लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले आफ्नो पार्टी देशमा वैकल्पिक लोकतान्त्रिक शक्तिको रुपमा स्थापित हुने दावी गरेका छन् ।
शोषित, पीडित र उपेक्षित जनताको प्रतिनिधित्व गर्नका लागि लोसपाको जन्म भएको उनले बताए ।
‘धेरै सांसदहरु हाम्रो सम्पर्कमा आइसक्नु भएको छ र आजदेखि प्रारम्भ भएको सनाखत प्रक्रिया २२ गतेसम्म चल्ने भएकोले हामीलाई पूरा विश्वास छ कि प्रदेश नम्बर २ को मूल पार्टी लोकतान्त्रिक समाजवादी पार्टी बन्ने छ,’ सोनलले दाबी गरे ।
जसपाबाट कति संख्यामा लोसपातर्फ सांसदहरु आउँछन् भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘२२ गतेसम्म पर्खौं, अधिकतम संख्या लोसपामा हुन्छ । हाम्रो संख्या पक्का बढ्ने छ ।’
तराई मधेशमा दुई वटा धार देखिएको उनले बताए । शोषित, पीडित र उपेक्षित जनताको प्रतिनिधित्व लोकतान्त्रिक मूल्य मान्यताबाट गर्ने कि कम्युनिष्ट धारबाट गर्ने भन्ने दुई थरी धारको बिच यो पार्टी देशमा वैकल्पिक लोकतान्त्रिक राजनीतिक शक्तिको रुपमा स्थापित हुने सोनलले बताए ।
‘जब जब लोकतन्त्र बलियो हुन्छ, तब तब मात्र निमुखाहरुको आवाज बुलन्द हुन्छ । तसर्थ तराई मधेशमा लोकतान्त्रिक मूल्य मान्यताका साथ आफ्ना आवाज, मुद्दा तथा मागहरुलाई अगाडि बढाउनका लागि एउटा परिपक्व राजनीतिक व्यक्तित्व महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी नै मूल पार्टी हुन्छ,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।