नेपाल भर्सेस भारतः फुटबल मैदानमा कस्तो होला बिहीबारको खेल ?

बिहीबार नेपाली फुटबल प्रेमीका लागि एउटा विशेष दिन हुनेछ । नेपालले भारतसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दैछ । अनि यी दुवै टोलीले एक अर्कालाई कडा प्रतिस्पर्धीका रुपमा लिएका छन् ।

त्यसैले पनि नेपाल र भारतबीचको खेलको प्रतीक्षामा हजारौँ नेपाली फुटबलका फ्यान प्रतीक्षा गरिरहेका छन् ।

अर्कोतिर नेपाल र भारतका फुटबल टोलीले एकअर्कासँग फुटबलको मैदानमा प्रतिस्पर्धा नगरेको अब चार वर्षभन्दा बढी भइसकेको छ । यसअघि सन् २०१७ मा एकअर्काको सामना गरेका यी दुई टोली अहिलेसम्म १९ पटक मैदानमा उत्रिएका छन् । तर, यीमध्ये अधिकांश खेल भारतले आफ्नो नाममा दर्ज गरेको छ । १३ खेलमा भारतले जित निकाल्दा नेपालले २ खेलमा मात्र आफ्नो नाम लेखाएको छ । अनि ४ खेल बराबरीमा टुंगिएका छन् ।

यसपटक नेपाली खेलको विशेष प्रतीक्षा किन पनि छ भने ‘जोशिला’ प्रशीक्षक अब्दुल्लाह अल्मुताइरीले यसलाई जित्नका लागि खेलिने खेलको संज्ञा दिएका छन् । उनले बुधबार भएको प्रिम्याच कन्फ्रेन्समा पनि आफ्नो कन्फिडेन्स यसरी नै देखाएका छन्, मानौँ नेपालले मैदानमा उत्रिएसँगै भारतलाई सहजै पराजित गर्न सक्छ ।

‘हो, भारत बलियो प्रतिस्पर्धी त हो,’ उनले आजको पत्रकार सम्मेलनमा भने, ‘तर, हामीले यो खेल बराबरीका लागि वा हार्नका लागि खेल्न लागेको होइन, जित्नका लागि हो ।’

नेपाललाई आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग यो खेल जित्नैपर्ने दबाब पनि नभएको होइन । नेपालले यो खेल किन पनि जित्नुपर्छ भने यसले फिफा वरीयतामा नेपालको र्‍याङ्क केही हदसम्म सुधार हुन्छ ।



यो विषयमा पनि आजको पत्रकार सम्मेलनमा अल्मुताइरीले बोलेका थिए– यसले हाम्रो स्थानलाई ७ देखि १० स्थान सुधार गर्नेछ ।

त्यति मात्र होइन, आजको पत्रकार सम्मेलनमा अल्मुताइरीले भने– हामी वीर गोर्खाली हौँ, हिजोको कुरा हेर्ने होइन, रिजल्टका लागि हामी खेल्ने हो ।



भारतसँग हुने दुवै खेल जित्नै पर्ने दबाबमा आफूहरु रहेको उनको आजको पत्रकार सम्मेलनको भावबाट स्पष्ट हुन्थ्यो ।

अर्कोतिर बोनस पोइन्ट नेपाली टोलीलाई के भएको छ भने भारतले नेपाललाई आफूहरुले कमजोर नआँकेको अभिव्यक्ति दिइरहेको छ । आजैको पत्रकार सम्मेलनमा भारतीय प्रशिक्षक इगोर स्टिमाच र भारतीय कप्तान सुनील क्षेत्रीले पनि आफूहरुले नेपाली टिमलाई कमजोर टिमका रुपमा नलिएको बताएका छन् ।

त्यसो त यसअघि त्रिभुवन विमानस्थलमा आएलगत्तै पनि भारतीय कप्तान क्षेत्रीले आफू हजुरआमाको देशमा खेल्न आएको र नेपालसँगको खेललाई कमजोर नसोचेको बताएका थिए ।

‘नेपालसँगको खेल सहज छैन,’ उनले आजको पत्रकार सम्मेलनमा पनि भने, ‘त्यसमाथि नेपालले अहिले घरेलू मैदानमा खेल्दैछ, उसले घरेलू मैदानमा खेल्दाको फाइदा पनि उठाउनेछ ।’

अनि नेपाली खेलाडीमा विशेष उत्साह रहेको पनि आजको पत्रकार सम्मेलनमा नेपाली फुटबलका कप्तान किरण चेम्जोङको धारणाबाट प्रष्ट हुन्थ्यो । 


  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १८:१९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया