एनआरएन तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन लण्डनमा, तीन सयभन्दा बढी नेपाली चिकित्सक सहभागी हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा लण्डनमा तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन हुने भएको छ ।

सेप्टेम्बर १७ देखि १९ सम्म बेलायतको राजधानी लण्डनमा हुने सम्मेलनमा २५ देशका ३ सयभन्दा बढी नेपाली चिकित्सकहरुको सहभागिता रहने छ । 

सम्मेलनमा ५० भन्दा बढी नेपाली चिकित्सकहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले बताए ।

सम्मेलन​ स्वास्थ्य क्षेत्रमा अनुसन्धान, स्वास्थ्य प्रवर्द्धन, प्रयोगशाला, नेपालमा रोग नियन्त्रण केन्द्र, नेटवर्किङलगायत स्वास्थ्यसम्बन्धी उपचार रोकथाम र व्यवस्थापनमा केन्द्रित रहनेछ । सापकोटाका अनुसार सम्मेलनमा विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था, कोभिड १९ महामारीको प्रभाव र चुनौती, नेपालमा खोपको सम्भावना, मुटुरोग, बालबालिका तथा महिलाहरुको स्वास्थ्य अवस्थालगायत विषयमा विज्ञ चिकित्सकहरुले कार्यपत्र पेश गर्ने छन् । 

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको आतिथ्यमा हुने सम्मेलनलाई गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, डा. भगवान कोइराला, बेलायती उपल्लो सदनकी सदस्य लर्डस् ब्यानेरस क्यानेडी, डा. सुनिल शाह, गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मा, एनआरएनए स्वास्थ्य अनुसन्धान समितिका संयोजक डा. बोधराज सुवेदी लगायतले सम्बोधन गर्नेछन् । 

सम्मेलनमा नेपाल मेडिकल काउन्सिल, अष्ट्रेलिया नेपाली मेडिकल काउन्सिल, नेपाल नर्सिङ एसोसिएसन यूके, नेपाली डाक्टर एसोसिएसन यूके, गैरआवासीय नेपाली संघ यूके, नर्सिङ्ग नेपाली एसोसिएसन यूकेलगायत एक दर्जन संघसंस्था तथा प्रतिनिधिहरुको सहभागिता रहने छ । 



तीन दिनसम्म चल्ले सम्मेलनको पहिलो दिन चिकित्सकहरुले भर्चुअल माध्यमबाट आआफ्ना अनुसन्धान पत्र प्रस्तुत गर्ने छन् भने दोस्रो दिन सम्मेलनको औपचारिक उद्घाटन हुने छ । 

सेप्टेम्बर १९ मा लण्डन घोषणापत्र जारी गर्दै  सम्मेलन समापन गरिने गैरआवासीय नेपाली संघको कोभिड १९ उच्चस्तरीय समितिका संयोजक चिरन शर्माले जनाए । 
गैरआवासीय नेपाली संघको आयोजनामा यसअघि अमेरिकामा पहिलो र दोस्रो स्वास्थ्य सम्मेलन भइसकेको छ ।
 



  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार १३:४९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया