हल खुले, छैनन् सिनेमा

कोरोना कहरका कारण बन्द भएका सिनेमा हल आजबाट खुल्ने भएका छन् । काठमाडौं उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीको हिजो बसेको बैठकले हल सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

हल सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गर्नु पर्ने छ । हल सञ्चालकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरे नगरेको प्रशासनले अनुगमन गर्ने छ ।

पहिलो चरणको कोरोनाका कारण बन्द भएका हल सञ्चालनको चरणमा थिए । दोस्रो लहरको कोरोना फैलिएपछि गत बैशाखबाट हलहरू पुनः बन्द भएका थिए । बन्द भएको ४ महिनामा प्रशासनले हल खोल्ने निर्णय गरेको हो ।

हल सञ्चालन गर्ने अनुमति पाए पनि रिलिज गर्ने चलचित्र भने छैनन् । सिनेमा घर खोल्ने पूर्व जानकारी नभएका कारण कुनै पनि निर्माता निर्देशकले आफ्ना चलचित्रको प्रचार गरेका छैनन् । चलचित्रको आवश्यक प्रचार नगरेका कारण निर्माता निर्देशक चलचित्र रिलिजको मुडमा छैनन् ।

पब्लिसिटीका कारण तत्काल नयाँ नेपाली चलचित्र प्रदर्शनको सम्भावना नभएको चलचित्र वितरक प्रचण्डमान श्रेष्ठ बताउँछन् । हिन्दी र अंग्रेजी चलचित्र प्रदर्शन गर्न सकिने भए पनि नयाँ नेपाली सिनेमा हलमा लगाउन झण्डै १ महिना समय कुर्नु पर्ने श्रेष्ठको भनाइ छ । निर्णय गर्नुभन्दा पहिला समयमै जानकारी नपाउँदा तत्काल नेपाली सिनेमा प्रदर्शन गर्न नपाए पनि बिस्तारै चलचित्र उद्योग चलायमान हुँदै जानेमा श्रेष्ठ आशावादी छन् ।

दुई लहरको कोरोनाका कारण झण्डै १७ महिना सिनेमा हल बन्द भए । यो बीचमा केही सिनेमा हल भत्काइएको छ भने केही सधैंका लागि बन्द भइसकेका छन् । कोराना महामारीअघि देशभर १९३ हल सञ्चालनमा थिए । तीमध्ये २८ सिनेमा हल बन्द भइसकेका छन् । कोरोनाका कारण निर्माण पूरा भएर ६४ चलचित्र रिलिजको पर्खाइमा बसिरहेका छन् ।



 



  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार १३:२८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया