युद्धकालमा बा-आमासँग भेट हुँदैनथ्यो, चिठीमा कुरा हुन्थ्यो : मानुषी यमी भट्टराई

मेरो बाल्यकाल आमा (अजी)को घरमा बित्यो । त्यतिबेला बा-आमा डेरा लिएर बस्नुहुन्थ्यो । दुवैजना अत्यन्त व्यस्त । म सानै थिएँ । २०४६ सालको आन्दोलनको तयारीताका बुवा (बाबुराम भट्टराई) अर्धभूमिगत हुनुहुन्थ्यो । त्यसबेला आमा पनि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढाउनु हुन्थ्यो । उहाँहरूसँग मलाई हुर्काउन पर्याप्त समय थिएन । त्यसैले मलाई अजीले नै हुर्काउनु भयो । वरिपरि आफन्त थुप्रै हुनुहुन्थ्यो । नियमित स्कुल जान्थेँ । त्यसैले पनि होला बा-आमासँग बस्न पाइनँ भन्ने त्यतिविधि महसुस हुँदैनथ्यो ।

आमाको हातमा लागेको त्यो हतकडी

बाल्यकालका धेरै कुरा र दृश्य याद छैनन् । धेरै कुरा विस्मृत हुँदाहुँदै पनि आमाको हातमा लागेको पहिलो हतकडी अहिले पनि सम्झनामा आउँछ । त्यसबेला ३/४ वर्षकी थिएँ । म ज्वरो आएर बिरामी भएकी थिएँ । त्यही बेला आमालाई समाउन प्रहरी आयो । भर्‍‍‍याङमाथि उक्लिएर प्रहरीले आमालाई गिरफ्तार गरेको थियो । आमाले आफूलाई प्रहरीले पक्राउ गरेपछि मेरो ठूलोममीलाई बोलाएर ‘छोरीलाई ज्वरो आएको छ । तिमीले यसको रेखदेख गर्नु है’ भनेर प्रहरीसँग जानु भयो । त्यसपछि मेरो दिमागमा के चल्यो, खासै त्यसको सम्झना छैन । बिरामी छोरी घरमा छोडेर प्रहरी हिरासतमा आमाले कसरी दिन बिताउनु भयो होला ‘अहिलै आफैं आमा भएपछि’ आमाको मन सम्झना आउँछ । अहिले सम्झन्छु, त्यतिबेला आमालाई हनुमान ढोका लगेको रहेछ । त्यहीँ थुनामा हुँदा थोरै समयको लागि त्यहाँभित्र पनि आमाले हामीलाई घुमाउनु भएको थियो । 

सात वर्षमा बेलायत

म हुर्कंदै गए । बुवाको राजनीतिक व्यस्तता बढ्दो थियो । आमाले आर्किटेक्चरमा मास्टर्स पढ्न बेलायत जाने मौका पाउनु भयो । त्यसबेला म सात वर्षकी हुँदै थिएँ । मलाई छोडेर जाने सम्भावना थिएन । छोडेर जाँदा मलाई हेर्ने मान्छे हुँदैनथ्यो । आमाले ‘म मेरी छोरी पनि सँगै लिएर जान्छु’ भन्नु भयो । त्यो समय महिलाले स्कलरसिपमा विदेश जाँदा परिवार लिएर जान पाउने व्यवस्था रहेनछ । दूतावासमा आमाको भनाभन जस्तै भयो । उहाँले मलाई सँगै लिएर जान ठूलै संघर्ष गर्नु परेको अहिले पनि सुनाउनु हुन्छ । आमाले त्यसबेला ‘छोरी लिएर जान नपाउने भए म पढ्नै जान्नँ’ भन्नु भएको थियो । त्यसपछि म आमासँग दुई वर्ष बेलायत बसेँ ।

बेलायतबाट फर्किंदा आमाका सपना फरक थिए । उहाँले त्यहाँ कमाएको पैसाले काठमाडौंमा भएको घरमा तला थप्नु भयो । बेलायतबाट फर्किएको अर्को वर्ष बुवाले आमालाई भन्नु भयो, ‘जनयुद्ध सुरु हुने भयो । हामी भूमिगत हुने भयौं ।’ आमा पनि सहमत हुनुभयो । बेलायतबाट फर्किएको अर्को वर्ष बुवा-आमा पूर्णरूपमा भूमिगत हुनुभयो । अहिले फर्किएर हेर्दा लाग्छ- ‘आमाले कसरी त्यो निर्णय लिन सक्नु भयो होला । १० वर्षकी छोरी, काठमाडौंको घर । सबै सुख छोडेर बुवासँगै हिँड्न आमालाई केले बल दियो होला ?’



बुवा-आमा भूमिगत हुने समय मलाई कोटेश्वरस्थित ठूलोममीको घरमा छोडेर जानु भएको थियो । उहाँहरु भूमिगत भएको एक वर्ष निकै गाह्रो भयो । गेटवरपर सिआइडी घुम्थे । म पढ्ने स्कुलमा पनि पुग्थे । मेरो कारणले स्कुलमा पनि अप्ठ्यारो वातावरण सिर्जना भयो । घरमा पनि । त्यसपछि म पनि भूमिगत भएँ ।भूमिगतकालमा म विभिन्न ठाउँका मानिसहरूसँग बसे । कतिपय ठाउँमा होस्टलमा बसेँ । जहाँ बसे पनि मैले पढ्ने अवसरचाहिँ पाएँ । यी सबै घटनाक्रमले मलाई सानैबाट आत्मनिर्भर बनायो । 

भूमिगत भएर विभिन्न ठाउँमा पुगे पनि म पार्टीको लालकिल्लामा बसिनँ । केही समय रोल्पा बसेको छु । पार्टी प्रवेश गरेपछि सुरुमा मेरो जिम्मेवारी अनुवाद गर्ने थियो । पछि मैले भारतमा मजदुरी गर्ने नेपालीहरू (त्यहाँ धेरै नेपालीहरू कारखानामा काम गर्थे) बारे अध्ययन गरेँ ।



मलाई एकदम याद छ । लखानी चप्पल फ्याक्ट्रीमा एक जना दाइ हुनुहुन्थ्यो । उहाँले मलाई त्यो फ्याक्ट्री घुमाउनु भयो । त्यसबेला मलाई चप्पल उपहार पनि दिनु भएको थियो । उहाँले केही समयपछि पूर्णकालीन राजनीतिमा लाग्न नेपाल भन्नु भयो । त्यस्ता धेरै मजदुर हुनुहुन्थ्यो, जो मजदुरी गर्दागर्दै माओवादी जनमुक्ति सेनामा लाग्नु भएको थियो । त्यो समय थुप्रैले सहादत प्राप्त गर्नु भयो । म कसैको मृत्युमा पनि प्रत्यक्षदर्शी हुन पाइनँ । आफ्ना साथीको मृत्युको खबरले दुख्न त दुखिहाल्थ्यो । तर, पहिलो पटक मलाई चप्पल ‘गिफ्ट’ गर्ने दाइको मृत्युको खबरले नमज्जाले दुखाएको थियो । उहाँको नाम अहिले बिर्सिएँ।
 
यस्तै एउटा रोल्पाको मृत्यु पनि मेरो मानसपटलमा आज पनि उसैगरी आउँछ । दाङबाट हामीलाई सुरक्षा दिएर रोल्पा पुराउने एकजना महिला कमान्डर हुनुहुन्थ्यो । उहाँ निकै लोभलाग्दो हुनुहुन्थ्यो । म उहाँबाट निकै प्रभावित थिए । उहाँको पनि अर्को वर्ष मृत्युको खबर आयो । एक समय आमा रोल्पामा हुनुहुन्थ्यो । मेरो पार्टीको नाम ‘आस्था’ । म पनि हाम्रो टिममा रोल्पा जाँदै थिए । आमालाई पत्र गएछ ‘कमरेड आस्था पनि आउँदै हुनुहुन्छ’ भनेर । आमाले कमरेड आस्था भनेको को हो ? को आउँदै छ भनेर छक्क परिराख्नु भएको रहेछ । पछि म पुगेपछि ‘तिमीलाई पो भनेको रहेछ’ भन्नु हुन्थ्यो । यसैगरी हामीले हाम्रा कयौं साथीका नाम बिर्सियौं । उहाँहरूको अनुहार र योगदान आँखामा आउँछ । 

बा-आमासँग चिठीमा कुरा

भूमिगत समयमा बा-आमा मलाई भेट्न असाध्यै कम आउनुहुन्थ्यो । उहाँहरूसँग धेरै जसो कुरा चिठीमै हुन्थ्यो । म भूमिगत भएको पहिलो वर्ष होस्टलमा बसेको थिएँ । त्यहाँको एउटा नियम थियो ‘आफ्ना अभिभावकलाई हप्तैपिच्छे चिठी लेख्नु पर्ने ।’ म जुन ठेगानामा चिठी पठाउँथे, त्यो उहाँहरूको वास्तविक ठेगाना हुँदैनथ्यो । त्यसैले उहाँहरुले एकैपटक थुप्रै हप्ताका चिठी हात पार्नु हुन्थ्यो । मलाई पनि आमाकाे धेरै चिठी आउँथ्यो । बुवाको अलि कम । 

वर्षमा मुस्किलले दुई पटक बा-आमासँग भेट हुन्थ्यो । बा-आमा भेट्न आउँदा पनि डर लाग्थ्यो । त्यतिबेला प्रचण्ड अंकल पनि सँगै जस्तै हुनुहुन्थ्यो । मोहन वैद्य अंकलका छोरीहरू, प्रकाश दाई (प्रचण्डका छोरा) हामी सँगै खेल्थ्यौं । त्यसैले डर अलि कम हुन्थ्यो । सबै नेताहरू सँगै त हुनुहुन्छ नि भन्ने लाग्थ्यो । बा-आमालाई भेट्न ठूलै बैठक हुनु पर्थ्याे । 

संस्कार सिकाउने समयमा, समाज बुझाउने बेलामा बा-आमा साथमा हुनुहुन्थेन । तर, उहाँहरूले आफ्नै तरिकाबाट सबै कुरा सिकाउनु भयो । आमालाई त्यो बेला, ‘एउटै छोरी पुलपुलिन सक्छ’ भन्ने डर पहिलेबाटै रहेछ । त्यसैले पनि जनयुद्ध सुरु हुनुअघि नै उहाँले मलाई ट्रेनिङ दिनु भएको रहेछ । त्यो कुराले मलाई राम्रो नै गर्‍याे । बच्चामा बा-आमा छोडेर बसेकोले पनि भूमिगतकालमा एक्लै बस्दा अभाव महसुस भएन ।

तर, हरेक दुई वर्षमा मैले पनि आफूले बसेको ठाउँ छोड्नु पर्थ्याे । नयाँ ठाउँमा नयाँ साथी बनाउनु पर्थ्याे  । छोडेका ठाउँका पुराना साथीलाई भेट्न, चिठी लेख्न पाइँदैनथ्यो । म आफू अन्तर्मुखी स्वभावको । फर्किएर हेर्दा मलाई त्यो समय थुप्रै असजिलो भएको रहेछ । आफ्ना मिल्ने साथी छोडेर हिँड्नु पर्ने, उनीहरूलाई ‘म फलानो ठाउँमा जाँदैछु’ भन्न पनि नपाइने ! उनीहरूको सम्झना आउँथ्यो ‘म यहाँ छु । तिमीहरु कस्तो छौ’ भनेर चिठी लेख्न पनि नपाइने ! जे होस् त्यो समय पार गरियो । त्यही समयले हो आज मलाई यसरी उभिन सक्ने बनाएको । 

भूमिगतकालमा बुवाले लेखेका चिठीमा सिद्धान्तका कुरा हुन्थे । आमाले भने चिठीमा व्यावहारिक कुरा लेख्नु हुन्थ्यो । म १३ वर्षकी हुँदा आमाले लेख्नु भएको थियो, ‘कुनै पनि बेला तिम्रो बुवालाई मार्न सक्छन् । म आफैं पनि मारिन सक्छु । तिम्रो बा-आमा दुवै एकैपटक मारिन पनि सक्छौं । त्यो समय आइहाल्यो भने तिमीले आफूलाई सम्हाल्न अहिलेदेखि नै तयार पार । अन्तिममा तिमी पनि मारिन सक्छौ ।’ त्यसैले पनि अरुका बा-आमा भन्दा मेरा फरक हुनुहुन्छ भन्ने लाग्थ्यो ।  

आमाले पठाएको त्यो चिठी

युद्धकालमा बा-आमासँग मनका कुरा गर्ने माध्यम नै चिठी थियो । प्रायः सैद्धान्तिक चिठी लेख्ने बुवालाई मैले पनि सिद्धान्तकै कुरा सोधेर चिठी पठाउँथेँ । आमाले भने सिद्धान्तसँगै व्यवहारका कुरा लेखेर पठाउनु हुन्थ्यो । बा-आमा भूमिगत हुँदा नै म महिनावारीका लागि तयार हुँदै थिए । सोध्ने, सिकाउने कोही थिएन मसँग । आमाले त्यतिबेला पाठेघरको चित्र बनाएर ‘पाठेघर भनेको यस्तो हुन्छ । पाठेघरको मासिक साइकल यस्तो हुन्छ । अब तिमी महिनावारी हुने उमेरमा छौ । महिनावारीको समय तिम्रो रगत आउँछ । त्यो रगत तिम्रो शरीरको खराब रगत हो । यो हेल्दी प्रक्रिया हो । महिनावारीको समयमा अलिअलि पेट दुख्न सक्छ । त्यो सामान्य हो । नआत्तिनु । धेरै दुख्यो भने खबर गर्नु’ भनेर लेख्नु भएको थियो । आमाले लेखेको त्यो चिठी आज पनि सुरक्षित छ मसँग ।  

आमा आफैं महिला आन्दोलनमा भएकाले पनि सचेत रूपमा यावत् कुरा छोरीलाई सिकाउनुपर्छ भन्ने बुझ्नु भएको थियो । भौतिक रूपमा एउटी आमाले छोरीलाई दिनु पर्ने सम्पूर्ण साथ मलाई मेरी आमाले चिठीबाट दिनु भयो । 

  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार ८:९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया