बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पद जोगाउन बारम्बार संसदलाई बन्धक बनाएको भन्दै चर्को आलोचना हुने गरेको थियो । त्यसबेला डोरमणि पौडेलको चर्को आलोचना गर्नेमा एमाले उपाध्यक्ष समेत रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य पनि पर्थिन् ।
तर अहिले उनले पनि मुख्यमन्त्री पद जोगाउनकै लागि प्रदेशसभाको अधिवेशन अन्त्य गरेकी छन् ।
बागमती प्रदेशसभाको आठौँ अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन्।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले चालु प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक शुक्रबार नै अन्त्य गरेका प्रदेश प्रमुखको सचिवालयले जनाएको छ। प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन गत जेठ १६ गतेदेखि सुरु भएको थियो । तर मुख्यमन्त्री शाक्यको अध्यक्षतामा बसेको दोस्रो मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यको निर्णय लिएको हो।
मुख्यमन्त्री शाक्यको पद धरापमा भएकै कारण संसद अधिवेशन अन्त्य गरिएको नेकपा (एकीकृत समाजवादी)का एक सांसदले प्रतिक्रिया दिए ।
नेकपा एमाले औपचारिक रुपमा केन्द्रमा विभाजन भइसकेको छ । अब प्रदेशसभामा सो जानकारी आएपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्ने, संसद चल्दा अविश्वासको प्रस्ताव आउने डरले शाक्यले बैठक स्थगित गरेकी हुन् ।
मुख्यमन्त्रीको शपथ ग्रहण गरेको भोलिपल्ट संघीय राजधानी काठमाडौं पुगेकी शाक्य हेटौंडा आउने बित्तिकै मन्त्रिपरिषद्को बैठक बसेर यस्तो निर्णय गरेकी हुन् । तत्कालीन एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षमा रहेकी शाक्य क्याम्प फेरेर एमालेबाट मुख्यमन्त्री बनेकी थिईन्। मुख्यमन्त्री बन्ने बित्तिकै एमाले विभाजन भएकाले उनी प्रदेशसभामा अल्पमतमा पर्ने निश्चित छ ।
सत्ताको लागि नै प्रदेशसभाको वैठक स्थगित गरिरहँदा बागमती प्रदेशसभा सदस्यहरुले नै विरोध गरेका छन् । विवेकशील साझाका प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठले संसदमा कानुन निर्माण, वर्तमान अवस्थामा प्रदेश भित्रमा देखिएका समस्याको विषयमा छलफल हुनुपर्नेमा सत्ता जोगाउनेतर्फ लाग्नु गलत भएको बताए ।
यस्तै कांग्रेस संसदीय दलका सचिव निमा लामाले पनि संसदलाई बन्धक बनाउनु गलत भएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।