मुख्यमन्त्री फेरबदलमा प्रदेश प्रमुखको बल मिच्याँइ : विपक्षी गठबन्धन

प्रदेश- १ मा मुख्यमन्त्री हेरफेरलाई विपक्षी गठबन्धनले कानुन विपरीत कार्य भएको भन्दै विरोध गरेका छन् ।

प्रदेश एक सांसदमा प्रतिनिधित्व गर्ने दलहरूले शेरधनलाई राजीनामा गराएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउनु संविधान विपरीत काम भएको बताएका छन् ।

उनीहरूले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधान मिचेको दावी गरेका छन्।

नेकपा एमाले विभाजित भइसकेको बेला प्रदेश- १ को मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर तत्कालै मुख्यमन्त्रीमा भीम आचार्य नियुक्ति गर्नु संविधान विपरित भएको विपक्षी गठबन्धनले जनाएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले दल छान्ने समय हुँदाहुँदै दल विभाजन भएको बेला बहुमत देखाउन नमिल्ने बताए । उनले भने, ‘अहिले को कता भनेर किटानी नभएको बेला बहुमत पुग्यो भनेर नयाँ मुख्यमन्त्री नियुक्त गरिनु संविधान विपरीत काम हो ।’

उनले प्रदेश प्रमुखले बलमिच्याइँ गरेको समेत आरोप लगाए ।



नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संविधानको धारा १६८ काे उपधारा १ अनुसार भीम आचार्यको नेतृत्वमा सरकार गठन हुनै नसक्ने बताए । ‘दल विभाजन भएको छ । दलसम्बन्धी ऐनमा २१ दिनभित्रमा नयाँ दल रोज्न पाउने व्यवस्था छ’, उनले भने, ‘यो अवस्थामा हतारहतार गरेर नाटकीय ढंगले मुख्यमन्त्री गराउन खोज्ने काम असंवैधानिक छ । हामी यस कदमको विरुद्धमा सशक्त प्रतिवाद गर्छाैं ।’

नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र राईले आफूहरूको पक्षमा १० भन्दा बढी सांसद रहेको भन्दै भीम आचार्य एमालेको बहुमतप्राप्त दलको नेताको रूपमा सपथ लिनु असंवैधानिक भएको बताए । आचार्यले फोटो टाँस्नकै लागि हतारमा मुख्यमन्त्री बनेको उनको भनाइ छ ।



प्रदेश १ को विपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश प्रमुखले किर्ते गरेको आरोप लगाए ।

संविधानभन्दा बाहिर गएर प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले पार्टी कार्यकर्ताको रूपमा काम गरेको उनको भनाइ छ ।

  • प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार १२:४७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया