भारतीय फुटबल टोलीका कप्तान क्षेत्री भन्छन्– आमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्छ

नेपालसँग तय भएका दुई मैत्रीपूर्ण खेलका लागि भारतीय टोली आज नेपाल आइपुगेको छ । विमानस्थलमा ओर्लिएपछि भारतीय टोलीका कप्तान सुनील क्षेत्रीले नेपाली भाषामा नै सञ्चारमाध्यमलाई प्रतिक्रिया दिए । प्रतिक्रिया दिने क्रममा उनले हजुरबा, हजुरआमा, आमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउँदै नेपाली टोलीको खेललाई पनि प्रशंसा गरे । 

भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते प्रतिस्पर्धा गर्दै छ । बन्द रंगशालामा आयोजना हुने प्रतियोगितालाई नेपालले साफ तयारीको रुपमा हेरेको छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदै छ । नेपालले छिमेकी देश भारतसँग सन २०१८ को विश्वकप छनोटअन्तर्गत भएको खेलमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।

नेपालमा आइपुगेपछि सञ्चारकर्मीसँगको अन्तर्वार्ताको सम्पादित अंश यस्तो छ :

नेपालमा आएर मैत्रीपूर्ण खेल खेल्दै हुनुहुन्छ । साफ अगाडिको तयारी खेललाई कसरी लिनुभएको छ ?

नेपालमा आएर खेल्न पाउँदा खुसी छौँ । मैत्रीपूर्ण खेल खेल्न नेपालसँग त्यति सहज छैन । नेपालले निमन्त्रणा गरेकोमा धन्यवाद दिन चाहन्छु । यसको निकै महत्व छ । अहिले कोभिडका कारण अवस्था कठिन छ । यस्तो अवस्थमा पनि नेपालले राम्रो हस्पिटालिटी दिएर बोलाउनुभएकोमा धन्यवाद दिन चाहन्छौँ । मैत्रीपूर्ण खेल नेपालसँग खेल्न पाउँदा खुसी लागेको छ ।

नेपाली टोलीलाई कसरी हेर्नुहुन्छ ?



यस अघि पनि नेपालसँग खेलेका छौँ । नेपाल बलियो टोली र कठिन प्रतिद्वन्द्वी हो । पछिल्लो समय राम्रो नतिजा निकालेर राम्रो प्रदर्शन गरिरहेको छ । एएफसीमा आर्मीले राम्रो गरेको छ । नेपालले सधैँ राम्रो खेल्ने गर्छ । अहिलेको अवस्थामा नेपाली टोली बलियो रहेको छ । टोली फर्ममा छ । राम्रो गर्ने टोली छ ।

अहिलेको अवस्थामा कोरोना व्याप्त छ । कठिन अवस्थामा पनि भारतले साफ तयारीलाई कसरी अगाडि बढाएको छ ?



अहिले हाम्रो अवस्था निकै कठिन छ । कठिन तरिकाले हामी अगाडि बढिरहेका छौँ । किनभने भने हाम्रो लिग खतम भइसकेको छ । दुई क्लबले मात्र अभ्यास गरिरहेका छन् । साफका लागि खेलाडी पर्याप्त मात्रामा अभ्यासमा थिएनन् । दुई हप्तादेखि तयारी गरेका छौँ । सिनियर खेलाडी पनि कमै मात्र छन् । नेपालसँग हुने दुई मैत्रीपूर्ण खेल हाम्रो लागि निकै महत्वपूर्ण छन् । 

यी दुई खेलपछि हामी साफका लागि माल्दिभ्स जाने हो । अहिलेको अवस्थामा धेरै सिनियर खेलाडी एएफसी कपमा खेलेका छन् । दुईवटा क्लबका ८ खेलाडी माल्दिभ्समा खेलिरहेका छन् । जसका कारण हामी समयमा नै अभ्यास थाल्न सकेनौँ । जुनियर खेलाडी टोलीमा समावेश भएका छन् । उनीहरुको प्रदर्शनबाट कोच सन्तुष्ट छन् । राम्रो भन्दा राम्रो खेल्ने हाम्रो लक्ष्य छ । म पनि पछि मात्र टोलीमा आबद्ध भएको हुँ । कोचलाई मात्र थाहा छ, को खेलाडी खेलाउने को खेलाडीलाई नखेलाउने भन्ने ।

सुनील क्षेत्रका फ्यान नेपालमा पनि धेरै हुनुहुन्छ । नेपालमा खेल्दा कस्तो अनुभव हुन्छ ?

नेपालमा खेल्न पाउँदा मलाई निकै खुसी लाग्छ । एउटै भाषा छ । हजुरबा, हजुरआमा यहीँबाट हुनुहुन्थ्यो । ममी पनि यहीँबाट हुनुहुन्छ । यस्तो अवस्थामा पनि सबैजना सुरक्षित हुनुहुन्छ । सबै नेपालीलाई सुरक्षित भएर बस्न आग्रह गर्छु ।

  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार १९:४०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया