इजरायल जानेहरूको भाषा परीक्षा भदौ अन्तिम साता हुने भएको छ । इजरायलमा ‘केयरगिभर’ रोजगारीका लागि आवेदन दिई वैदेशिक रोजगार विभागबाट स्वीकृत भएकाहरूको भदौ २८ गते अंग्रेजी भाषाको लिखित परीक्षा हुने भएकाे हाे ।
विभागका निर्देशक डम्बरबहादुर सुनुवारले काठमाडौंका विभिन्न केन्द्रमा दिउँसो १ बजेदेखि परीक्षा हुने जानकारी दिए ।
केन्द्रका सम्बन्धमा परीक्षार्थीहरूको प्रवेशपत्र तथा विभागको वेवसाइट मार्फत जानकारी गराइने विभागले जनाएको छ । साथै, प्रवेशपत्र अनलाइनमार्फत उपलब्ध हुनेछ ।
भाषा परीक्षा तोकिएका विज्ञ व्यक्तिको सहयोगमा गरिनेछ । भाषा परीक्षापछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले प्रविष्ट गरिदिने व्यवस्था छ ।
सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसारभन्दा २५ प्रतिशत बढी उम्मेद्वारको नामवाली तयार गर्ने निर्देशक सुनुवारको भनाइ छ । सो नामावली विभागले इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबिए)लाई पठाई सोको विवरण विभागको वेवसाइटमा प्रकाशन गर्नेछ । विभागले पठाएको सूचीबाट इजरायलको पिआइबिएले छनोट गर्नेछ ।
पिआईबिएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ । रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन्। विभागले एक हजार चार सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ।
इजरायलले नेपालीहरूलाई विश्वास गरेर छनोटको अधिकार दिएकाले चुस्त र पारदर्शी तरिकाबाट छनोट प्रक्रिया अगाडि बढाउनु आवश्यक रहेकाले त्यसमा विशेष ध्यान पुर्याइएकाे बताइएको छ ।
इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नु पर्ने उल्लेख गरिएको छ। भिसा, टिकटलगायत खर्च करिब एक लाख ६५ हजार लाग्ने अनुमान विभागको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।