एक समय थियो, उनी ‘ग्रेटर नेपाल’ बोकेर देशको सीमाना खोज्दै हिँडे । ‘विशाल नेपाल’ बोकेर सीमानामा भौँतारिएका उनै मनोज पण्डित १५ वर्षपछि फेरि अर्को चलचित्र मार्फत मधेसको मुद्दा बोकेर आएका छन् । सोही चलचित्र ‘एक’को ट्रेलर रिलिज गरिएको छ ।
देशको सीमाना मिचियो भनेर सधै चिन्तामा रहने यी पात्रले चलचित्र ‘एक’मा मधेसलाई नेपालबाट अलग्याउने प्रयत्नका विरुद्ध एक देशभक्त ‘गुप्तचर’को संघर्षको कथा बुनेका छन् । यो चलचित्र डिजिटल प्लेटफर्ममा आगामी असोज २१ गते (घटस्थापना)का दिन प्रदर्शनमा आउने छ ।
‘मधेसको त्यो विखण्डनकारी राजनीतिले अंगाल्न खोजेको अस्थिर मनोविज्ञान तथा काठमाडौंले खेलिरहेको असंवेदनशील राजनैतिक खेलका कारण नेपाल कतै विखण्डनतिर जान्छ कि भन्ने चिन्ताले सताइरहन्थ्यो’, चलचित्र ‘एक’का लेखक तथा निर्देशक पण्डित भन्छन्, ‘यो सम्भावित खतराप्रति देशका जिम्मेवार निकायहरू गम्भीर हुनुपर्छ भनेर यो फिल्मको परिकल्पना गरिएको हो ।’
‘रअ’, ‘सिआइए’जस्ता अन्तर्राष्ट्रिय ख्याति प्राप्त गुप्तचर संस्थाहरूको बारेमा रोमाञ्चक किस्साहरू सुन्दै हुर्किएका पण्डितले नेपालको सुरक्षाका लागि ‘सेन्टर फर सेक्युरिटी इन्टिलिजेन्ट’ (सिएसआई)को परिकल्पना पनि यो फिल्ममा गरेका छन् । फिल्ममा सिएआई एउटा गुप्तचर संस्था हुन्छ ।
खासगरी स्वतन्त्र मधेसको राजनीतिक एजेन्डा देशका लागि निकै षड्यन्त्रमूलक भएको चित्रण यो फिल्ममा गरिएको छ । कलाकार प्रमोद अग्रहरीलाई स्वतन्त्र मधेसको राजनैतिक एजेन्डा बोकेको पात्रका रूपमा प्रस्तुत गरेको चलचित्र ‘एक’मा विशाल पोखरेल नेपालको गुप्तचर निकाय सिएसआईको गुप्तचर एजेन्टका भूमिकामा देखिएका छन् ।
यी दुई पात्रबीच मिसन केन्द्रित अन्तरसंघर्षको कथात्मक प्रस्तुती रहेको यो स्पाइ जेनरा एक्सन प्रधान फिल्ममा ज्योत्सना योगी महिला एजेन्टको भूमिकामा देखिएकी छन् ।
प्रमोद खड्काको एक्सन कोरियोग्राफी रहेको चलचित्र दीपक बज्राचार्यले छायांकन गरेका हुन् । सिनेमाको सम्पादन भरत रेग्मीले गरेका छन् ।
गोविन्द मधुर आचार्य, पुस्कर महतो र हरि लम्सालले चलचित्र ‘एक’मा संगीत भरेका छन् । सिनेमा फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता आत्मा गुरागाईं र सोफिया थापा हुन् ।
कोरोना महामारीका कारण थला परेको सिनेमा उद्योगको विकल्प खोज्दै डिजिटल प्लेटफर्ममार्फत यही असोज २१ गते घटस्थापनाका दिनदेखि सिनेमा घर एप, डिसहोमको च्यानल ५५५, नेट टिभी, म्याक्स टिभी, र भाइ नेट तथा ओहो मुभिजबाट प्रदर्शनमा आउने भएको छ।
यो चलचित्रमा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेललगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।