मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फातिमा जे सुमार नेपाल आउने भएकी छिन् । उनी आगामि साता नेपाल आउने बताइएको छ ।
उनीसँगै एमसिसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आउने भएका छन् ।
यी दुईले नेपाल बसाइमा शीर्ष नेताहरुसँग भेट्ने भएका छन् । उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्षहरु उपेन्द्र यादव र डा. बाबुराम भट्टराई र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
नेपालमा एमसिसी अनुमोदन गर्न संसदमा ढिलाइ भइरहेको समयमा उपाध्यक्ष सुमारको यो भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।
एमसिसी सम्झौता नेपालले २०७४ सालमा नै गरे पनि यो अहिलेसम्म संसदबाट अनुमोदन भएर कार्यान्वयन हुन सकेको छैन । २०७४ साल भदौ २९ मा सम्झौता भएअनुसार नेपालले अमेरिकाबाट ऊर्जा र सडक पूर्वाधार निर्माण गर्न ५ सय मिलियन अमेरिकी डलर अनुदान पाउने छ ।
तर, अहिलेसम्म यो कार्यान्वयन हुन सकेको छैन ।
सरकारको नेतृत्वमा आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई छिटो अनुमोदन गर्न चाहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।