अखिल नेपाल महिला संघकाे कार्यक्रम शिशु कक्षामा

नेकपा एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघले कोरोना कहरले बन्द रहेको एक विद्यालयको बालविकास (शिशु)कक्षामा भेला गरेको छ।  
हेटौंडा उपमहानगरपालिकाको एक विद्यालयमा अनेम संघको भेला भएको हो ।

कोरोना कहर भन्दै विद्यालयहरू अहिले पूर्ण रूपमा बन्द छन् । हेटौंडाका केही निजी विद्यालयहरूले प्रशासनको नियम उलंघन गरेको भन्दै जरिवानासमेत तिरे । तर, विद्यालयमै राजनीतिक दलका भातृ संगठनले कार्यक्रम गर्दा प्रशासन मौन बसेकाे छ । 

यस विषयमा सूचना दिँदा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आफूलाई जानकारी नभएको बताए । व्यवसायीहरूलाई थुन्दै जरिवाना तिराउँदै गरिरहेको मकवानपुर प्रशासनले यो विषयमा बोल्नै खोजेको छैन ।  राजनीतिक दलले गरेको कार्यक्रमबारे अनभिज्ञ देखाएर कमजोरी लुकाउन खोजेको प्रजिअ पाण्डेले राजनीतिक दलले संवदेनशीलता नबुझेको भने स्वीकार गर्छन् । 

कमजोरी भएकै हो, अब दोहोरिँदैन : अनेमसंघ

यो विषयमा अखिल नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्लेले कमजोरी भएको स्वीकार गरेकी छन् । उनले भनिन् ‘८ नम्बर वडाको एक प्राविमा कार्यक्रम राखिएको रहेछ, हाम्रो कुनै भेला भएको होइन । अनेम संघको एउटा वडा कमिटीको सानो बैठक हो । स्थानीय महिला दिदीबहिनीहरूलाई बस्न सजिलो हुने भएकोले शिशु कक्षामा मिटिङ वडा कमिटीले राखेको रहेछ, म पनि पुगेको थिएँ । तर हंगामा गर्नुपर्ने विषय केही छैन ।’

उनले अबदेखि विद्यालयमा यस्ता कार्यक्रम नराख्ने अनेम संघले निणर्यसमेत गरिसकेको पनि बताइन् ।



जिल्ला प्रशासन कार्यालय मकवानपुरले अहिले केही व्यवसाय बाहेक अन्य सबै व्यवसाय सञ्चालन गर्न छुट दिएको छ । प्रशासनले बिहानदेखि बेलुकासम्म नै पसल सञ्चालन गर्न पाइने भनेको छ । तर, शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र), सिनेमा हल, सार्वजनिक पुस्तकालय, स्पा, सैलुन तथा ब्युटी पार्लर, स्विमिङ पुल, जिम खाना लगायत हेल्थ क्लब, स्ट्रिट फुड पसल, फुटसल पूर्ण रूपमा बन्द राख्नुपर्ने सिडिओको आदेश छ ।

शिक्षा कार्यालयको ध्यानाकर्षण 



विद्यालयमा राजनैतिक दलको कार्यक्रम भएको जानकारीपछि शिक्षा विकास तथा समन्वय इकाइ हेटौँडाले यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

इकाइ प्रमुख प्रेमराज खरेलले जारी गरेकाे विज्ञप्तिमा लेखिएकाे छ, ‘विद्यालयलाई शान्ति क्षेत्रको रूपमा परिभाषित गरिएको साथै विद्यालयमा शिक्षण सिकाइलाई प्रवर्द्धन गर्ने तथा अतिरिक्त क्रियाकलापका गतिविधि तथा सरकारलाई आवश्यक परेको सममयमा विद्यालयका भौतिक संरचनाको उपयोग गर्ने बाहेकका राजनीतिक दल सम्बद्ध कार्यक्रमहरू विद्यालयमा सञ्चालन गर्दा जनमानसमा समेत सार्वजनिक संस्थाप्रति नकारात्मक सन्देश जाने भएकोले उक्त कार्यहरूमा विद्यालय भवन उपलब्ध नगराउन हुन अनुरोध गर्दछु ।’

  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार ११:३८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया