सुदूरपश्चिममा कांग्रेस अधिवेशनः सभापति तथा प्रधानमन्त्रीकै जिल्लामा कहिले हुने अनिश्चित, चार जिल्लामा हुँदै

पटक–पटक सर्दै आएको नेपाली कांग्रेसको महाधिवेशन सुदूरपश्चिमका चार जिल्लामा आजबाट सुरु भएको छ । कांग्रेसको विधानमा महाधिवेशन चार बर्षमा हुनुपर्ने उल्लेख भएपनि यस पटक पाँच वर्षपछि भईरहेको हो । सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा भने सुरु हुन सकेको छैन् । 

कांग्रेसको १४ औँ महाधिवेशन आज अर्थात भदौ १८ गते घोषणा गरिएको थियो । यद्यपी पार्टीको क्रियाशिल सदस्यता विवादले गर्दा सबै जिल्लामा एक साथ सुरु हुन भने सकेको छैन । 

कांग्रेस कैलाली पार्टी सभापति नरनारायण शाह ‘मुनु’का अनुसार सुदूरपश्चिम प्रदेशका चार जिल्लामा मात्रै तोकिएको मितिमा वडा अधिवेशन भइरहेको छ । ती जिल्ला हुन्– कञ्चनपुर, डोटी, बझाङ र अछाम । 

कञ्चनपुर र बझाङका केही वडामा भने वडा अधिवेशनको अघिल्लो दिन नै सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधिहरू चयन भइसकेका जनाएको छ । 

दार्चुला र बैतडीमा पछिल्लो समय परेको भारी वर्षा, बाढी र पहिरोका कारण आवागमनमा समस्या भएपछि अधिवेशनको मिति केही दिन पर सारिएको छ । दार्चुलामा वर्षा, बाढी र पहिरोका कारण आवागमनमा समस्या सिर्जना भएकोले वडा अधिवेशन चार दिन पछि सारिएको छ । 

एक संसदीय निर्वाचन क्षेत्र र ६१ वडा रहेको दार्चुलामा नयाँ र पुरानो गरी कांग्रेसका चार हजार ६५० सदस्य रहेका छन् । दार्चुलामा भदौ २२ गते वडा अधिवेशन, २७ गते पालिका अधिवेशन, असोज १ गते क्षेत्रीय अधिवेशन तथा असोज ५ गते खलंगामा जिल्ला अधिवेशन गर्ने कार्यतालिका रहेको छ । 



बैतडीमा पनि बाटोघाटोको कठिनाइले वडा अधिवेशन २१ गतेका लागि तय गरिएको छ । एक संसदीय निर्वाचन क्षेत्र र ८४ वटा वडा रहेको बैतडीमा कांग्रेसका नयाँ र पुरानो गरी ६ हजार ५७७ सदस्य रहेका छन् । 

कैलाली, डडेल्धुरा र बाजुरामा अझैसम्म पनि क्रियाशील सदस्यताको टुंगो लागेको छैन । क्रियाशील सदस्यताको टुंगो नलागेका कारण ती जिल्लाको वडा अधिवेशन हालका लागि स्थगित भएको छ । डडेल्धुरा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो । 



सबैभन्दा बढी संघीय पाँच संसदीय निर्वाचन क्षेत्र रहेको कैलाली तथा डडेल्धुरा र बाजुरामा क्रियाशील सदस्यताको विवाद अझैं नटुं‌गिएको कारण अधिवेशन अनिश्चित बनेको हो ।  सुदूरपश्चिम प्रदेशमा सात सय ३४ वडाहरू रहेका छन् । क्रियाशील सदस्यता सम्बन्धी विवाद नटुंगिएको कारण कैलाली, बाजुरा र डडेल्धुराका गरी २४७ वडाको अधिवेशन अनिश्चित बनेको हो । कैलालीमा सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा सबैभन्दा बढी क्रियाशील सदस्य (१८ हजार १३४) रहेका छन् । यो सूचीमा कैलाली क्षेत्र नम्बर १ को टीकापुर नगरपालिकाको वडा नम्बर १ को ५७६ जना नयाँ क्रियाशील सदस्य समावेश गरिएको छैन । 

कैलालीको टीकापुर नगरपालिका, जानकी गाउपालिका र लम्कीचुहा नगरपालिकाका धेरै वडामा सबैभन्दा बढी क्रियाशील सदस्यतासम्बन्धी विवाद रहेको छ । 

कैलाली कांग्रेसका सभापति नरनारायण शाहले क्रियाशील सदस्य अर्थात मतदाता नामावली नै प्राप्त नभएको हुँदा कैलाली, बाजुरा र डडेल्धुरामा वडा अधिवेशन अनिश्चित भएको जानकारी दिए । कैलालीमा १२६ वडा छन् । पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुरामा पनि वडा अधिवेशन अनिश्चित बनेको छ । डडेल्धुरामा पनि अहिलेसम्म क्रियाशील सदस्यता सम्बन्धी टुंगो लागेको छैन । 

डडेल्धुरा कांग्रेसका अनुसार डडेल्धुरामा पुरानो सदस्यता नवीकरण र नयाँ गरी करिब पाँच हजार आठ सय बढी क्रियाशील सदस्यको सिफारिस गरिएको छ । डडेल्धुरा कांग्रेस स्रोतका अनुसार जिल्लाबाट सिफारिस भएका सदस्यहरुमध्ये केन्द्रबाट पाँच सय ९८ जना हटाएर तीन सय ३८ जना थप गरिएको छ । एक संसदीय निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ५२ वटा वडा रहेका छन् । बाजुरामा पनि क्रियाशील सदस्यताको टुंगो लागेको छैन । सोही कारण वडा अधिवेशन अनिश्चित बनेको छ । एक संसदीय निर्वाचन क्षेत्र रहेको बाजुरामा ६९ वडाहरू रहेका छन् । 

कांग्रेस विधानको व्यवस्था अनुसार क्रियाशील सदस्य महाधिवेशनका सबैभन्दा महत्वपूर्ण मतदाता हुन् । क्रियाशील सदस्यले पार्टी संरचनाको सबैभन्दा पहिलो जगका रुपमा रहेको वडा समिति र क्षेत्रीय प्रतिनिधिहरूको चयन गर्दछन् । वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिहरू नै प्रदेश तथा संघीय क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशनका मतदाता हुने व्यवस्था गरिएको छ भने क्षेत्रीय प्रतिनिधिहरू नै महाधिवेशन, महासमिति सदस्य बन्नका लागि योग्य हुन्छन् ।

  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १३:२७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया