प्रादेशिक अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि अज्ञात समूहद्वारा कुटपिट

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। 

अस्पताल परिसरमै एक समूहले अहेव देवेन्द्र ठाकुरमाथि कुटपिट गरेका हुन्। ठाकुरलाई अस्पतालको नियमित बैठक चलिरहेका बेला बाहिर बोलाएर सो समूहले लात र मुक्काले कुटपिट गरेका छन्। 

‘प्रादेशिक अस्पताल विकास समितिको बैठक चलिरहेको बेला मलाई एक व्यक्तिले बाहिर आउन आग्रह गरे । म बाहिर गएपछि उनीहरुले योजनावद्ध ढङ्गले कुटपिट गर्न थाले', उनले भने । उनले आफूमाथि कसबाट आक्रमण भएको हो भन्नेबारे अनभिज्ञता जनाएका छन् ।

कुटपिटबाट घाइते भएका ठाकुर उपचारपछि घर फर्केका छन् । 

यता, कुटपिट भइरहँदा अस्पतालमा रहेका सुरक्षागार्डहरु मुकदर्शक बनेको आरोप लागेको छ ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा गुण्डागर्दी शैलीमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि त्यहाँ कार्यरत अन्य स्वास्थ्यकर्मी र चिकित्सकहरु त्रसित भएका छन् । उनीहरुले आफूहरु असुरक्षित रहेको बताए ।



अस्पतालका कर्मचारीहरुले कसैले कुनै गल्ती गरेमा कानुनी उपचारको व्यवस्था हुँदाहुँदै गुण्डा शैलीमा सार्वजनिक संस्था भित्र पसेर कुटपिट गर्नु कानुनी राज्यको उपहास भएको बताएका छन् । घटनाप्रति अस्पताल प्रशासनले समेत कुनै ठोस कदम चाल्न सकेको छैन् ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतसँग बुझ्न खोज्दा उनले घटनाप्रति अनभिज्ञता प्रकट गरेका छन् । यस सम्बन्धमा आफूलाई कुनै जानकारी नरहेको उनले बताए ।



  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १५:५४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया