नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफू एक कार्यकालभन्दा बढी अध्यक्ष पदमा नबस्ने घोषणा गरेका छन्।
ललितपुरमा शनिबार आयोजित पेसागत महासंघको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘जसरी पनि सत्तामा, कुर्सीमा टिकिरहने गरी बसिनेछैन, एक कार्यकालभन्दा बढी म पार्टीको अध्यक्ष पदमा बस्नेवाला छैन।’
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अध्यक्ष नेपालले भने, ‘यो अरुको जस्तो नक्कली घोषणा होइन।’
नयाँ पुस्ताका व्यक्ति योग्य र सक्षम बन्दै आएको र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै नेपालले भने, ‘अन्य पार्टीमा जस्तो वर्षौंवर्ष एउटै व्यक्तिले नेतृत्वमा बस्नुपर्ने अवस्था नयाँ पार्टीमा अन्त्य हुन्छ ।’
आफ्नो पार्टी पुरानो भइसकेको एमालेभन्दा भिन्न हुने र त्यसका गल्ती कमजोरीबाट मुक्त हुने नेपालले दाबी गरे । उनले एमालेमा भएका कमीकमजोरी एकीकृत समाजवादीमा नदोहोरिने बताए।
पार्टीमा सामूहिक नेतृत्व प्रणालीलाई अवलम्बन गरिने र त्यसमा पनि युवालाई प्राथमिकतामा राखिने उनले बताए।
एमाले बस्ने कि एकीकृत समाजवादीमा लाग्ने भन्ने दोधारमा रहेका नेता–कार्यकर्तालाई आग्रह गर्दै उनले भने, ‘दुई नाउमा खुट्टा नराख्नुस्, मध्यमार्गी कोही नबन्नुस्। एउटा नाउमा खुट्टा राख्नुस्, सागर पार गरिन्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।