सफल कप्तानको छवि बनाएका पारसले १० वर्षे कप्तानीमा बेहोरेका चुनौती

पारसको १० वर्षे कप्तानीमा नेपाली क्रिकेटले नयाँ उचाइ लिएकोमा कसैको विमति नहोला । डिभिजन–५ मा अड्किएको नेपाली क्रिकेटलाई पारसले टी २० विश्वकप हुँदै एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउने अवस्थासम्म पुर्याए । राष्ट्रिय क्रिकेटमा उनले देखाएको खेल तथा उनको नेतृत्व क्षमता तारिफ योग्य रहेको धेरैको मत छ । 

पारसले हात पारेको सफलता अधिक हुँदाहुँदै पनि उनका केही कमजोरी तथा कहिलेकाहीँ विवादको सामना भने उनले गर्नु परिरह्यो । उनका राम्रा पक्ष उजागर हुँदै गर्दा केही कमजोरीहरू पनि बाहिर आएका थिए । 

उनको खेल जीवनमा सफल नेतृत्वकर्ताको ‘ट्याग’ जोडिँदै गर्दा उनले १० वर्षे कार्यकालमा सामना गरेका चुनौती पनि अगाडि आउँछन् । चुनौतीले नै उनलाई दरो गरी उभिन सिकायो ।

नेपाली क्रिकेटमा आएका हरेक उतारचढावलाई देखेका छन् पारसले । नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहँदासमेत कप्तानका साथै एउटा अभिभावकको रुपमा नेपाली क्रिकेटलाई सम्हालेका हुन्, उनले ।

१० वर्षे उपलब्धि

२००४ बाट नेपाली क्रिकेटमा पाइला अघि सारेका पारसले २००९ बाट सिनियर टोलीको कप्तानी सम्हालेका थिए । २००९ देखि २०१९ सम्म कप्तान भएर नेपाली क्रिकेटको बागडोर सम्हाल्दै गर्दा उनले धेरै उतारचढाव देखे । 



नेपाली क्रिकेटरले प्यासनको रुपमा खेल्दै गरेको क्रिकेटबाट व्यावसायिकतातर्फ डोर्याउने कप्तान बने उनी । उनले नेपाली क्रिकेट निलम्बनको बेला धेरै महत्वपूर्ण भूमिका निर्वाह गरे । त्यसबेला उनले खेलाडी र नेपाली क्रिकेटलाई जोगाएका थिए । पारसले त्रिवि क्रिकेट मैदानमा अन्तरमहादेशीय कपमा मलेसियाविरुद्ध खेल्दै सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

डेब्यु खेलमा पारसले ४४ रन र एक विकेट लिएका थिए । जुन खेल नेपालले ९ विकेटले जितेको थियो । नेपालको पहिलो प्रथम श्रेणीको जित पनि त्यही थियो । उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएका पारसले सन् २००७ मा कुवेतमा भएको एसिसी टी २० कपमा सिनियर टिमको उपकप्तानीको जिम्मेवारी प्राप्त गरे ।



त्यसको दुई वर्षपछि २००९ मा तत्कालीन कप्तान विनोद दासलाई विस्थापित गर्दै पारस राष्ट्रिय टिमको कप्तान चुनिए । त्यसयता उनी नेपाली क्रिकेटका सर्वाधिक सफल र लोकप्रिय कप्तान बने ।

उनी कप्तान भएलगत्तै नेपाल सन् २०१० मा घरेलु मैदानमा भएको डिभिजन–५ को च्याम्पियन बन्यो । सन् २०१२ मा मलेसियामा भएको डिभिजन–४ को उपाधि हात पार्दा पारस नायक रहे । सोही वर्ष भएको एसिसी ट्रफी इलाइटको उपाधि नेपाललाई जिताउन पारसले शानदार प्रदर्शन गरेका थिए । उनी ‘प्लेयर अफ द सिरिज’ घोषित भए ।

एसिसी ट्रफी इलाइटमा कुवेतविरुद्ध शतक प्रहार गरेका पारस नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने छैटौं खेलाडी बने । उनले ७७ बलमा अविजित रहँदै १ सय ६ रन प्रहार गरेका थिए ।

पारसको कप्तानीमा नेपालले सन् २०१३ मा बर्मुडा र सन् २०१४ मा मलेसियामा भएको डिभिजन–३ को उपाधि उचाल्न सफल भएको थियो । सन् २०१३ को डिभिजन–३ जितेसँगै नेपालले सन् २०१४ एकदिवसीय विश्वकप छनोटमा सहभागी भयो ।

पारसको कप्तानीमा नेपाल सन् २०१४ को विश्व टी २० मा छनोट भयो । बंगलादेशमा भएको टी २० विश्वकपमा सहभागिता जनाउँदै नेपाल इतिहास रच्न सफल भयो । हङकङविरुद्ध पहिलो बलमा पारसले विकेट हात पारेका थिए । उनी टी २० अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलको पहिलो बलमा विकेट हात पार्ने विश्वका १० औं खेलाडी हुन् । 

तीन खेलमध्ये २ मा जित हात पारेको नेपाल नेट रनरेटको आधारमा अघिल्लो चरणमा भने पुग्न सकेन । उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट जगत्ले खुलेर प्रशंसा गरेको थियो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेको अहिलेसम्मकै ठूलो प्रतियोगिता त्यही हो । विश्व क्रिकेटको लोकप्रिय वेबसाइट क्रिकइन्फोले विश्वकपमा पारसलाई नेपालका कपिल देव भनेर सम्बोधनसमेत गर्न भ्याएको थियो । 

सन् २०१५ को डिभिजन–२ मा कप्तान पारसले ६ इनिङमा १ सय ८५ रन बनाउँदै ६ विकेट हात पारेका थिए । सो प्रतियोगिताबाट नेपाल सन् २०१५ देखि २०१७ सम्म हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा छनोट भएको थियो ।

विश्व क्रिकेट लिग ९सन् २००८ देखि २०१५० अन्तर्गत पारसले १ हजार १ सय ५७ रन बनाएका छन् । जसमा ७ अर्धशतक रहेका छन् । सन् २०१८ मा पारसको नेतृत्वमा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्यो । विश्वकप छनोट हुन नसके पनि नेपालले पारसको नेतृत्वमा ऐतिहासिक एकदिवसीय मान्यता प्राप्त गरेको थियो ।  जिम्बाब्वेमा भएको उक्त खेल नेपाली राष्ट्रिय टोलीको लागि महत्वपूर्ण दिन साबित भयो । 

उनले व्यक्तिगत रुपमा अन्तर्राष्ट्रिय क्रिकेटमा केही कीर्तिमानसमेत बनाउन भ्याए । नेपाललाई टी २० र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउने पारस पहिलो कप्तान बने । नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो र एकमात्र खेलाडी उनै हुन् । उनले युएई विरुद्धको खेलमा १ सय १५ रन प्रहार गर्दै कीर्तिमान बनाएका थिए ।

यस्तै पारस टी २० अन्तर्राष्ट्रियमा क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी तथा कप्तान हुन् । उनले सिंगापुर विरुद्ध ५२ बलमा अविजित १ सय ६ रनको इनिङ्स खेल्दै कीर्तिमान बनाएका थिए । उनले नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्ने कीर्तिमान समेत बनाएका हुन् । 
राष्ट्रिय टिमका नियमित सदस्य पारसले गत वर्ष असोजबाट कप्तानी छाडेका हुन् । उनले कप्तानी छाडेपछि नेपाली टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गरिरहेका छन् ।

उपलब्धिसँगै जोडिएका चुनौती

सन् २००९ देखि कप्तान बनेका पारसले १० वर्ष लामो कप्तानको जिम्मेवारी सम्हाल्दै गर्दा उनको बाटोमा अनेक बाधाव्यवधान नआएको भने होइन । उनको बाटोमा सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको थियो– नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन । 

सन् २०१४ को टी २० विश्वकप खेलेर फर्किएपछि पनि पारसलगायतका खेलाडीहरूले नेपाल क्यानले काम गर्न नसकेको भन्दै विरोध गरेका थिए । खेलबाट फर्किनासाथ २०१४ मा क्यानमा अनियमितता भएको भन्दै कप्तान पारससहित अन्य खेलाडीले क्यानमाथि मुद्दा दायर गरेका थिए ।

क्यानको व्यवस्थापन अपारदर्शी भएका कारण खेलाडीले उजुरी गरेपछि  क्यानका १० पदाधिकारीविरुद्ध मुद्दा चल्यो । मुद्दा २०७६ मा सकियो । मुद्दा सकिँदा यी सम्पूर्ण पदाधिकारीले सफाइ पाए । तिनै पदाधिकारीहरु पुनः चुनाव जितेर क्यानको जिम्मेवारी सम्हाल्न आए । उनीहरुले उन्मुक्ति पाउने निर्णयमा असुन्तुष्ट भएकै कारण सायद पारसले कप्तानबाट राजीनामा दिए । क्यानको निलम्बन फुकुवा भएको २४ घण्टा नबित्दै पारसले राजीनामा दिएका थिए । आइसिसीले निलम्बन फुकुवा गर्ने समय क्यानलाई चेतावनीसमेत दिएको थियो । 

बेथितिका कारण क्यान साढे तीन वर्ष निलम्बनमा रहनु प¥यो । यसले गर्दा क्यानले कुनै पनि घरेलु प्रतियोगिता गर्न पाएन । जसका कारण नेपालको घरेलु क्रिकेटमा साढे तीन वर्ष खडेरी नै लाग्यो । घरेलु प्रतियोगिता नभएपछि पारसको कार्यकालको उक्त समय क्रिकेटका हरेक गतिविधिका लागि आइसिसीको मुख ताक्नुपर्ने बाध्यता आयो । यो समय पारसले आइसिसीमा ताकेता त गरे नै साथै खेलाडीहरुलाई हौसला दिइरहने काम पनि उनले गरेका थिए ।                     

  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १६:४८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया