हराएको ३३ वर्षपछि भेटिए कैलालीका लोकुन

कैलालीका लोकुन (लोकेन्द्र) डगौरा थारु ३३ वर्षअघि २९ वर्षको उमेरमा  रोजगारीको सिलसिलामा भारत गएका थिए । हाल लोकुन ६२ वर्षका भए । 

जिल्लाको जानकी गाउँपालिका–७ टिकलीगढबाट उनी भारतको सिम्ला गएका थिए । त्यहाँ गइसकेपछि उनी सम्पर्कविहीन बने । परिवारले उनलाई खोज्ने धेरै प्रयास गर्‍यो । उनको अत्तोपत्तो लाग्न सकेन । कहिँकतै फेला नपरेपछि परिवारले उनीसँग भेट हुने आशा मारिसकेका थिए । 

तर, प्रहरीको सहयोगमा लोकुन भेटिएपछि परिवार खुशीले गद्गद् भएको छ । हाल लोकुनका छोरा रामबहादुर ३८ वर्षका भए । आफ्ना बुवासँग ३३ वर्षपछि भेट भएपछि उनीसँगै सबै परिवार हर्षित बनेको हुन् । 

यहि भदौ ९ गते भारतको बिहारस्थित गयामा उनलाई भारतीय नागरिक सन्दीप यादवले फेला पारे । सन्दीपले डगौरालाई सोधपुछ गरेर आफ्नो घरमा लगे ।

कैलाली घर बताउने डगौरा १० गते उनको घरबाट भागे । खोजी गरेर पुनः सन्दीपले आफ्नो घरमा लगेर राखे । आफ्नो घर नेपाल नै भएको बताएपछि सन्दीपले नेपाल प्रहरीमा सम्पर्क गरे ।

त्यसपछि नेपालको तर्फबाट प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भारतीय पक्षसँग समन्वय गरी उद्दार गर्न आग्रह गरेका थिए । 



उक्त जानकारी पछि कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले सन्दीप यादवमार्फत लोकुन डगौरा थारुसँग सम्पर्क (भिडियोकल) गरेका थिए । 

लोकुन डगौरा थारुले सबै कुरा बिर्सिसकेका थिए । तर उनले प्रहरी उपरीक्षक अधिकारीसँग आफ्नो घर टीकापुरको मनुवा आसपास हो सम्म भनेका थिए । 



उक्त कुराकानीपछि कैलाली प्रहरीले टोली परिचालन गरी उनका आफ्न्त पत्ता लगाउने प्रयास गर्‍यो । अन्ततः उनको घर पत्ता लाग्यो । ठेगाना र आफन्त फेला परेपछि लोकुन डगौरालाई भारतीय प्रहरी र सन्दीप यादवको सहयोगमा जिल्ला प्रहरी कार्यालय, पर्सामा झिकाइयो ।

प्रहरी कार्यालय पर्साबाट पनि लोकुनका छोरा र प्रहरी टोली पठाएर कैलालीमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । 

जिल्ला आइपुगेपछि बिहीबार लोकुको परिवारसँग पुनर्मिलन गराइएको प्रहरी नायब विष्टले बताए ।

  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार २०:४१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया