मकवानपुरमा नेकपा एकीकृत समाजवादीले पायो पूर्णता

नेकपा एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादीले मकवानपुर जिल्ला कमिटीको घोषणा गरेको छ । मकवानपुर जिल्ला कमिटी अध्यक्षमा श्रीधर पोखरेलले जिम्मेवारी पाएका छन् ।

यसअघि नेकपा एमालेमा हुँदा पनि मकवानपुर जिल्लामा माधवकुमार नेपाल पक्षधर प्रदेश सभा सदस्यसमेत रहेकी मुनु सिग्देलले नै जिल्लाको नेतृत्व गरेकी थिइन् । उनकै समानान्तर कमिटी समाजवादीमा परिणत भएको हो ।

सिग्देल नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य भएकी छिन् ।

बिहीबार भएको मकवानपुर जिल्लामा भेलामा सिग्देलले नै जिल्ला कमिटी घोषणा गरेकी हुन् । उनले उपाध्यक्षमा मीना कुमारी लामा र सचिवमा विष्णु दाहाललाई जिम्मेवारी दिएको बताएकी छिन् ।

नेकपा एकीकृत समाजवादीले मकवानपुर जिल्ला कमिटी २ सय ५५ सदस्यीय बनाएको छ । नेकपा एकीकृत समाजवादीको भेलामा नेता केदार न्यौपानेको प्रमुख आतिथ्यता थियो । 

कार्यक्रममा बोल्दै  नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य केदार न्यौपानेले आफ्ना पूर्व अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्नका लागि कानून नै फेरबदल गरेको आरोप लगाए । न्यौपानेले ओली लक्षित गरेर भ्रष्टाचार नगर्ने र भ्रष्टार गर्नेको अनुहार नै नहेर्ने बताए पनि आफैले कानून संशोधन गरी गिरीबन्धू लगायत जग्गा काण्डमा ओली सरकारको असलियत देखिएको बताए  । न्यौपानेले एमालेको विधि भन्दा पनि एमालेमा केपीवाद देखिएकोले नयाँ पार्टी गठन गर्नुपरेको बताए ।  



 

२५ जनप्रतिनिधि समाजवादीमा 



हेटौँडा उपमहानगरपालिकाकी उपमेयरसहित २५ जनाले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । बिहीबार प्रदेश निर्वाचन कार्यालय हेटौँडामा पुगेर हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामासहित २५ जना जनप्रतिनिधि नेकपा एकिकृत समाजवादीमा खुलेका हुन् । 

बिहीबार मकवानपुरका १० वटा स्थानीय तहका २५ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए । समाजवादीमा उपमेयर लामासँगै मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट सहितले सनाखत गरेका छन् ।

  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १०:२३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया