मन्त्रिपरिषद् विस्तारअघि नै मुख्यमन्त्री शाक्यलाई हटाउने गठबन्धनको तयारी

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भदौ २ गते मुख्यमन्त्रीको शपथ लिए पनि अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेकी छैनन् । आफू मुख्यमन्त्रीमा नियुक्त भएसँगै दुई मन्त्री नियुक्त गरेकी शाक्य सरकारको भन्दा आफ्नो पार्टीको काममा व्यस्त छिन् । मुख्यमन्त्री शाक्यले हालसम्म दुईवटा मात्रै मन्त्रिपरिषद् बैठक राख्न सकेकी छिन् । त्यसमा पनि पहिलो बैठक औपचारिकतामै सीमित रह्यो भने दोस्रो बैठक प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेर सकियो । 

एमालेको आन्तरिक राजनीति धमिलिइरहेका बेला अप्रत्यशीत रुपमा मुख्यमन्त्री बनेकी शाक्यको पद गुम्ने निश्चितजस्तै देखिएको छ । उनले आफू पार्टी जोगाउनका लागिपरेको र सोही उद्देश्यका लागि मुख्यमन्त्री बनेको बताउँदै आएकी छिन् । शाक्यले भनेझैँ उनको पार्टी एमाले फुटबाट जोगिन त सकेन नै उनको पद पनि नजोगिने प्रबल सम्भावना देखिएको छ । 

शाक्यले आफू एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा नजाने बताइसकेकी छिन् । लामो समय आफूले नेता मानेका माधव नेपालसँगको सहकार्य तोड्ने शाक्यको घोषणाले उनको पद नै धरापमा परेको हो । शाक्य यदि समाजवादीमा हुन्थिन भने उनलाई माधव नेपालको मात्र नभई गठबन्धनको नै सहयोग हुन्थ्यो । तर, अहिले अन्य राजनीतिक दलहरु एमालेविरुद्धको गठबन्धनमा भएका कारण केन्द्रीय राजधानी रहेको प्रदेशमा त्यसको असर नपर्ने कुरै भएन । 

प्रदेश सरकार केही दिनमै ढल्छ  ः राजेन्द्र पाण्डे

नवगठित नेकपा (एकीकृत समाजवादी)का नेता तथा प्रदेश सांसद राजेन्द्र पाण्डेले अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकार छिट्टै ढल्ने दाबी गरेका छन् । एकल बहुमत रहेको एमाले फुटेर नयाँ दल दर्ता भएसँगै शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा पर्ने देखिएको समयमा पाण्डेको यस्तो अभिव्यक्ति आएको हो । 

दल दर्ताको आधिकारिक पत्र प्रदेशसभामा आएसँगै शाक्यलाई दिएको समर्थन फिर्ता लिने सांसद पाण्डेले बताए । आफ्नो पक्षले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्ने उनले दाबी गरे । शाक्य नवगठित पार्टीमा आएको खण्डमा मुख्यमन्त्री मान्न सकिने, तर एमालेमै रहेको खण्डमा नयाँ सरकार गठनका लागि कसरत सुरु गरिने उनले बताए । शाक्यलाई प्रक्रियागत रुपमै हटाउने उनले बताए । बागमती प्रदेशसभामा आफ्नो पक्षमा २१ सांसद रहेको पाण्डेले दाबी गरेका छन् ।



सत्ता जोगाउन अधिवेशन अन्त्य गरेर संसदबाट भागेको कांग्रेसको आरोप

नेपाली कांग्रेसका नेताहरुले नेकपा एमालेको अहिलेसम्म कानुनी रुपमा बागमती प्रदेशमा नफुटेकाले गठबन्धन सरकारमा जान नसकेको बताएका छन् । नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र बानियाँले सरकार बनाउने खेलमा आफ्नो पार्टी नभए पनि सरकार अल्पमतमा परेपछि सोच्नुपर्ने बताए । नेकपा एमाले प्रदेशमा पनि औपचारिक रुपमा फुटेपछि सरकार अल्पमतमा पर्ने र सरकार ढल्ने उनले बताए । त्यसपछि मात्रै सरकारमा जाने वा सरकार बनाउने विषयमा ध्यान दिने बानियाको भनाइ छ । 



सरकारले सत्ता जोगाउन संसद अधिवेशन अन्त्य गरेर संसदबाट भागेको कांग्रेसको आरोप छ । मुख्यमन्त्री शाक्यले अधिवेशन नबोलाए अविश्वासको प्रस्ताव ल्याएर विशेष अधिवेशन बोलाउने कांग्रेसका सचेतक छिरिङदोर्जे लामा बताए । ‘सत्ताका लागि मात्रै संसद होइन, संसद जहिले पनि प्रतिपक्षको हुन्छ, सरकारले अधिवेशन अन्त्य गरेर सत्ता जोगाउन खोजेको होला, त्यस्तो हुन हामी दिँदैनौँ,’ उनले भने, ‘गठबन्धनमा बहुमत पुगेको दिन हामी अविश्वासको प्रस्ताव लगेर विशेष अधिवेशन माग गर्छौं ।’ 
 
एमालेको लामो समयदेखिको आन्तरिक विवादका बेला माधव नेपाल पक्षमा रहेकी शाक्य नेता नेपालले अर्को पार्टी दर्ता प्रक्रिया अघि बढाउँदै गर्दा एमालेमै रहेपछि मुख्यमन्त्री बनेकी हुन् । प्रदेशको मुख्यमन्त्री बनेको एक सातामा नै अल्पमतमा परेकी शाक्यले संसदबाट विश्वासको मत लिनुपर्नेमा संसद छल्दै मन्त्रिपरिषद् बैठकबाट अधिवेशन नै अन्त्य गरेकी हुन्। 

अहिलेको परिवर्तित सन्दर्भमा शाक्यले विश्वासको मत पाउने सम्भावना छैन। संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भए ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । एमाले केन्द्रमा विभाजन भए पनि प्रदेशमा औपचारिक रूपमा विभाजन हुन बाँकी छ। 

दल विभाजनसम्बन्धी अध्यादेशले दल दर्ता भएको २१ दिनभित्र प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न पाउने अधिकार दिएको छ । विश्वासको मत लिनु नपर्नेगरी संविधानको धारा १६८(१) अनुसार बहुमतको आधारमा मुख्यमन्त्री बनेको भए पनि शाक्यलाई समर्थन गरेकामध्ये एकजनाले मात्रै एमाले छाडेर अर्को दल रोजे पनि उनले संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ।  
 

  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार १८:६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया