झण्डै १३ वर्षअघि ०६५ असोजमा कैलालीबाट बेपत्ता भएका पत्रकार जेपी जोशी त्यसको दुई महिनापछि मृत अवस्थामा फेला परे । सरकारी छानबिन समितिको प्रतिवेदनले उनको हत्या भएको ठहर गरे पनि अहिलेसम्म न त दोषी को हो भनेर सार्वजनिक गरिएको छ, नत उसमाथि कुनै कारबाही नै भएको छ ।
तत्कालीन समयमा जनादेश साप्ताहिक र जनदिशा दैनिकमा कार्यरत जोशी ०६५ असोज २२ गते अत्तरिया बजारबाटै बेपत्ता भएका थिए । बेपत्ता भएको दुई महिनापछि ०६५ मंसिर १३ गते घरनजिकैको चौकीडाँडा महिला सामुदायिक वन उपभोक्ता समितिको जंगलमा उनको कंकाल र हड्डी भेटिएको थियो । कंकालसँगै मोबाइल तथा परिचयपत्र भेटिएपछि उनको पहिचान भएको थियो ।
घटनाको छानबिन गर्न तत्कालीन सरकारले अधिवक्ता उमेश गौतमको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेको थियो । समितिले पत्रकार जोशीको हत्या भएको स्वीकार गरे पनि अहिलेसम्म दोषीलाई कानुनी दायरामा ल्याइएको छैन । समितिले ०६६ सालमा अध्ययन प्रतिवेदन सरकारलाई बुझाए पनि हालसम्म औपचारिक रूपमा सार्वजनिक पनि गरिएको छैन ।
पत्रकार जोशीकी छोरी पूजाले आफूजस्तै अन्यायमा परेकाहरुलाई न्याय दिने आफ्नो धोको रहेको बताएकी छन् ‘मजस्तै पीडित अरु हुन नपरोस् भन्ने मेरो चाहना हो,’ उनले भनिन्, ‘बुवालाई पनि न्याय दिलाउन सक्छु कि भन्ने आश छ । कानुन पढेर न्यायका लागि लड्छु ।’ घरका सदस्यहरुको अन्य विषय पढाउने इच्छा भए पनि आफूले कानुन विषय रोजेको उनले बताएकी छन् । ‘ममीलगायत घरका अन्य सदस्यहरुको साइन्स विषय पढाएर इन्जिनियरिङ क्षेत्रमा लगाउने सोच थियो,’ उनले भनिन्,‘मेरो ढिपीले गर्दा नै कानुन विषयमा आएको हुँ ।’ उनले कानुन विषय पढ्ने वातावरण बनाइदिने पत्रकार महासंघलाई धन्यवाद दिएकी छिन् ।
पूजालाई धनगढीको एक्सिस विद्याश्रमले निःशुल्क पढाउने भएको हो । यसमा पत्रकार महासंघले समन्यव गरेको हो । पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाहले एसइईपछि पूजाले कानुन पढ्ने चाहना राखेपछि एक्सिससँग समन्वय गरिएको बताए । एक्सिसकी प्रिन्सिपल अनिता पन्तले पूजालाई निःशुल्क पढाउने निर्णय गरेको बताउँदै भनिन्, ‘उनीबाट उत्कृष्ट नतिजाको अपेक्षा गरेका छौँ ।’ अभिभावकविहीन, विपन्न र जेहेनदारलाई निःशुल्क पढाउँदै आएको उनले बताइन् ।
सञ्चालक पन्तका अनुसार अहिले कानुन पढ्नेको संख्या बढेको छ । पन्तले भनिन्, ‘कानुन पढ्दा आत्मबल बढ्ने विश्वास विद्यार्थीमा छ ।’ पन्तले आफ्नै छोरीलाई पनि एक्सिसमा नै कानुन विषय पढाइरहेकी छन् । एक्सिसले नै धनगढीबाट झण्डै २० किलोमिटर टाढा रहेको जोशीको घर मालाखेतीबाटै ल्याउने र लैजाने व्यवस्था गर्ने भएको छ । पूजाले यसै वर्ष एसइई उत्तीर्ण गरेकी हुन् । अत्तरियास्थित एभरेस्ट बोर्डिङ स्कुलबाट उनले एसइई उत्तीर्ण गरेकी हुन् । त्यहाँ पनि उनले निःशुल्क अध्ययन गरेकी हुन् । पूजाले यसै वर्ष ३.५ जिपिए ल्याएर एसइई पास गरेकी हुन् ।
पत्रकार जोशीकी अर्की छोरी गीता जोशीलाई अत्तरियास्थित एभरेस्ट बोर्डिङ स्कुलले निःशुल्क पढाउने गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।