तालिबानप्रतिको धारणाका कारण शाहिद अफ्रिदी विवादमा
फरकधार / १५ भदौ, २०७८

पाकिस्तान क्रिकेट टोलीका पूर्वकप्तान शाहिद अफ्रिदी बेला–बेलामा चर्चामा आइरहन्छन् । यतिबेला अफ्रिदीको एउटा भिडियोले सामाजिक सञ्जालमा निकै चर्चा कमाइरहेको छ । 



यो भिडियोमा उनले तालिबानको खुलेर प्रशंसा गरेका छन् जसका कारण उनले निकै गाली खानुपरेको छ । धेरै समर्थकले अफ्रिदीलाई गाली गर्दै यो भिडियो सेयर गरेका छन् ।

अफ्रिदीले भनेका छन्, ‘अफगानिस्तानमा तालिबान फर्किएको छ, तर पूरै नयाँ भएर । उसमा निकै परिवर्तन आएको छ, जुन हामीले पहिला देखेका थिएनौँ ।  महिलालाई काम गर्न र राजनीतिमा आउन अनुमति दिइएको छ ।’



‘तालिबानले क्रिकेटलाई समर्थन गरिरहेका छन्,’ अफ्रिदी थप्छन्, ‘श्रीलंकाको हालतका कारण यसपटक सिरिज हुन सकेन, तर म बुझ्छु कि क्रिकेटप्रति उनीहरुको विशेष लगाव छ, त्यसैले उनीहरुबाट यसमा कुनै खतरा छैन ।’  



यो भिडियो सर्वप्रथम पाकिस्तानी पत्रकार नाइला इनायतले ट्विट गरेकी थिइन् । उनले लेखेकी छन्, ‘अफ्रिदी तालिबानको आगामी प्रधानमन्त्री हुनुपर्छ ।’

‘तालिबानले बुझिसकेका छन् कि महिला विनासमाज चल्न सक्दैन । उनीहरु शान्तिको कुरा गरिरहेका छन्,’ भिडियो भाइरल बनेपछि अफ्रिदीले आफ्नो बचाउ गर्दै बिबिसीसँगको कुराकानीमा भनेका छन्, ‘मलाई लाग्छ कि उनीहरु पहिलाको भन्दै निकै परिवर्तन भएका छन् । उनीहरु बदलाको भावना त्यागेर शान्तिपूर्ण वार्ता चाहन्छन् ।’

यसपटक उनीहरुले महिलालाई शिक्षा र रोजगारीको अवसर प्रदान गर्ने कुरा गरिरहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘महिला शिक्षित भए समाज पनि शिक्षित हुन्छ भन्ने उनीहरुले बुझेका छन् । जुन पहिला कहिल्यै देखिएको थिएन ।’ 

यद्यपि, पुरानो छविका कारण तालिबानप्रतिको डर अझै पनि कायम रहेको भन्दै अफ्रिदीले थपे, ‘आशा छ, तालिबानको आगमनसँगै शान्ति आउनेछ र स्थिति सामान्य बन्नेछ ।’

  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १७:३०:११,   अन्तिम अपडेट : भदौ १५, २०७८ मंगलबार १७:३१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया