कैलालीमा बाढीले बगाउँदा एक जनाकाे मृत्यु भएको छ भने बाढीले बगाएका दुई जनाकाे सकुशल उद्दार गरिएकाे छ ।
जिल्लाकाे लम्कीचुहा नगरपालिका-६ चरेलास्थित गुलरा नदीले बगाउँदा सोही ठाउँ बस्ने ९५ वर्षीया फुपिया थारुको मृत्यु भएको हाे ।
बिहीबार साँझ लुगा धुने क्रममा थारुलाई अचानक खोलामा आएको बाढीले बगाएकाे थियाे । उनकाे शव करिब ७ किलाेमिटर टाढा भेटिएकाे प्रहरीले जनाएकाे छ ।
जिल्लाको शिवगंगा नदी र झिलखोलाबीच भागमा फसेका २ जनाको उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । गौरीगंगा नगरपालिका-३ कुचैनी बस्ने राजाराम सापकोटा र उनकी बहिनी आरती सापकोटाको उद्दार गरिएको हो ।
घाँस काट्न जाँदा बाढीमा फसेका उनीहरूलाई मध्यराति नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको प्रहरीले जनाएको छ ।
यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका-३, बल्चौरमा घरमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन् । घाइते हुनेमा घरभित्र बसिरहेका ७५ वर्षीय गोपाल चौधरी र उनकी ७२ वर्षीया श्रीमती गौरी चौधरी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
अविरल वर्षाका कारण बिहीबार ८ बजेतिर चौधरीको घरमाथि पहिरो खसेको थियो । पहिरोले घरमा क्षति पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।