वैदेशिक अध्ययनको बहानामा विद्यार्थी ठगिने क्रम बढ्दै

काठमाडौं– पछिल्लो समय अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बढ्दै गएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीको सहजताका लागि भन्दै खोलिएका कतिपय परामर्शदाता संस्थाले नै विद्यार्थीलाई ठगी गर्दै आएका छन् । 

विदेश अध्ययन गर्न पठाइदिने भनेर विद्यार्थीसँग लाखौँ रकम असुल्ने, तर पैसा लिइसकेपछि यो वा त्यो बहानामा विद्यार्थीलाई अल्मल्याउने गरेको पाइएको छ । तर, यसरी अवैध रूपमा सञ्चालित कन्सल्टेन्सीहरूको शिक्षा मन्त्रालयलले पर्याप्त अनुगमन र नियमन नगरेका कारण शैक्षिक परामर्शदाता संस्थाको एकपक्षीय मनोमानी हावी हुँदै आएको छ । जसकारण विद्यार्थीहरू भने ठूलो मर्कामा परेका छन् ।  

कन्सल्टेन्सीले विद्यार्थी पठाएबापत सम्बन्धित कलेजबाट कमिसन खाने गरेका छन् । सम्बन्धित कलेजबाट मात्र होइन, उनीहरूले विद्यार्थीहरूसँग पनि मोटो रकम लिइरहेका छन् । 

मनोमानीतन्त्र यतिसम्म हावी छ कि वैदेशिक अध्ययनमा पठाइदिने भनेर खोलिएका कतिपय कन्सल्टेन्सी त ठगी गरेर फरार नै भएका घटना दिन–प्रतिदिन बढ्दै गएको छ । विदेश पठाए पनि राम्रो कलेजमा नपठाउने र विद्यार्थीबाट लिएको शुल्क पनि कलेजमा भुक्तानी नगरेका उदाहरण प्रशस्त भेटिन्छन् । यसरी नेपालमा ठगी गरेर  कन्सल्टेन्सी सञ्चालक मोटाइरहँदा विदेश अध्ययन गर्ने गएका विद्यार्थीहरूले भने विभिन्न सास्ती भोग्दै आएका छन् ।
 
शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखामा कन्सल्टेन्सी सञ्चालकहरू लाखौँ ठगी गरेर फरार भएको भनदै उजुरी परिरहेका छन् । आफूहरू मारमा परेको भन्दै विद्यार्थीहरूले केहीअघि हालेका प्रतिनिधिमूलक उजुरीहरूको विवरण यहाँ प्रस्तुत गरिएको छ । 


उजुरी नम्बर १ 

बानेश्वरमा रहेको कोरल एजुकेसन इन्फो प्रालिका सञ्चालक सिके कृष्णले युकेमा राम्रो काम मिलाइदिन्छु भनेर १४ जना विद्यार्थीसँग ४० लाखभन्दा बढी रकम लिएर फरार भएको भन्दै विद्यार्थीले उजुरी गरेका छन् । साजन मनुसहित १३ जना विद्यार्थीसँग रकम लिएर हालसम्म पनि उनी बेखबर भएका कारण सञ्चालक सिके कृष्णलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै विद्यार्थीले शिक्षा मन्त्रालयमा निवेदन पेस गरेका छन् । 



सञ्चालक सिके कृष्णले क्यानडा पढ्न पठाइदिने भन्दै विदुर घतानीसँग लाखौँ रकम लिएर फरार भएको उजुरी परेको छ । क्यानडामा पढ्न पठाइदिने बहाना बनाएर घतानीसँग ६ लाख रुपैयाँ रकम लिएर सिके सम्पर्कविहीन भएको उजुरी परेको छ ।
       
सञ्चालक सिकेसँग सम्पर्क गर्न खोज्दा उनले फोन नउठाउने गरेको र अफिस पनि बन्द अवस्थामा रहेको निवेदक विदुर घतानीको गुनासो छ ।

उजुरी नम्बर २



कमलादीमा रहेको ग्लोबल भिसा सोलुसन प्रालिका सञ्चालक नारायणप्रसाद भुसाल पनि लाखौँ रकम लिएर सम्पर्कविहीन भएका छन् । गोरखा घर भएकी सरिता गुरुङलाई भारतको बेथल मेडिकल इन्डो–नेपाल एकेडेमीमा बिएससी मेडिकल टेक्नोलोजी पढ्न पठाइदिन्छु भन्दै उनले ३ लाख लिएको पीडितको दाबी छ । 
जब गुरुङ भारतको बेथल मेडिकलमा पढ्नका लागि पुगिन् अनि मात्रै उनले आफू ठगीमा परेको जानकारी पाइन् । सञ्चालक भुसालले कलेज फी नपठाएका कारण कलेजले पटक–पटक ताकेता गरी मानसिक तनाव दिएको गुरुङको गुनासो छ । 

नेपाल आएर कन्सल्टेन्सीबारे बुझ्दा सो अफिस ४ महिनादेखि बन्द अवस्था रहेको उनले उल्लेख गरेकी छिन् । सञ्चालक भुसाल आफ्नो सम्पर्कमा नरहेका कारण उनको खोजी गरी उनलाई कारबाही गर्न माग गर्दै गुरुङले शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखामा निवेदन दिएकी छिन् ।  


उजुरी नम्बर ३             

नेपालगन्जमा रहेको बागेश्वरी जापानी भाषा स्कुल सञ्चालक गजेन्द्रबहादुर शाहीले जापान पठाइदिन्छु भन्दै लक्ष्मण रावलसँग ३ लाख रकम लिएर सम्पर्कविहीन अवस्था रहेको भन्दै मन्त्रालयमा उजुरी परेको छ । 

जापान पठाउने बहानामा शाहीले आफूसँग विभिन्न शीर्षकमा पैसा लिएको रावलको आरोप छ । आफूलाई कहिले नेपालगन्ज र कहिले काठमाडौं ल्याएको, तर अन्तिममा जापान नपठाएर सञ्चालक शाही सम्पर्कविहीन भएको उनको गुनासो छ ।  

यी उजुरीहरू प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता ठगीमा परेका विद्यार्थीहरूको यकिन तथ्यांक स्वयं मन्त्रलयसँग पनि छैन । यसरी अवैध रूपमा सञ्चालन भएका कन्सल्टेन्सीको संख्या कति छ भन्ने पनि मन्त्रालयलाई जानकारी छैन । 

सयौँ ठगीका उजुरी 

महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा परेको उजुरीलाई हेर्दा वार्षिक रूपमा सयौँ ठगीका घटना आएका छन् । आर्थिक वर्ष २०७२/०७३ मा यस्ता २१४ वटा केसको उजुरी परेका थिए भने २०७३/०७४ मा १३९ वटा उजुरी परेका थिए भने २०७४/०७५ मा २१७ वटा उजुरी परेको अपराध महाशाखा टेकुले जानकारी दिएको छ । 

‘धेरै कन्सल्टेन्सी सरकारसँग स्वीकृति नलिइकन मनोमानी रूपमा चलेका छन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका टेकुका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले फरकधारसँग भने, ‘विद्यार्थीले गरेको उजुरीका आधारमा हेर्दा कन्सल्टेन्सीका सञ्चालकले विभिन्न बहानामा वैदेशिक अध्ययनको लागि पठाएदिन्छु र राम्रो काम मिलाइदिन्छु भनेर ठगी गर्दै आएका छन् ।’ 

विद्यार्थीको रकम ठगी गरेर फरार भएका कन्सल्टेन्सीका सञ्चालकले आफ्नो पहिचाहन खुल्ने गरी कुनै प्रमाण गर्ने नराख्ने हुँदा उनीहरूलाई कारबाही गर्न गाह्रो भएको उप्रेतीको भनाइ छ । 

कन्सल्टेन्सीहरूले भ्रामक प्रचार–प्रचार तथा विज्ञापन गर्ने, दर्ता नगरिकन अवैध रूपमा संस्था चलाउने, विद्यार्थीका कागज पत्र आफ्नो हातमा लिने गरेका कारण विद्यार्थाीहरू ठगीमा पर्ने क्रम बढ्दै गएको छ । 

दर्ता नगरी सञ्चालन गरिएका कन्सल्टेन्सीका सम्बन्धमा मन्त्रालयबाट कुनै अध्ययन तथा अनुगमन नगरिएका कारण पनि थप समस्या सिर्जना भएको प्रवक्ता उप्रतीको भनाइ छ । 

शैक्षिक परामर्शका नाममा केही कन्सल्टेन्सीले राहदानी किनबेच गरेको, विदेश जाने विद्यार्थीबाट धेरै रकम लिएको, विद्यार्थी विदेश गए पनि भनेअनुसार काम र कलेज नपाएको लगायत गुनासा धेरै आउने गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । 

के भन्छ मन्त्रालय ? 

सरकारले अवैध रूपमा सञ्चालन गरेका कन्सल्टेन्सीलाई किन सरकारले कारबाही र अनुसन्धान गरेको छैन ? भनेर हामीले प्रश्न गर्दा शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्याल विदेश अध्ययन गर्ने विद्यार्थीको चापसँगै यसको नकारात्मक प्रभाव पर्दै गएको बताउँछन् । उनी भनछन्, ‘शिक्षा मन्त्रालयले ठगी गरेका कन्सल्टेन्सीलाई कारबाही गर्ने तथा अनुगमन गर्ने कार्यविधि निर्देशिका तयार भएको छ । त्यसै, अनुसार कारबाहीको प्रक्रिया सुरु हुन्छ ।’

अनुगमन गर्दा दर्ता नगरी चलाइएको पाइएमा र विद्यार्थीलाई ठगी गरेको ठहर भएमा त्यस्ता कन्सल्टेन्सीलाई कानुनको दायरामा ल्याई संस्था नै बन्द गरिने उनको भनाइ छ । प्रवक्ता अर्याल भन्छन्, ‘ठगी गर्ने २ कन्सल्टेन्सीलाई मन्त्रालयले भर्खरै बन्द गरेको छ ।’

यस सम्बन्धमा कन्सल्टेन्सीलाई अनुगमन गर्ने नियामक निकाय कुन हो भन्ने नै कुनै टुङगो नभएको उल्लेख गर्दै शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला भन्छन्, ‘कन्सल्टेन्सी सञ्चालक र राजनीतिक नेता तथा उच्च तहका कर्मचारीबीच दोहोरो सम्बन्ध  छ ।’ यसरी ठग्ने प्रवृत्तिलाई स्वीकार गर्ने काम कर्मचारीतन्त्रले गर्दै आएको उनको आरोप छ ।

यदि साँच्चै कन्सल्टेन्सीलाई सुधार गर्ने हो भने स्थानीय सरकारलाई यसको निगरानीको जिम्मा दिनुपर्ने शिक्षाविद् कोइरालाको तर्क छ । 

निर्देशिकामा के छ  ? 

शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा तथा पूर्वतयारी कक्षका सेवाहरू सञ्चालन गर्ने संस्थाले प्रचलित ऐन नियमका अतिरिक्त शिक्षा ऐन आठौँ संशोधन २०२ र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका २०७३ को व्यवस्थाबमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सेवा सञ्चालन अनुमति लिएर मात्र कम्पनीको उद्देश्यअनुसार सेवा सञ्चालन गर्नुपर्दछ । 

शैक्षिक परामर्श सेवा भाषा शिक्षणसम्बन्धी निर्देशिका २०७३ को प्रावधान अनुसार स्वीकृति लिएका संस्थाले प्रचलित ऐन/नियम निर्देशिकाविपरीत कार्य गरी विद्यार्थी एवं अभिभावक ठगिएको भनी उजुरी परेर ठहर भए प्रचलित कानुनअनुसार कारबाही गरिनेछ । 

दुई कन्सल्टेन्सी कारबाहीमा 

हजाराैँकाे संख्यामा रहेका अवैध रूपमा सञ्चालित कन्सल्टेन्सीमध्ये सरकारले २ वटा कन्सल्टेन्सीलाई बन्द गराएको छ । शिक्षा मन्त्रालयबाट सूचना जारी गरी शैक्षिक सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका २०७३ को प्रावधान स्वीकृति नलिएका २ वटा कन्सल्टेन्सीलाई कारबाही गरेको जनाएको छ । विद्यार्थीले ठगी गरेको उजुरी दर्ता गरेको र मन्त्रालयले पटक–पटक कन्सल्टेन्सीलाई उपस्थित हुन आग्रह गर्दा पनि नआएको हुनाले दुई कन्सल्टेन्सीलाई बन्द गरेको हो । 
            
यसरी कारबाहीमा परेका कन्सल्टेन्सीमा ब्राडवे एजुकेसन कन्सल्टेन्सी प्रालि काठमाडौं–११ थापाथली र अब्लिक एजुकेसन फाउन्डेसन प्रालि काठमाडौँ–३५ कोटेश्वर रहेका छन् । मन्त्रालयले ब्राडवे एजुकेसन कन्सल्टेन्सीका सञ्चालक दीपकुमार देव र अब्लिक एजुकेसन फाउन्डेसनका सञ्चालक दिनेश शाह र लोकेन्द्र शाहलाई कारबाही गरी उनीहरूद्वारा सञ्चालित संस्था पनि बन्द गराएको छ । 

सरकारबाट स्वीकृति लिएर सञ्चालनमा रहेका कन्सल्टेन्सीको संख्या हालसम्म १४ सय ७१ रहेको छ । आर्थिक लाभ लिने उद्देश्यले सहरमा धेरै कन्सल्टेन्सी अवैध रूपमा सञ्चालनमा छन् । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार १ हजारभन्दा बढीले सरकारसँग अनुमति लिन निवेदन पेस गरेका छन् । 

प्रतिवर्ष ५० हजारभन्दा बढी विद्यार्थी विदेशिन्छन् 

पछिल्लो समय बीचमा वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या तीव्र रूपमा वृद्धि भएको छ । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखामा दैनिक ३ सयको हाराहारीमा नो अब्जेक्सन लेटर लिनेको भिडभाड लाग्ने गर्दछ । 

मन्त्रालयले दिएको तथ्यांकअनुसार एक वर्षमा ५० हजारभन्दा बढी विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन् । २०७५/०७५ मा ५८ हजार ७ सय ५८ जनाले विदेश पढ्न जानका लागि शिक्षा मन्त्रालयबाट अनुमति लिएका छन् । 

पाइलट, डाक्टर, इन्जिनियर, सिएजस्ता विषय पढ्न जानका लागि विद्यार्थीहरू विदेश जाने लहर बढेको छ । पढ्नका लागि भनेर जाने, तर उतै रोजगारी गरेर बस्ने क्रम पनि बढ्दै गएको छ । 

पछिल्लो समय अस्ट्रेलिया, जापान, भारत, अमेरिका, चीन, पोल्यान्ड, दक्षिण कोरिया, क्यानडा, साइप्रसजस्ता देशमा पढ्न जाने लहर बढेको मन्त्रालयले जनाएको छ । 

 

  • प्रकाशित मिति : असोज २४, २०७५ बुधबार १६:१९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया