किन तानिए कमेडी च्याम्पयिनका जज सन्तोष पन्त विवादमा ?
भन्छन्– जजले जे हो, त्यो बोल्नुपर्छ

शनिबार राति प्रसारण भएको कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’पछि सोका निर्णायक सन्तोष पन्त विवादमा तानिएका छन् । शनिबार राति कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको ‘सो’का दुई प्रस्तुति चर्चामा रहे । तीमध्ये पहिलो हो, विक्की अग्रवालको प्रस्तुति । 

अग्रवालले ‘पेन्टोमाइम’ प्रस्तुति दिएका थिए । उनको यो प्रस्तुतिलाई लिएर कमेडी च्याम्पियनका ४ जजमध्ये ३ जना जजले ‘स्टान्डिङ अभेसन’ दिए । उनीहरुले अग्रवालको खुलेर प्रशंसासमेत गरे । कमेडी च्याम्पियनकी जज तथा अभिनेत्री ऋचा शर्मा त अग्रवालको प्रस्तुति हेरेर निकै भावुक भइन् । उनका आँखा झण्डै टिलपिल भएका थिए ।

ऋचाले अग्रवालको प्रस्तुतिपछि भनेकी छिन्, ‘रिजल्ट जे पनि हुन सक्छ । तर, कमेडी च्याम्पियनका लागि तपाईं एउटा उदाहरण हो, आउने धेरै सिजनका लागि हामीसँग विक्की अग्रवाल भन्ने एकजना कन्टेस्टेन्ट हुनुहुन्थ्यो, जसले कमेडी च्याम्पियनमा सबै भेराइटी ट्राई गर्नुभयो इन्क्लुडिङ माइइन्ड भन्न पाउँछौँ ।’

अर्का जज तथा हास्यकलाकार मनोज गजुरेलले पनि विक्कीको तारिफ गरे । उनले विक्कीले हरेकपटक नयाँ प्रयोग गरेकोप्रति गर्व गरे । भने, ‘हामी हरेकपटक कमेडीमा नयाँ चाहियो, नयाँ चाहियो भन्छौँ तर संसारमा चलिसकेको यो माइन्ड एक्टिङ हामीले गर्ने त्यही क्यारिकेचर, त्यही स्ट्यान्ड अप, त्यही रोस्टभन्दा माथिको कलाकारिता हो ।’

तर, अग्रवालको यही प्रस्तुतिमाथि गरेको कमेन्टका कारण जज सन्तोष पन्त विवादमा तानिए । उनले अग्रवालको प्रस्तुतिपछि भने, ‘नयाँ प्रयोगका लागि धेरै–धेरै बधाई छ । तर हरेक ठाउँको आफ्नो आफ्नो स्वाद हुन्छ । हाम्रो हाँस्ने शैली र विदेशीको हाँस्ने शैली फरक छ । विदेशीको कमेडीको टेस्ट र नेपालीको कमेडीको टेस्ट फरक छ । कमेडी च्याम्पियनमा यो फिलोसोपी त भयो, तर हाँसो आएन । कोही हाँस्नु भो ?’ पन्तले उल्टै अग्रवाललाई प्रश्न गरे । पन्तले आफूले विक्कीको कमेडी नबुझेको बताएका थिए ।
 
पन्तको यो कमेन्टपछि विक्की स्टेजबाट रुँदै बाहिरिएका थिए । उनी ब्याक स्टेजमा पनि रोइरहेको दृष्य प्रसारण भएको थियो । त्यसपछि सामाजिक सञ्जालमा सन्तोष पन्तको चर्को आलोचना सुरु भयो । धेरैले पन्तप्रति नकारात्मक प्रतिक्रिया दिइरहेका छन् । सामाजिक सञ्जालका प्रयोग कर्ताले पन्तलाई ‘रक्सी, नेता र राजा’बाहेकको कमेडी नै नबुझेको आरोप लगाएका छन् । धेरैले कमेडी च्याम्पियनको जजबाट उनलाई निकाल्न समेत आग्रह गरेका छन् । 

धेरैले विक्की अग्रवालको प्रतिभा नबुझी सन्तोष पन्तले हतोत्साही बनाएको आरोप लगाइरहेका बेला पन्त भने आफूले अग्रवाललाई उत्साह नै दिएको धारणा राख्छन् । उनी भन्छन्, ‘मेरोतर्फबाट मैले उसलाई उत्साह नै दिएको थिएँ । आर्टको प्रतियोगितामा विक्कीको त्यो प्रस्तुति अब्बल हुन्थ्यो । यो कमेडीको प्रतिस्र्धा हो । कमेडी चाहिएको हो । उसले आर्ट प्रस्तुत गर्यो । निर्णायकले जे हो, त्यही प्रतिक्रिया दिनुपर्छ,’ पन्तले अगाडि भने, ‘अनुहार मात्र क्लाउनको बनाएर त दर्शक हाँस्दैनन् । दर्शक हँसाउन सक्नुपर्यो नि भनेको हो । यहाँ त हाँस्ने कुरा चाहियो भनेको हो मैले ।’



यता, कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्तले पनि सन्तोष पन्तले कमेडी नबुझ्ने आरोप लगाएका छन् । उनले भनेका छन्, ‘उहाँ मनमा जे लाग्छ, त्यही कमेन्ट गर्नुहुन्छ । नयाँ शैली नबुझेर पनि त्यसो गर्नुभएको होला । खासमा उहाँलाई विदेशमा कस्तो शैली प्रयोगमा छ भन्ने नै थाहा छैन ।’ निर्णायकको कुर्सीमा बसेपछि आफूलाई थाहा नभएको कुराको अध्ययन गर्न समेत हिमेशले भनेका छन् । भन्छन्, ‘अबका निर्णायकहरु अप्डेटेड हुनुपर्छ ।’

कमेडी च्याम्पियनका निर्णायक मनोज गजुरेलले पछिल्लो विवादपछि पूरानो पुस्ताले नयाँलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । पुरानो गरिरहने कमेडियनहरुले आफैँले नयाँ गर्न नसके पनि नयाँ गर्नेलाई प्रोत्साहन गर्नुपर्ने उनको तर्क थियो । गजुरेलले पन्तको बचाउ गर्दै बोल्ने शैली फरक भए पनि पन्त भावको तह गलत नभएको बताए । गजुरेल भन्छन्, ‘उहाँको नियत नै गलत नराम्रो थिएन भन्ने लाग्छ । तर, त्यही चिजलाई मिलाएर बोल्न सक्नुपर्ने थियो कि भन्ने जस्तो लाग्छ ।’ 



अभिनेत्री एवं सोकी निर्णायक ऋचा शर्माले निर्णायकको निर्णयमाथि सकारात्मक वा नकारात्मक दुवै प्रतिक्रिया आउनु सामान्य भएको बताएकी छिन् । उनी भन्छिन्, ‘सन्तोष सरले आफ्नो विचार राख्नुभएको हो । त्यसमा नकारात्मक र सकारात्मक प्रतिक्रिया आइरहेको हुन्छ । निर्णायकको आ–आफ्नो विचार हुन्छ । त्यो विचारमाथि दर्शकले प्रतिक्रिया दिन सक्नुहुन्छ ।’ 

के हो पेन्टोमाइम अभिनय ?

‘पेन्टोमाइम’ म्युजिकल कमेडीको एउटा शैली हो । बेलायतबाट सुरु भएको यो शैली पारिवारिक मनोरञ्जनका लागि प्रयोगमा आएको मानिन्छ । संगीतमय माहोलमा नबोली अभिनय मात्र गरेर दर्शकलाई हँसाउनु यो शैलीको कमेडीको विशेषता हो । विशेष गरेर युके, आयरल्यान्डलगायत देशमा क्रिसमसमा यो शैलीको कमेडीको बीढ प्रयोग हुँदै आएको छ । 

पारसको क्यारिकेचर गरेर भरतमणि सीधै फाइनलमा

शनिबार राति प्रसारण भएको कमेडी च्याम्पियनमा भरतमणि पौड्यालको पनि निकै चर्चा भयो । उनले पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेका थिए । भरतमणिको प्रस्तुतिमा भने सन्तोष पन्तले दुईपटक स्ट्यान्डिङ अभियशन दिएका थिए । यो कमेडी च्याम्पियनको इतिहासमै पहिलोपटक पनि थियो । 

उत्कृष्ट ४ को प्रतिस्पर्धाबाट यो प्रस्तुतिपछि भरतमणि सीधै फाइनलमा पुगेका छन् । उनलाई निर्णायकहरुले ‘पर्फमर अफ द राउन्ड’ राउण्ड घोषणा गरेका थिए । 


  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार २२:१५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया