फिट देखिने युवालाई पनि किन हुन्छ हार्टएट्याक, कसरी बच्ने ?
फरकधार / १७ भदौ, २०७८
भारतीय कलाकार सिद्धार्थ शुक्लाकाे बिहीबार हृदयघातका कारण निधन भयाे ।

बलिउड अभिनेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन भयो भन्दा सुरुमा विश्वास गर्नेहरु नेपाली समाजमा पनि कमै होलान् । नेपालमा पनि खुबै रुचाइने टिभी रियालिटी सो बिग बोस १३ मा जित दर्ज गरेपछि सिद्धार्थबारे पनि नेपालमा चासो राख्नेहरु निकै छन् ।



त्यसैले बिहीबार विहान सिद्धार्थको निधन भएको समाचार आउँदा नेपालमा पनि उनलाई सामाजिक सन्जालमा फलो गर्नेहरु आश्चर्यमा परे । झन् ठूलो अविश्वास त के भयो भने सिद्धार्थको निधन हृदयघातका कारण भएको हो । 

४० वर्षको उमेर । फिट शरीर । सुख र खुसीको जीवन । पारिवारिक सौहार्दता । सिद्धार्थको जीवनमा खुसी नभएको कुरा के थियो होला र ?

तर, उनलाई हृदयाघात भयो, हृदयघातका कारण उनको निधन भयो । त्यसैले पनि यो समाचार जसले सुन्यो, उसले पक्कै पनि सुरुमा अचम्म मान्यो होला ।



शारीरिक सुगठनमा पनि निकै चासो राख्ने भएकाले सिद्धार्थको मृत्युपछि युवाहरुले एउटा प्रश्नमा पनि उठाउन थालेका छन्– कम उमेरका तर फिट युवाहरुमा पनि किन र कसरी हुन्छ हृदयाघात ?

पछिल्लो समय एशियाली देशहरुमा युवा उमेरमा नै हृदयघातका घटनाहरु बढिरहेका छन् । युरोपेली र अमेरिकी देशभन्दा नेपालका युवाहरुमा ८ देखि १० वर्षको कम उमेरमा नै हृदयाघात हुनसक्ने विभिन्न अध्ययनले देखाएका छन् ।

भारतमा मुटु रोगका लागि सबैभन्दा राम्रोमध्ये पर्ने मेदान्त अस्पतालका कार्डियोलोजी विभागका प्रमुख डा. प्रवीण चन्द्राले यस विषयमा भारतीय मिडियाहरुसँग कुरा पनि गरेका छन् । उनका अनुसार भारतमा पनि पछिल्लो समय युवाहरुमा हृदयघातको समस्या केही वर्ष यता बढ्न थालेको छ ।

हाम्रो मुटुमा रगतको सप्लाइ तीन तर्फबाट हुने गर्छ । शरीरमा कोलेस्ट्रोल बढ्दा मुटुसम्म रगत पुर्याउने वा मुटुबाट रगत लैजान रक्तनलीहरुमा ब्लकेज आउन सुरु गर्छ । ४० प्रतिशतसम्म यो रोकावट खासमा ठूलो समस्या हुँदैन । तर, जब कोलेस्ट्रोरेलका कारण हाम्रा रक्तनलीहरु ७० प्रतिशतभन्दा बढी अवरुद्ध हुन्छन्, यसले हाम्रो मुटुको काम गर्ने क्षमतामा ह्रास ल्याउँछ ।

यस्तो भएको खण्डमा हाम्रो मुटुको धड्कन कम हुनसक्छ र रगतको सप्लाइ पनि बन्द हुनसक्छ । यसका कारण हृदयाघात हुन्छ ।

हृदयघातका समस्या प्रमुख कारक चाहिँ कोलेस्ट्रोल बढ्नु नै हो । यसका लागि चाहिँ डायबेटिज, हाइपरटेन्सन, मोटोपना, धेरै खानु, चुरोटको सेवनलगायतका कारण प्रमुख मानिन्छन् ।

कतिपय सन्दर्भमा यो वंशानुगत पनि हुने मानिन्छ । 

यसका साथसाथै फोक्सोमा रगत जम्दा, मस्तिष्कघात हुँदा, विभिन्न औषधीको सेवन वा लागुऔषधको सेवन तथा भाइरल इन्फेक्सनका कारण पनि वा मुटुसम्बन्धी कुनै रोग हुँदा पनि हृदयघातकाे सम्भावना बढ्छ ।

मुटुको बिमारीका कारण विश्वभर १.७ करोड मानिसको मृत्यु प्रत्येक वर्ष हुने गरेको छ । भारतमा झन्डै ३० लाख मानिसहरुले प्रत्येक वर्ष मुटुसँग सम्बन्धित रोगका कारण अस्पताल पुगेका हुन्छन् । नेपालमा पनि वर्षेनी यो रोगका कारण अस्पताल पुग्ने मानिसको संख्या बढिरहेको छ ।

पछिल्ला वर्षमा नेपालमा पनि युवाअवस्थामा नै मधुमेहको समस्या हुनेहरुको संख्या बढ्दो छ । कयौँ सन्दर्भमा के देखिएको पनि छ भने कुनै लक्षण नदेखिइ हृदयघात हुनसक्छ । र, हृदयघात भएको व्यक्तिको अस्पताल पुग्नुअगाडि नै मृत भइसकेको हुन्छ ।
 

युवाहरुमा पछिल्लो समय हृदयघातको सम्भावना बढी हुनुको कारण चाहिँ धूमपान भएको विभिन्न रिसर्चहरुले देखाएका छन् । रिसर्चहरुका अनुसार ३० वर्षदेखि ४४ वर्षका युवाहरुमध्ये २६ प्रतिशतभन्दा बढीमा हृदयघात चुरोट सेवनका कारण हुने गरेको छ ।

यतिमात्र होइन, निद्राको कमीका कारण पनि युवाहरुमा हृदयघात हुने गरेको पाइएको छ । युवाअवस्थामा नै मधुमेह हुनेहरुमा पनि हृदयघात हुने सम्भावना बढी पाइएको छ ।

यसबाट बच्नका लागि जीवनशैलीमा परिवर्तन गर्न सक्नु पर्ने चिकित्सकहरुले बताउँदै आएका छन् । दैनिक व्यायाम गर्ने, मर्निङ वाक वा पौडी खेल्ने गरेमा हृदयघात हुने सम्भावना ३० प्रतिशत कम हुने बताइएको छ । चिकित्सकहरुले प्रत्येक दिन १० हजार पाइला हिँड्नु पर्ने बताउँदै आएका छन् ।

सँगसँगै खानेकुराहरुमा युवा पुस्ता निकै सचेत हुनु पर्ने देखिन्छ । जंक फुडको सेवन गर्ने युवाहरुको संख्या पछिल्लो समय बढिरहेको छ ।

यसको ठाउँमा स्वस्थवद्र्धक खानेकुरा खान चिकित्सकहरुले सल्लाह दिइरहेका हुन्छन् ।

सँगसँगै हृदयघातबाट बच्नका लागि चुरोट तथा सूर्तीजन्य पदार्थको सेवन कम गर्नु पर्ने चिकित्सकहरुले सुझाव दिँदै आएका छन् । यसका साथसाथै मदिरा सेवन पनि गर्न नहुने चिकित्सकहरुले बताउँदै आएका छन् । 

अनि सबैभन्दा महत्वपूर्ण त के भने मुटुको स्वस्थ जाँच समयसमयमा गर्न चिकित्सकहरुले सल्लाह र सुझाव दिँदै आएका छन् ।

  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार २०:२८:५६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया