परिवारको एक्लो सन्तान । बाबुआमा दुवै भूमिगत । वरिपरि देखिने मान्छेलाई पनि शंका गर्नुपर्ने परिवेश । एक्लै संघर्ष, सपना र एक्लै रमेर बस्ने बानी । यही आदतसँगै हुर्किएकी मानुषि यमी भट्टराईलाई आफ्नै परिवार बनाउने कुरामा उति साह्रै चासो र चिन्ता थिएन ।
स्नातकोत्तर अध्ययनका लागि त्रिभुवन विश्वविद्यालय (त्रिवि) पुगेकी उनको भेट जेकेन्द्र श्रेष्ठसँग भयो । जेकेन्द्र त्यतिबेला त्रिवि केन्द्रीय क्याम्पसका नेता थिए । संगठन विस्तारमा सक्रिय जेकेन्द्र र मानुषिको भेट बारम्बार हुन थाल्यो । प्रवासको राजनीति गरेर आएकी मानुषिले नेपालको विद्यार्थी राजनीतिबारे जेकेन्द्रबाटै धेरै कुरा सिकिन् ।
त्यतिबेला जेकेन्द्रका साथीहरू उनको कुरा गर्दा भन्थे, ‘यो मान्छे कडा छ ।’ मानुषिले भने उनका बारेमा केही धारणा बनाइसकेकी थिइनन् । एउटै संगठनमा सँगै काम गर्दै जाँदा उनीहरू मिल्ने साथी भए । उनीहरूले विद्यार्थी राजनीति गर्दागर्दै पार्टीमा दुई लाइन संघर्ष सुरु भयो । यसपछि पनि जेकेन्द्र र मानुषि एउटै खेमामा देखिए । त्यसपछि झन् धेरै झांगियो मित्रता । यो मित्रता झण्डै ६ वर्षपछि प्रेममा परिणत भयो ।
चिया पसलमा प्रेम प्रस्ताव
चिया पसलमा भेटिनु । चियाको चुस्की लगाउनु । विद्यार्थी राजनीतिका कुरा गर्नु । उनीहरूका लागि सामान्य दैनिकी थियो । एक दिन चिया गफकै क्रममा जेकेन्द्रले भने ‘यो मित्रतालाई प्रेमका रूपमा अगाडि बढाऊँ ।’ यो प्रस्ताव स्वीकार गर्न मानुषिलाई समय लाग्यो । उनले त्यसबेला जेकेन्द्रलाई भनेकी थिइन, ‘हाम्रो मित्रता अहिले जे छ ठीकै छ ।’ लामो छलफलपछि मानुषि पनि मित्रतालाई प्रेमका रूपमा स्वीकार गर्न तयार भइन् ।
साथी मात्रै हुँदा उनीहरू राजनीतिका कुरा गर्थे । वैचारिक संघर्षका कुरा गर्थे । प्रेममा परेपछि भने आफ्नो मनका कुरा गर्न थाले । पारिवारिक कुरा, एकअर्काले आफू हुर्कँदाको कुरा सेयर गर्न थाले । विस्तारै धेरै कुरा मिल्दै गए । मानुषिलाई जेकेन्द्रको सादा जीवन मन पर्दै गयो । उनले गरेका संघर्षले मन पगाल्दै लग्यो । सबैभन्दा मन पर्याे मानुषिलाई जेकेन्द्रको अरूलाई सुन्न सक्ने क्षमता । त्यसपछि २०७२ फागुनमा उनीहरूले जनवादी विवाह गरे । मानुषि र जेकेन्द्रको विवाहका लागि मण्डप बनेन । पुरोहित बोलाइएन । एउटा मञ्चमा उभिएर उनीहरुले एकअर्कासँग हात मिलाए । भाषण गरे । बाँकी जीवनको यात्रा सँगै तय गर्ने बाटोमा निस्किए । उनीहरूको विवाहको साक्षी बस्न पुगेका आफन्तले सामान्य खाजा खाए, उनीहरूलाई शुभकामना दिए र फर्किए।
विवाहको खर्च पुस्तकालय र शिक्षामा
त्रिविको पुस्तकालय हुनुपर्ने जति व्यवस्थित थिएन । त्यहीँ अध्ययन गरेका जेकेन्द्र र मानुषिले सल्लाह गरे, ‘त्रिविले हामीलाई यति धेरै ज्ञान दियो । हामी पनि केही किताब र र्याक दिन सक्छौं ।’ उनीहरूले त्यसै गरे । पुस्तकालयमा केही र्याक पुर्याए । केही किताब लगेर खाली र्याक भरे । आन्दोलनमा अभिभावक गुमाएकी फुर्वीको आगत उज्यालो बनाउने जिम्मा पनि आफ्नै हो जस्तो लाग्यो । मानुषि र जेकेन्द्रले उनको शिक्षाका लागि केही रकम सहयोग गरे ।
विवाहपछि राजनीतिक चिन्तनका हिसाबले केही फरक परेन । देशमा भैरहेका राजनीतिक घटनाक्रमलाई लिएर जेकेन्द्र र मानुषिले गर्ने चिन्तन एकै प्रकारको थियो । तर, विवाह गरेपछि राजनीतिक चासो, चिन्ता र चिन्तनभन्दा बेग्लै चिन्ताले सताउँदो रहेछ । जेकेन्द्र घरको एक्लो छोरो । परिवारको जिम्मेवारी । राजनीतिक चिन्तनले मात्रै त्यो जिम्मेवारी पूरा हुन सक्दैनथ्यो । जेकेन्द्रले परिवारप्रति निर्वाह गर्नुपर्ने हरेक भूमिका अब मानुषिको पनि भैसकेको थियो । त्यसपछि सुरु भयो घर कसरी चलाउने भन्ने चिन्तन ।
पारिवारिक रूपमा तयार हुन समय
सानैबाट एक्लै हिँडेकी आफ्नी छोरीले विवाह नगर्लिन् भन्ने ठूलो चिन्ता थियो उनका बुवा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई । आमा हिसिला यमी भने विवाह नगरे पनि जिन्दगी चल्छ भन्थिन् । बाबु भने विवाह नगरी जीवन पूर्ण हुँदैन भनेर सम्झाइरहन्थे । छोरीलाई भनिरहन्थे, ‘विवाह गर्दा राम्रो । नत्र एकांगीजस्तो भइरहन्छ ।’
मानुषिलाई यो एकांगीपनबाट बाहिर निस्कन समय लाग्यो । उनी आफैंले पनि सोचेकी थिइनन् ‘म विवाह गर्छु र पार्टनरसँग जीवन बिताउँछु ।’ विवाहपछि श्रीमानकाे परिवार पनि सँगै हुनुपर्छ भनेर आफूलाई तयार पार्दै थिइन् । मानुषिले आफूलाई पूर्ण रूपमा तयार पारिनसक्दै जेकेन्द्रको परिवार काठमाडौं आउनुपर्ने भयो । सँगै बस्न थालेपछि भने उनी सासु-ससुरासँग झन् धेरै प्रभावित भइन् । उनलाई लागेकै थिएन परिवारभित्र बस्न यति सहज हुन्छ । तर, उनले सोचेको भन्दा निकै सरल र सहज भयो उनको पारिवारिक जीवन ।
पारिवारिक जिम्मेवारी प्राथमिकतामा
घर, परिवार, श्रीमानकाे सपना थिएन । नदेखेकै सपना जीवनमा आयो । त्यसलाई स्वीकार गर्नु र जीवन चलाउनु उनका लागि चानचुने कुरा थिएन । बाबु-आमाकी एक्ली छोरी मानुषि । विवाहपछि परिवारकी एक्ली बुहारी भइन् । छोरीले गर्नुपर्ने थुप्रै भूमिका निर्वाह गर्नु थियो अब उनले । जेकेन्द्रको परिवार सामान्य हो । श्रीमान-श्रीमती दुवैजना राजनीतिक रूपमा सक्रिय रहँदा घरपरिवारप्रतिका जिम्मेवारी पूरा गर्न सजिलो थिएन ।
त्यसैले मानुषि र जेकेन्द्रले लामो छलफल गरे, ‘अब घर कसरी चलाउने’ भन्ने विषयमा । निष्कर्ष निकाले- मानुषि पूर्णकालीन राजनीति गर्ने र भ्याएको समयमा पार्ट टाइम पढाउने । जेकेन्द्र चाहिँ राजनीतिसँगै अलि बढी आयआर्जनमा लाग्ने । जीवन थोरै सहज भयो।
विवाह गरेको पाँच वर्षपछि बच्चा
बिहे र जीवन साथीको कल्पना नै नगरेकी मानुषिले विवाह गरिन् । प्रेमिका भइन् । श्रीमती भइन् । बुहारी भइन् । अब आमा पनि बन्नु थियो । आमा बन्नु भनेको एउटा बच्चालाई जन्म दिनु मात्रै होइन । एउटा बच्चालाई चाहिने पौष्टिक तत्वयुक्त खाना खुवाउन सक्ने पनि हुनु हो । उसलाई राम्रो शिक्षा दिएर समयसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनु पनि हो । त्यो भन्दा अघि उसका धेरै आवश्यकता पूरा गर्ने हैसियत निर्माण गर्नु थियो । त्यसैले विवाहको पाँच वर्षसम्म मानुषि र जेकेन्द्रले आमा-बुवा बन्ने तयारी गरेनन् ।
यो वर्षमा उनीहरूले थुप्रै किसिमका कुरा सुन्नु पर्याे । विवाह गरेको लामो समयसम्म बच्चा नजन्माउँदा धेरैले भनेका थिए, ‘बाबुरामको छोरी-ज्वाइँको सम्बन्ध राम्रो छैन रे । उनीहरूको त डिभोर्स हुन लागेको छ रे ।’ आफन्तले ल्याएका ‘अरे’का कुरा सुन्थे र हाँस्थे मानुषि र जेकेन्द्र । उनले त्यसबेला धेरै पटक सोचिन्- ‘हामीजस्तो शिक्षित परिवारका आफन्त, साथीभाइको त सोच्ने तरिका यस्तो छ, झन् कस्तो होला सुदूर बस्तीमा ? शिक्षाको उज्यालो नपुगेको बस्तीमा ?’ उनीहरूका बाबु-आमाले पनि सोधेका थिए ‘बच्चा जन्माउने कि नजन्माउने ?’
अरूको आँखाबाट हेर्दा पूर्वप्रधानमन्त्रीकी छोरी । एउटा बच्चा जन्माउन पनि सोच्नु पर्ने हो र ? भन्ने थियो । तर, आर्थिक मामिलामा आफ्नो परिवार निकै स्वच्छ हो भन्ने विश्वास छ मानुषिको । बच्चा जन्माउँदा रहर भन्दा धेरै माथि गएर अझै धेरै सोच्नु थियो मानुषिका लागि । मानुषि आफैंले थोरै कमाउन त थालेकी थिइन्, बच्चा जन्मिएपछि त्यो कमाइले नपुग्ने उनको निष्कर्ष थियो । त्यसैले पनि बच्चाको प्लानिङ गर्न समय लाग्यो । बच्चा जन्माएर आत्तिनु भन्दा पहिला आर्थिक व्यवस्थापन गरेर बच्चा जन्माउने सल्लाह गरेका थिए मानुषि-जेकेन्द्रले । त्यही अनुरूप विवाहको पाँच वर्षपछि मानुषि आमा बन्न तयार भइन् ।
डर थियो
लामो समय परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा बच्चा जन्मँदैन भन्ने पुरानै प्रचलन छ समाजमा । त्यति मात्रै होइन अहिले हामीले बाँचिरहेको लाइफ स्टाइल पनि फरक छ । हामीले खाइरहेको खानपानका कारण पनि बच्चा हुन गाह्रो छ भन्ने मानुषिले सुन्दै आएकी थिइन् । पुरुषको प्रजनन् क्षमतामा पनि ह्रास आउँछ भनेर पढ्दै आएका थिए उनीहरूले । त्यसैले उनको मनमा कताकता डर थियो ।
प्लानिङ गरेको छोटो समयमै मानुषि आमा बन्ने भइन् । प्रेग्नेन्सी रिपोर्ट ‘पोजिटिभ’ आउन भने समय लाग्यो । आमा बन्ने तयारीमा रहेकी मानुषिको महिनावारी रोकियो । परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । त्यसको १० दिनसम्म मानुषिको महिनावारी भएन । प्रेग्नेन्सी रिपोर्ट पनि पोजेटिभ आएन । मानुषिले डाक्टरलाई आफ्नो समस्या सुनाइन् । डाक्टरले केही दिन कुर्न सुझाए । केही दिनमा पुनः महिनावारी भयो । त्यसको अर्को महिना भने मानुषि गर्भवति भइन्।
आमा बन्न लाग्दाको खुसी कुन शब्दमा व्यक्त गर्दा पूर्ण हुन्छ उनलाई थाहा छैन। यो खुसी श्रीमान्सँग बाँडिन् । त्यसपछि मानुषि आफू आमा बन्न लागेको खबर आफ्नी आमालाई सुनाउन गइन् । उनले बुवा-आमालाई अगाडि राखेर भनिन्, ‘बधाई छ । हामी प्रेग्नेन्ट भयौं ।’ मानुषिको खुसी बुवा-आमामा सञ्चारित भयो । विस्तारै यो खुसीको दायरा फराकिलो बन्दै गयो । परिवार, छिमेकी हुँदै आफन्तकहाँ पुग्यो । खुसीको सिमाना जति फैलियो त्यसको परिणाम पनि बढ्दो रहेछ ।
पहिलो चरणमै ब्लिडिङ
खुसीको सिमाना फैलिँदै थियो । विस्तारै मानुषिको शारीरिक परिवर्तन सुरु भैसकेको थियो । एकदिन एक्कासि रगत देखियो । मानुषि आत्तिइन् । टिचिङ अस्पतालमा देखाइन् । डाक्टरले भने, ‘यो राम्रो संकेत होइन । मिस क्यारेजको चरण यसरी नै सुरु हुन्छ । त्यसैले एकदम केयरफुल हुनु । पूर्ण रूपमा बेड रेस्ट गर्नु ।’ गर्भावस्थाको सुरुवाती चरणमा मानुषि मोटरसाइकलमा निकै हिँडिन् । त्यसैको असर देखिएको थियो रगतमा । त्यसपछिको एक महिना मानुषि पूर्ण रूपमा बेड रेस्टमा बसिन्।
यो समय मानुषि आफ्ना साथिसर्कलबाट टाढा भइन् । राजनीतिक गतिविधि पूर्ण रूपमा बन्द भए । घरमा पनि राजनीतिक गफ कम हुन थाल्यो । त्यतिबेला मानुषिलाई लाग्यो, ‘सानै उमेरबाट राजनीतिमा सक्रिय भएँ, दुई दशक राजनीति गरेँ । अब सबै सकिएछ ।’
ठीक त्यही बेला पोखरामा ‘लिटरेचर फेस्टिभल’ आयोजना गरिएको थियो । मानुषिलाई वक्ताका रूपमा निम्ता आयो । कार्यक्रम आयोजक टिमसँग एकचरण बसेर सल्लाह पनि गरिन् । मानुषि आफैं जानेनजाने निर्णयमा पुग्न सकिनन् । डाक्टरसँग सल्लाह गरिन् । डाक्टरले नजान सुझाए । मानुषि गइनन् । जान नपाएको त्यो कार्यक्रम मानुषिले लगातार चार रात सपनामा देखिन् । यसरी अरु पनि थुप्रै कुरा छुटे जीवनबाट । त्यसपछि मानुषिलाई लाग्यो ‘आमा बन्नु चानचुने कुरा होइन रहेछ ।’ एक महिनापछि स्वास्थ्य अवस्था सामान्य भयो । त्यसपछि भने उनले मोटरसाइकल चढिनन् । केही समयपछि कोरोना महामारी सुरु भयो।
कोरोनाबाट नेपालमा पहिलो पटक सुत्केरी महिलाको मृत्यु भयो । मानुषिको डेलिभरी समय नजिकिँदै थियो । उनलाई निकै डर लाग्यो । फेरि गर्भावस्थामा धेरै तनाव लिनु हुँदैन भन्ने थियो । सकारात्मक सोच्नु पर्छ भन्ने दिमागमा आउँथ्यो । तर, भन्न जति सजिलो हुँदैन रहेछ । मानुषिलाई पनि सजिलो भएन । आफूलाई सामान्य बनाउन समय लाग्यो । यो समयमा मानुषिलाई जेकेन्द्र र उनको परिवारले राम्रो साथ दिए । त्यतिबेला धेरै डर लागेको भए पनि अहिले फर्किएर हेर्दा कोरोनाका कारण मानुषिलाई परिवारको पर्याप्त समय पाएँ भन्ने लाग्छ।
बच्चाको घाँटीमा साल बेरियो
मानुषिको गर्भावस्था सामान्य बित्दै थियो । नर्मल डेलिभरीको तयारीमा थियो मानुषिको परिवार । मानुषि पनि प्राकृतिक हिसाबले बच्चा जन्माउन तयार थिइन्।अन्तिमको अल्ट्रासाउन्डमा बच्चाको घाँटीमा साल (साथी) बेरिएको देखियो । मानुषि पुनः डराइन् । डेलिभरी डेट आएकै थिएन । डाक्टरले मानुषिलाई हिँडडुल अलि धेरै गर्न भने । कहिलेकाहीँ घाँटीमा बेरिएको साल आफैं फुस्किने बताए । उनी घर फर्किन् ।
दिन बित्दै गयो । डेलिभरी समय नजिकिँदै थियो । प्राकृतिक रूपमा जन्मनका लागि आउनुपर्ने पोजिसनमा बच्चा आएन । उनी पुनः अस्पताल गइन् । चेकअपका क्रममा बच्चाको घाँटीमा बेरिएको साल फुस्किएको थियो । तर, बच्चा जन्मने पोजिसनमा आएकै थिएन । डाक्टरले भने, ‘अब निर्णय गर्नुहोस् । नर्मल डेलिभरी गर्ने कि अप्रेसन ?’ मन नर्मल डेलिभरीको थियो । तर, अप्रेसन गर्नु पर्ने भयो ।
जे होस्, मानुषिको अप्रेसन भयो । उनी आमा भइन् । अप्रेसन गरेर बच्चा निकाल्दानिकाल्दै डाक्टरले भने, ‘यस्तो भैसकेको रहेछ ।’ अर्धचेत अवस्थामा रहेकी मानुषिलाई के भनेको होला भन्ने भयो । उनलाई पछि थाहा भयो ‘बच्चाले आची खान लागेको रहेछ ।’ त्यसपछि उनलाई लाग्यो ‘ठीक समयमा अप्रेसन भएछ ।’ पहिलो पटक छोरो रुँदा मानुषि निकै इमोसनल भइन् । बच्चासँगै रोइन् ।
कोही किन बोल्दैनन् ?
आमा बनेपछि मानुषिको दिनचर्या परिवर्तन भयो । कोरोना महामारीका कारण उनले धेरै समय आफ्नो बच्चासँग बिताउन पाइन् । छोरो हुर्कंदैछ । छोरासँगै हुर्कंदैछ मानुषिको खुसी पनि । आफैं आमा भएपछि, आफ्नो बच्चाको आवश्यकता पूरा गर्नुपर्ने भएपछि मानुषिलाई थाहा भयो- यहाँ बोल्नुपर्ने थुप्रै कुरा रहेछ ।
बच्चाका हरेक सामान असाध्यै महँगो छ । बच्चाका सामानमा बाबुआमाले कन्जुस्याइँ गर्ने कुरा पनि आउँदैन । व्यापारीहरूले यसैलाई आधार बनाएर फाइदा लुटिरहेका छन् । मानुषि भन्छिन्, ‘सरकार बोल्नु पर्दैन ? बच्चाका निम्ति यो देशले लगानी गर्नु पर्दैन ? बच्चामा लगानी गर्न नसक्ने देशले कस्तोखालको परिवर्तनको सपना देख्ने ?’
अरू देशमा बच्चा जन्मिएपछि सरकारले उसको स्वास्थ्य, शिक्षामा लगानी गर्छ । तर, नेपालमा बच्चा र आमा दुवैले संयोगले बाँच्नु पर्छ । बाँच्नेहरू ‘भाग्यमानी’ ठहरिने अवस्था छ । नेपालको राजनीतिक पार्टीका अजेन्डामा यो पाटो पर्नुपर्ने मानुषिको बुझाइ छ । मानुषि भन्छिन्, ‘हामीले देश परिवर्तनको अजेन्डा बोकेर हिँड्दा, समृद्धिको कुरा गर्दैगर्दा सबैभन्दा महत्वपूर्ण हुन्छ आमा र बच्चाको स्वास्थ्य ।’
मानुषिका छोरा हुर्कंदै छन् । बच्चा हुर्कने क्रममा पनि आमाले भन्दा धेरै नियाल्दो रहेछ समाजले । कहिले दाँत आएन, कहिले बच्चा हिँडिसक्नु पर्थ्याे, किन हिडेँन आदि प्रश्न गरिहन्छ समाज । पहिलो सन्तान । त्यति धेरै ज्ञान छैन मानुषिलाई पनि । आमाको मन आत्तिँदो रहेछ । उनी हतारहतार गुगल गर्छिन् । युट्युबमा सर्च गर्छिन्।
हुर्कने क्रममा बच्चाले लड्दै-उठ्दै हुर्कनुपर्छ भन्ने लाग्छ मानुषिलाई । उनकी आमाले उनलाई सिकाएकै यही थियो ‘बच्चा जति लड्छ, त्यति उठ्ने प्रयत्न गर्छ । जति धेरै प्रयास गर्छ त्यति सफल हुन्छ ।’ त्यसैले उनले पनि छोरोलाई लड्न दिइन् । उठ्न दिइन् । परिवारका सदस्यले हुँदैन भन्दा मानुषिले भनिन्, ‘उठ्न सकेन भने उठाउने हामी छौं ।’ लड्दा छोरो दुखेर रोयो । मानुषिलाई लाग्यो, ‘आँसु पनि एउटा इमोसन हो । उसले रुन पनि सक्नुपर्छ ।’ छोरालाई रुन छोड्दिइन् । अहिले छोरो आफैं हिड्न सक्ने भएका छन् । छोरासँगै विस्तारै दौडिरहेका छन् मानुषिका खुसी पनि ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।