हालै सोसल मिडियामा पोस्ट गरिएको एक भिडियोमा तालिबान लडाकु कन्धार विमानस्थलमा रहेको अमेरिकी ‘ब्ल्याक हक’ हेलिकप्टर हेरिरहेका थिए । चार ब्लेडयुक्त बहुउद्देश्यीय उक्त हेलिकप्टर विमानस्थलमा विस्तारै घुमिरहेको थियो । त्यो भिडियोले संसारलाई एक सन्देश दियो- तालिबान अब त्यस्तो समूह रहेन, जो पुराना पिकअप ट्रकमा कलानिस्कोभ असल्ट राइफल लिएर घुमिरहन्थ्यो ।
अगस्ट १५ मा काबुल नियन्त्रणपछि अन्य स्थानमा तालिबान लडाकुहरू अमेरिकी हतियार र वाहनसहित देखा परे । सोसल मिडियामा पोस्ट भएको उक्त भिडियोमा तालिबानका केही लडाकु पूर्ण रूपमा लडाकु पोशाकमा थिए र ती संसारका अन्य विशेष बलभन्दा फरक थिएनन् ।
उनीहरूको पहिचान बनेको लामो दाह्री ती लडाकुले पालेका थिएनन् र पारम्परिक ढंगको सलवार-कमिज पनि तिनले लगाएका थिएनन् । निश्चित रूपमा उनीहरूसँग युद्धमा खोसिएको हतियार पनि थिएन । उनीहरू सैनिक पोशाकमा थिए ।
अफगान नेसनल डिफेन्स एन्ड सेक्युरिटी फोर्सेज (एन्ड्स)का सैनिक एकएक गरेर सबै सहर छाड्न थालेपछि लडाकुले तिनका हतियार जफत गरेका थिए । सोसल मिडियामा केही मानिसले त अब तालिबान वायुसेना सम्पन्न संसारकै एकमात्र चरमपन्थी समूह बनेको बताएका छन् ।
कति विमान छ तालिबानसँग ?
अफगानिस्तान पुनःनिर्माणका अमेरिकी विशेष महानिरीक्षक (सिगार)को एक रिपोर्ट अनुसार, जुन महिनाको अन्त्यसम्ममा अफगान वायुसेनासँग लडाकु हेलिकप्टर र विमान गरेर कुल १६७ एयरक्राफ्ट थिए । के भन्न सकिन्न भने, तालिबानले तीमध्ये कति आफ्नो नियन्त्रणमा लिए । प्लानेट ल्याबबाट बिबिसीले पाएको कन्धार विमानस्थलको स्याटलाइट इमेजमा कयौं अफगान सैनिक रनवेमा उभिएका देखिन्थे ।
दिल्लीस्थित अब्जर्भर रिसर्च फाउन्डेसनका सैन्य उड्डयन विशेषज्ञ अंगद सिंहले कन्धार तालिबानले कब्जा गरेको ६ दिनपछिको एक तस्बिरमा पाँच विमान देखिएको थियो । यीमध्ये कम्तीमा दुई एमआई-१७ हेलिकप्टर, दुई ब्ल्याक हक (युएच-६०) र तेस्रो हेलिकप्पटर (युएच-६० पनि हुन सक्ने) थियो । उता, जुलाई १६ मा लिइएको एक अर्को स्याटलाइट इमेजमा १६ एयरक्राफ्ट देखिएको थियो । यीमध्ये ९ ब्ल्याक हक र दुई एमआई-१७ र पाँच फिक्स्ट विङ विमान छन् । यसको अर्थ, यीमध्ये केही विमान देशबाहिर या अर्कैै एयरबेसमा लगिएको छ ।
तालिबानले हेरात, खोस्त, कुन्दुज र मजार-ए-सरिफसमेत बाँकी नौ अफगान एयरबेस पनि कब्जा गरेका छन् । यद्यपि, त्यहाँबाट तालिबानले कतिवटा एयरक्राफ्ट जफत गरे भन्न सकिन्न । किनकि, ती विमानस्थलका स्याटलाइट इमेल उपलब्ध छैन ।
तालिबान लडाकु र अफगानिस्तानका मिडियाले यी विमानस्थलमा जफत गरिएका विमानहरू र मानवरहित ड्रोनको तस्बिर पोस्ट गरिरहेका छन् । केही स्वतन्त्र वेबसाइटले पनि केही एयरक्राफ्ट त्यहाँ देखेको बताएका छन् । आशंकाचाहिँ के गरिन्छ भने, तालिबानले जफत गर्नुअघि नै कतिपय विमान अफगानिस्तानबाहिर लगिसकिएको थियो । सेक्युरिटी थिंक-ट्यांक ‘सिएसआइएस’का जानकारहरू यी विमान र हेलिकप्टर अफगान वायुसेनाको हुन सक्ने बताउँछन् ।
तालिबानसँग अरू कुनकुन हतियार होला ?
तालिबानसँग अत्याधुनिक बन्दुक, राइफल र सवारी सम्हाल्ने अनुभव रहेको विशेषज्ञहरू बताउँछन् । अफगानिस्तानमा यस्ता धेरै मानिस रहेको उनीहरूको भनाइ छ ।
अमेरिकी सरकारको एकाउन्टेबिलिटी रिपोर्ट अनुसार, २००३ देखि २०१६ का बीच अमेरिकाले अफगान सेनालाई ठूलो मात्रामा सैन्य उपकरण दिए । विभिन्न प्रकारका ३,५८,५३० राइफल्स, ६४,००० भन्दा बढी मेसिनगन, २५,३२७ ग्रेनेड लन्चर र २२,१७४ हमवी (कुनै पनि सतहमा चल्ने सवारी) अमेरिकाले दिएको थियो ।
२०१४ मा नेटो सैनिकको युद्धको भूमिका समाप्त भएपछि अफगान सेनालाई देशको रक्षा गर्ने काम सुम्पिएको थियो । तर, तिनलाई तालिबानसँग मुकाबिला गर्न कठिनाइ भइरहेको थियो । त्यसपछि अमेरिकाले थप उपकरण दिएर बलियो बनाइदिएको थियो ।
२०१७ मा अमेरिकाले अफगान सेनालाई करिब २० हजार एम-१६ राइफल दिएको थियो । सिगारका अनुसार, अमेरिकाले २०१७ र २०२१ का बीच अफगान सुरक्षा बललाई कम्तीमा ३,५९८ एम-४ राइफल र ३,०१२ हमवी दियो ।
अब तालिबानले हतियार के गर्ला ?
यो कुरा सामानहरूमा निर्भर गर्छ । सिएनए कन्सल्टिङ ग्रुपका निर्देशक तथा अफगानिस्तानमा अमेरिकी बलका पूर्वसल्लाहकार डा. जोनाथन स्रोडेन भन्छन्, ‘तालिबानलाई एयरक्राफ्ट समाउन सहज त होला, तर त्यसलाई चलाउन र राख्न निकै कठिनाइ हुने छ । यसका पुर्जाहरू सर्भिसिङ गर्न र परिवर्तन गर्नु आवश्यक हुन सक्छ । कुनै पनि वायुसेनाको शक्ति तिनको हरेक एयरक्राफ्टको उडान क्षमता कायम राख्नका लागि काम गर्ने प्राविधिक टोलीमा निर्भर गर्छ ।’
अधिकांश विमान निजी क्षेत्रका निर्माताले बनाएका हुन् । कतिपय विशेषज्ञ तालिबानसँग यी विमान सम्हाल्ने कुशलता नभएको बताउँछन् । तालिबानले रुसमा बनेको एमआई-१७ चलाउन सक्ने सम्भावना रहेको बताइन्छ, किनकि ती एयरक्राफ्ट दशकौंदेखि अफगानिस्तानमा छन् ।
तालिबानले अन्य देशका मानिससँग उडाउन तालिम लिन सक्ने सम्भावना पनि उत्तिकै छ । जफत गरेका अन्य हतियार सम्हाल्न तालिबानलाई कुनै अप्ठेरो पर्ने छैन । साथै, जमिनको सतहबाट चलाउने उपकरण प्रयोग गर्न पनि तालिबानलाई गाह्रो पर्ने छैन । जफत गरिएका हतियारसँग यतिका वर्षसम्म तालिबान परिचित भइसकेको हुन सक्छन् ।
वासिङ्टनमा विल्सन सेन्टरका उपनिर्देशक माइकल कुगेलम्यान भन्छन्, ‘तालिबानसम्म यी आधुनिक हतियार पुग्नु ठूलो असफलता हो ।’ यसको नराम्रो असर केवल अफगानिस्तानमा मात्र नपर्ने उनको भनाइ छ । साना हतियार कालोबजारी हुन सक्ने र संसारभा विद्रोहलाई बल पुग्ने आशंका गर्न सकिन्छ । यसलाई रोक्नका लागि पाकिस्तान चीन र रुसजस्ता देशले पहल गर्नुपर्ने मत राख्ने विश्लेृषक पनि थुप्रै छन् । उनीहरू यसको असर स्वरूप केही महिनामा सप्लाई चेन देखिन सक्ने बताउँछन् ।
सम्भावना के पनि छ भने, तालिबानसँग फुटेर अलग भएका समूहले पनि हतियार लिएर जान सक्छन् । अफगानिस्तान कब्जा गर्न सुरु गर्ने समयमा तालिबानमा रहेको उत्साह विस्तारै शान्त हुँदै जाँदा तिनले आफ्नो समूहलाई एकजुट कसरी गर्न सक्लान् भन्ने कुरामा पनि धेरै कुरा निर्भर रहन्छ ।
(बिबिसी)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।