\


वाट्मोरपछि कसको हातमा जाला नेपाली क्रिकेटको जिम्मेवारी ?
फरकधार / १४ भदौ, २०७८
यो सामग्री सेयर गर्नुहोस्

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक डेभ वाट्मोरले नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेको आठ महिनामै राजीनामा दिएका छन्। 

उनलाई आइसिसीको सहमतिअनुरूप नेपाल क्रिकेट एसोसियसन (क्यान)ले जनवरी १ देखि जिम्मेवारी दिएको थियो । उनले शुक्रबार इमेल लेख्दै क्यानमा राजीनामा दिएका हुन् ।

महामारीको समयमा परिवारसँग छुट्टिएर बस्नुपरेको कारण देखाई राजीनामा दिएको उनले बताएका छन् ।

उनको आगमनअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपालमा गत फ्रेबुअरीदेखि मुख्य प्रशिक्षक कोही थिएन।



क्यानले सन् २०२० सेप्टेम्बरमा मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो । नेपालको मुख्य प्रशिक्षक बन्नका लागि ७२ जनाले आवेदन दिएका थिए । क्यानले अन्तिम चरणमा अन्तर्वार्ताका लागि १५ जना छनोट गरेको थियो । तर, अन्तर्वार्तामा १२ जनामात्र उपस्थित थिए ।

वाट्मोरको राजीनामापछि अब को प्रशिक्षक भन्ने प्रश्नमा क्यानका सचिव अशोकनाथ प्याकुरेलले आवेदन दिएका पहिलाकै प्रशिक्षकहरूलाई प्राथमिकतामा राखिने बताएका छन् । ‘निकै दृढ विश्वासका साथ उहाँले राजीनामा दिनुभएको छ । जहाँसम्म लाग्छ, उहाँ फर्किने सम्भावना न्यून छ,’ सचिव प्याकुरेल भन्छन्, ‘परिवारसँग बस्ने उहाँको इच्छा हो । उहाँको परिवार नेपाल ल्याएर बस्ने कुरामा पनि मान्नुहुन्छ जस्तो लागेन ।’



क्यानले वाट्मोरलाई नियुक्त गर्ने क्रममा अन्तिममा चार जनालाई छनोट गरेको थियो । त्यसमध्ये वाटमोर रोजाइमा परेका थिए । नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायके, अपूर्व सुबोधभाइ देसाई, नेइल क्याक्रेईलगायतले अन्तर्वार्ता दिएका थिए ।

प्याकुरेलले अब देसाइ, क्याक्रेइ र पुबुदुलाई पुनः सम्पर्क गर्ने बताएका छन् । ती तीनजना नेपाल आउन नमानेमा अन्य प्रशिक्षक खोज्ने उनको भनाइ छ । ‘तीनजना प्रशिक्षकलाई हामीले विकल्पका रूपमा राखेका थियौं । अब तिनै तीनजनामध्ये एकलाई ल्याउने प्रयास गर्ने छौं । त्रिदेशीय शृंखला सकिनेबित्तिकै मुख्य प्रशिक्षक नियुक्तिको प्रक्रिया थाल्नेछौं,’ उनले भने ।

कोभिड संक्रमण मत्थर हुँदै गर्दा विस्तारै क्रिकेटका अन्य प्रतियोगिताहरू पनि सञ्चालन हुने छन् । यही क्रममा प्रमुख प्रशिक्षकको अप्रत्याशित राजीनामाले नेपाली क्रिकेटमा हलचल ल्यायो ।

कार्यकाल छोटो समय हुँदा पनि नेपाली क्रिकेटमा निकै सुधार ल्याएका वाट्मोरले पारिवारिक कारण देखाए पनि राजीनामाको अन्य कारणको चर्चासमेत सामाजिक सञ्जालमा हुन थालेका छन् । 

उनले राजीनामा दिनुमा उनको परिवारसँग बस्ने चाहनाका साथै उनको बढ्दो उमेर पनि हुन सक्ने अनुमान गरिएको छ । उनी ६७ वर्षका भइसकेका छन् । उनी खेलाडी र प्रशिक्षणकै क्रममा चार दशकभन्दा बढी समय घर-परिवारबाट टाढा बसिसकेका छन् ।

राजीनामाको अर्को कारण भनेको कोभिडका कारण धेरै खेलहरू स्थगित हुनु पनि रहेको छ । उनले आफ्नो काम राम्रोसँग गर्न पाएनन् । यो कारण पनि उनमा ‘फ्रस्टेसन’ आएको हुन सक्ने बताइन्छ । नेपालको प्रशिक्षकका रूपमा कार्यरत रहँदा नै उनले बर्मुडासँग सम्झौता गरेको चर्चासमेत भएको थियो । उनको राजीनामासँग बर्मुडाले दिएको राम्रो पारिश्रमिक पनि कारणका रूपमा जोडिएर आउन थालेको छ ।  

वाट्मोरले देखाएको आशा 

नेपालमा अहिलेसम्म थुप्रै प्रशिक्षक आइसकेका छन् । डेभ वाट्मोर नेपालले पाएको एक उत्कृष्ट प्रशिक्षक थिए । उनले नेपाली क्रिकेटमा नयाँ आशा जगाएका थिए । नयाँ खेलाडीको पहिचान गर्दै तिनलाई मौका दिनुलाई उनको सकारात्मक पाटो मानिन्छ । नेपाली क्रिकेटको खेल शैलीमै उनले परिवर्तन ल्याए।

वाट्माेरकाे प्रशिक्षणमा नेपालले घरेलु मैदानमा भएको मलेसिया र नेदरल्यान्ड्सविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको थियो । उनले नेपाली क्रिकेटमा जगाएको यो आशाको धरोहर एकाएक कमजोर प्रतीत भएको छ । 

उनले सट छनोट, डट बलमा कमी, आक्रामक ब्याटिङ, कमजोर ब्याटिङ सुधार, टिम सन्तुलन र उच्च मनोबल जगाएर नेपाली क्रिकेटमा नयाँ आशाको दियो बालेका थिए । अर्कोतर्फ भद्रगोल ब्याटिङक्रम समस्या पनि सुधार आएको थियो । नेपाली क्रिकेटमा पछिल्लो समय सर्वाधिक कमजोर देखिएको अस्थिर ओपनिङ जोडी उनले पहिलो प्रयासमा नै सुधार्ने संकेत देखाएका थिए । 

उनले नेपाली क्रिकेट समर्थकको माया र विश्वास राम्रै बटुले । घरेलु मैदानमा नयाँ ओपनरका रूपमा डेब्यु गरेका कुशल भूर्तेलले तीन अर्धशतक बनाएका थिए । वाट्मोरको खेलाडी पहिचान गर्ने क्षमताका कारण पनि नेपाली क्रिकेटले नयाँ गति लिने आशा जागेको थियो ।

गत बैशाखमा भएको त्रिकोणात्मक सिरिजमा वाट्मोरले नेपाली खेलाडीको कमजोरी पत्ता लगाए, तिनमा रहेको सम्भावना चिने र खेलाडी तथा समर्थकको मायाको अवसर प्राप्त गरे । ओमन भ्रमणलाई उनको वास्तविक परीक्षाको रूपमा हेरिएको थियो । विदेशमा उनको प्रशिक्षकत्वमा नेपालको प्रदर्शन कस्तो हुन्छ भन्ने धेरैका लागि चाखको विषय थियो । तर, वाट्मोरले ओमन भ्रमणलगत्तै लागू हुनेगरी राजीनामा दिए । 

परम्परागत ब्याटिङ समस्या रहेको नेपाललाई दिशा देखाउन थालेका थिए, वाट्मोरले । हरेक प्रतियोगितामा हारको मुख्य कारण मानिन्थ्यो, नेपालको फितलो ब्याटिङ । उनले त्यो समस्या सुधार्ने कोसिस गरेका थिए । त्रिकोणात्मक सिरिजमा त्यो सुधारेको एक झलक उनले दिएका पनि हुन् । नेपालले आफ्नो ब्याटिङ सुधाएिको साबित गर्दै इतिहासकै एक उत्कृष्ट र यादगार ब्याटिङ गर्‍याे । दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध २०६ रन बनाए पनि पराजित हुन पुगेको थियो । 

ओमन भ्रमणमा नेपालको आशा उच्च थियो । वाट्मोरको राजीनामाले खेलाडीको मनोबलमा असर पर्ने चिन्ता थपिएको छ । छोटो समयमा नै नेपाली क्रिकेटमा राम्रो नतिजा पस्किएर हालसम्म आएकामध्ये सफल प्रशिक्षकको रूपमा उनी चिनिन्छन् । 

  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार १४:५१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया