रदेशको मुख्यमन्त्री बनाए । संविधानको धारा १६८ (१) अनुसार तत्कालीन प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । एमाले बागमती प्रदेश संसदीय दलले अविश्वासको प्रस्ताव नआउने गरी मुख्यमन्त्री नियुक्त गरेर चतुर्याईं गरे पनि प्रदेशमा एमाले फुटेको अवस्थामा शाक्यको पद धरापमा पर्ने देखिन्छ । 

संविधानको धारा १६८ को उपधारा १ अनुसार प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेताको रूपमा नियुक्त भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन आवश्यक हुँदैन । शाक्यलाई समर्थन गरेकामध्ये एमालेका केही प्रदेशसभा सदस्यहरु नेकपा एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)तर्फ गएपछि प्रदेशमा समेत पार्टी फुटको अवस्थामा पुगेको छ । कानुनी व्यवस्थाअनुसार पार्टी फुट्नासाथ मुख्यमन्त्री शाक्यले ३० दिनभित्रमा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ । 

बागमती प्रदेशका १०९ प्रदेश सभा सदस्यमध्ये एमालेबाट ५६ जना निर्वाचित भएका थिए । जहाँ बहुमतका लागि ५५ जना सांसद् चाहिन्छ । अहिलेसम्म प्रदेशमा एमालेको स्पष्ट बहुमत रहेको छ । तर, नेकपा (एकीकृत समाजवादी)तर्फ खुलेका प्रदेश सभा सदस्यले दल विभाजन भएको जानकारी प्रदेशसभा सचिवालयमा दिएको ३० दिनभित्र मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनैपर्छ ।   

संविधानको  धारा १६८ (४) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त हुनेले वा प्रदेश सभामा ठूलो दलको संसदीय दलको नेताको रूपमा नियुक्त हुने मुख्यमन्त्रीले भने नियुक्त भएको ३० दिनभित्रमा सम्बन्धित प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । 

पद राेज्ने कि पार्टी ?



मुख्यमन्त्री शाक्य एमालेमै रहे पद जाने पक्का भइसकेको छ । माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी)मा गए मुख्यमन्त्री जोगिने देखिएको छ । माधव नेपालको नेकपा (एकीकृत समाजवादी)लाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपासहितका दलहरुको साथ भएकाले  शाक्य समाजवादीमा गए गठबन्धनले साथ दिने देखिएको छ । 

आफू पार्टी एकता जोगाउन मुख्यमन्त्री बनेको भन्दै सञ्चारकर्मीसँग बोलेकी शाक्य समाजवादीमा गए एमालेको तेस्रो धारको एकता प्रक्रिया ध्वस्त हुने देखिन्छ । शाक्यले नेपालको दललाई नरोजेर एमालेमै रहे उनी सरकारको नेतृत्वबाट बाहिरिने निश्चित छ । उनी समाजवादीमा गएमा एमालेमा फेरि विद्रोह हुने देखिन्छ ।  



अहिले बागमती प्रदेशका प्रदेशसभा सदस्य मात्रै नभई स्थानीय तहका पदाधिकारीसमेत मुख्यमन्त्री शाक्यको कदम कुरेर बसिरहेका छन् । १० बुँदे सहमति कार्यान्वयनको लागि मंगलबार काठमाडौंमा आयोजित एमालेको बैठकमा सहभागी भइसकेकी शाक्यलाई एमाले छाड्न नैतिक संकट देखिएको छ । तर, लामो समयसम्म सँगै मोर्चामा रहेका नेतासँग नजाँदा पदसमेत जाने अवस्थामा अष्टलक्ष्मी शाक्यको आगामी कदमलाई सजिलै आकलन गर्न सकिँदैन । 

आफ्नैले छाडे साथ 

मुख्यमन्त्री शाक्यले पहिलोपटकी मन्त्रिपरिषद विस्तार गर्दा  सामाजिक विकासमन्त्री बनेका कृष्णप्रसाद शर्मा खनाल नेकपा (एकीकृत समाजवादी)तर्फ लागिसकेका छन् । माधव नेपालले एमाले विभाजन गरेर बनाएको समाजवादी दर्तामा उनको ५२औँ नम्बरमा छ । नेपालको पक्षमा एमालेका ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । तत्कालीन एमालेका वरिष्ठ नेता माधव नेपाल निकट रहेका खनाल मन्त्रीमा शपथ लिएको एक सातापछि समाजवादीतर्फ खुलेका हुन् । 

नेकपा(एकीकृत समाजवादी)मा बागमती प्रदेश सभाका ५ सदस्य केन्द्रीय सदस्यको नाममा छ । बागमती प्रदेशसभाका सांसद राजेन्द्र पाण्डे, कृष्णप्रसाद खनाल, मुनु सिग्देल, रमा आले र वसन्त मानन्धर एमालेबाट फुटेर बनेको नयाँ पार्टीको केन्द्रीय सदस्यमा समेटिएका छन् ।  जसमध्ये नेता पाण्डे, खनाल, सिग्देल खुलेरै समाजवादीमा लागिसकेका छन् भने आले र मानन्धर मौन छन् ।  

यस्तै, केही समयअघि नेकपा विभाजन हुँदा ओली समूह छाडेका प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईं र काभ्रेका प्रदेशसभा सदस्य लक्ष्मण लम्साल पनि समाजवादीमा खुलेको एक सांसदले जानकारी दिएका छन् । बागमती प्रदेशमा सिंगो एमालेका ५६ प्रदेशसभा सदस्य छन् । जसमा ओली पक्षका ३५ थिए भने र नेपाल पक्षका २१ जना थिए । माधव नेपाल पक्षका २१ सांसदमध्ये समाजवादीमा कम्तीमा १२ जना प्रदेश सभा सदस्य जाने देखिएको छ ।   

प्रदेशमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशीलका ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।
 

  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार १९:२४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया