यसै महिना तालिबानले पूरै अफगानिस्तानमा आफ्नो कब्जा जमायो । अबको केही दिनमै अमेरिकी नेतृत्वको सेना अफगाानिस्तानमा फर्किने छ । यसरी पछिल्लो दुई दशकसम्म चलेको दुवै पक्षबीचको संघर्ष सायद थामिने छ ।
तालिबानसँग लड्न अमेरिकी गठबन्धनका सैनिकलाई सधै कठिन भयो । उनीहरुसँग संसारकै धनी देशका सेना थिए, न पैसाको अभाव थियो न त आधुनिक हतियारको कमी । गठबन्धन सेनाका अघिल्तिर तालिबान खासै केही पनि थिएनन् ।
एक अनुमान अनुसार, २०११ मा तालिबानसँग ३० हजार लडाकु थिए । २०२१ को मध्यतिर आइपुग्दा त्यो संख्या बढेर ७० हजारदेखि एक लाखसम्म पुगेको छ । यति धेरै सेना र चरमपन्थी अभियान सञ्चालनमा लागि ठूलै आर्थिक मद्दत आवश्यक पर्छ । यहीँनिर प्रश्न उठ्छ- तालिबानलाई संगठन चलाउन पैसा कहाँबाट आउँछ ? देशभित्रबाट कि बाहिरबाट ?
कति धनी छ तालिबान ?
तालिबानले अफगानिस्तानमा १९९६ देखि २००१ सम्म शासन गरे । तर, तिनको आम्दानीबारे कुनै विश्वस्त जानकारी मानिसहरुले पाएका छैनन् । यिनले पैसा कहाँबाट ल्याउँछन् भन्ने कुरो पत्ता लगाउन सहज पनि छैन ।
बिबिसीले अफगानिस्तानभित्रै र बाहिरका केही व्यक्तिहरुसँग कुराकानी गरेर यसबारे पर्याप्त सूचना जुटाएको छ । यसबाट पत्ता के लाग्छ भने, तालिबानको आर्थिक ढाँचा निकै जटिल छ ।
२०११ मा तालिबानको वार्षिक आय करिब २९०० करोड (भारु) थियो । २०१८ को अन्त्यसम्ममा यो आँकडा बढेर ११ हजार करोड पुगेको बिबिसीले पत्ता लगाएको छ । अबका केही दिनमा उसले अफगानिस्तानमा सरकार सञ्चालन गर्ने छ । यो अवस्थामा तालिबानले आफ्नो आयमा निकै वृद्धि गर्ने अनुमान गर्न थालिएको छ ।
तालिबानको आम्दानीको चार प्रमुख स्रोत
आमधारणा के छ भने, तालिबानको मुख्य कमाइ अफिम र त्यसबाट बन्ने नशालु पदार्थ हेरोइन हो । तर, जानकारहरु यसैलाई पूर्ण सत्य मान्दैनन् । उनीहरुका अनुसार, अफिमका साथै तालिबानले कब्जा जमाएका विभिन्न क्षेत्रमा लगाइने गरिएको करबाट पनि आम्दानी हुने गर्छ । साथै, विदेशबाट पठाइने चन्दा र खनिज पदार्थको कारोबारबाट समेत तालिबानले पैसा जम्मा गर्छ । उसको प्रमुख आय स्रोत चारवटा छन् :
१. विदेशबाट पठाइने चन्दा
पूर्व अफगान सरकार र अमेरिकी अधिकारीहरुले लामो समय के आरोप लगाइरहे भने, पाकिस्तान, इरान, रुस, साउद अरब, संयुक्त अरब इमिरेट्स, कतारलगायत खाडीका कयौं मुलुकले तालिबानलाई आर्थिक मद्दत गरिरहेका छन् । यी मुलुकहरुसँग तालिबानको सम्बन्ध लामो समयदेखि कायम छ । तर, यी देशहरु आफूले तालिबानलाई मद्दत नगरेको बताउँछन् ।
के पनि मानिन्छ भने, पाकिस्तानसहित साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतारजस्ता खाडी मुलुकका नागरिक निजी रुपमा समेत तालिबानलाई मद्दत गर्ने गर्छन् । तालिबानलाई विदेशबाट कति पैसा सहयोग हुन्छ भनेर यकिन तथ्यांक बताउन सकिँदैन । तर, जानकारहरु के भन्छन् भने- तालिबानलाई प्रत्येक वर्ष विदेशबाट ५० करोड डलर आर्थिक मद्दत भइरहेको छ ।
यसअघि अमेरिकी जासुसी रिपोर्टमा गरिएको अनुमान अनुसार, २००८ मा विशेषगरी खाडी मुलुकबाट तालिबानलाई १०.६ करोड डलर प्राप्त भएको थियो ।
२. नशालु पदार्थको कारोबार
तालिबानले लामो समयदेखि नशालु पदार्थ अफिम, हेरोइनजस्ता वस्तुको कारोबार गर्दै आइरहेको कतिपयको भनाइ छ । अफगानिस्तान संसारकै सबैभन्दा ठूलो अफिम र हेरोइन उत्पादक देश हो । हेरोइन अफिमबाट तयार पारिन्छ । एक अनुमान अनुसार, अफगानिस्तानले प्रत्येक वर्ष १.५ देखि तीन अर्ब डलर बराबरको अफिम अन्य देशमा बिक्री गर्छ ।
अफगान अधिकारीहरुका अनुसार, तालिबानले किसानहरुलाई अफिम खेती गर्न लगाउँछन् र त्यसबाट १० प्रतिशत कर असुल्छन् । साथै, हेरोइन बनाउने प्रयोगशालाबाट पनि कर असुल्छन् । यी कार्यबाट तालिबानले वार्षिक १० देखि ४० करोड डलर कमाउने अनुमान गरिन्छ ।
२०१८ मा अमेरिकी कमान्डर जनरल जोन निकोल्सनले एक रिपोर्टमा भनेका थिए- तालिबानले आफ्नो आयको ६० प्रतिशत रकम अवैध ड्रगबाट कमाउँछन् । तर, यो अनुमानलाई कतिपय जानकारहरुले मानेका छैनन् ।
३. इलाका कब्जा
तालिबानको आय केवल अफिमको बिक्री होइन । यसको प्रमाण २०१८ मा अफगान कारोबारीका नाममा लेखिएको एक खुल्लापत्र हो, जसमा उसले तेल, निर्माण सामग्रीसहित कतिपय उत्पादनमा कर तिर्न आदेश दिएको थियो । तालिबानको जहाँजहाँ प्रभाव क्षेत्र छ, त्यहाँ उसले विभिन्न प्रकारका कर असुल्ने गर्छ । पछिल्ला दुई दशकमा पश्चिमी देशबाट तालिबानले नचाहँदा पनि उनीहरुको खल्तीमा पैसा गएको छ ।
पछिल्ला दुई दशकमा संसारका विभिन्न देशको मद्दतबाट अफगानिस्तानमा सडक, विद्यालय, अस्पताल आदि बन्यो । तर, तालिबान यस्ता सबै परियोजनामा प्रयोग हुने सवारीसाधनको आवतजावतमा कर लगायो । यो अवधिमा पश्चिमा देशहरुको सामान सप्लाई गर्ने कार्यमा प्रयोग हुने ट्रकबाट मात्रै तालिबानले वार्षिक करोडौं डलर कर उठाए ।
अफगानिस्तानको विद्युत् कम्पनीका अध्यक्षले २०१८ मा बिबिसीलाई बताएका थिए- बिजुली प्रयोग गर्ने व्यक्तिबाट समेत तालिबानले कर असुल्छन् । यसबाट मात्रै वार्षिक २० लाख डलर कमाएको उनले बताए ।
४. खनिज पदार्थ
खनिज तथा बहुमूल्य पत्थरमा अफगानिस्तान निकै धनी छ । त्यो देशमा दशकौंदेखि चलेको संघर्षका कारण ती खनिजको उपयुक्त दोहन हुन सकेको छैन । अहिले अफगानिस्तानको खनिज उद्योग एक अर्ब डलर बराबरको रहेको त्यहाँका अधिकारीहरु बताउँछन् ।
त्यहाँको अधिकांश उत्खनन् साना स्तरको छ र अवैध ढंगमा भइरहेको छ । तालिबानले यसमा आफ्नो नियन्त्रण राख्दै वैध–अवैध उत्खननबाट निकै रकम कमाएको छ । २०१४ मा प्रकाशित संयुक्त राष्ट्रको एक रिपोर्टमा तालिबानले हेमन्द प्रान्तमा २५ देखि ३० अवैध उत्खनन् परियोजनाबाट वार्षिक एक करोड रुपैयाँ कमाएको उल्लेख छ।
(बिबिसी)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।