नेकपाका नेता वामदेव गौतम संसद्मा प्रवेश गर्ने कुराले पछिल्लो समय नेपाली राजनीति र सामाजिक सञ्जाल तातेको छ ।
काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्य बनेका रामवीर मानन्धरलाई राजीनामा गर्न लगाएर वामदेवलाई चुनाव लडाउने कुरा नेकपा सचिवालय बैठकमा चलेसँगै यो विषयले चर्चा पाएको हो ।
सत्तारूढ दल नेकपाभित्र र सामाजिक सञ्जालमा यो विषय अहिले बहसको विषय बनेको छ । गौतमलाई चुनाव नलड्न पार्टीपंक्तिबाट नै सुझाब आउन थालेको छ ।
पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले नेता गौतमलाई काठमाडौं–७ बाट चुनाव नलड्न सुझाब दिएका छन् । फरकधारसँगको कुराकानीमा अधिकारीले उनलाई चुनावमा नआउन आग्रह गरेका हुन् ।
नीतिगत रूपमा कोही मान्छे अपरिहार्य रहेको अवस्थाका लागि उपचुनावको प्रक्रिया भएको भन्दै उनले भने, ‘कोही मान्छे जसरी पनि संसद्मा जान्छु भन्छ भने त्यसलाई लानैपर्छ भन्ने छैन । वामदेव कमरेडले पनि मेरो सल्लाह मान्नुहुन्छ भने हात नहाल्नुुस् है ।’
काठमाडौं–७ मा गौतमलाई हराउन धेरै शक्तिहरू लाग्ने उनको भनाइ छ ।
फरकधारसँगको कुराकानीमा उनले भने, ‘यतिवेला नेकपाको ठूलो नेताको रूपमा वामदेव कमरेड रहनुभएको छ । यदि उहाँ काठमाडौं–७ मा आउनुभयो भने उहाँलाई हराउन धेरै मान्छेहरू लाग्नेछन् । उहाँमा अहिले केही कमी छैन । आनन्दले पार्टीको काम गर्नुस् ।’
यतिवेला गौतम चुनावमा आउने र संसद्मा छिर्ने प्रक्रिया बढ्ने हो भने गौतमको राजनीतिक छविमा आँच आउने र चुनाव हराउन धेरै शक्तिहरू लाग्ने उनको तर्क छ ।
सत्तारूढ दलले वामदेवलाई उपनिर्वाचनबाट संसद्मा लाने प्रक्रिया अघि बढाए सरकारमाथि नै प्रश्नचिह्न खडा हुने भन्दै उनले यो प्रक्रियाबाट ब्याक हट्नसमेत आह्वान गरे ।
काठमाडौं महानगर र नगरहरूमा निर्वाचित प्रतिनिधिको काम राम्रो नभएकाले यतिखेर पार्टीले यहाँका जनताको मत जित्न नसक्ने उनको दाबी छ । उनले भने, ‘यो प्रतिकूल समय हो । यो वेलामा चुनाव लड्नु भनेको चुनाव हार्नु निश्चित हो ।’
तर, कहिलेकाहीँ पार्टी र जनताको लागि पनि कोही अपरिहार्य हुने र त्यस्तो अवस्थामा चाहिँ उपनिर्वाचनको प्रक्रिया गर्नपर्ने उनको बुझाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।