भरतलाई हराउने हो भने आक्रमणमा ध्यान दिनुपर्छ : राजुकाजी शाक्य

नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतविरुद्ध घरेलु मैदानमा आज (आइतबार) दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल दशरथ रंगशालामा साँझ साढे पाँचबाट हुनेछ । 

घरेलु मैदानमै भए पनि स्तरका आधारमा नेपालभन्दा निकैमाथि रहेको भारतविरुद्ध जित हात पार्न भने नेपाललाई त्यति सहज हुने छैन । 

भारतलाई पनि घरेलु टोली नेपालविरुद्ध खेल्न त्यति सहज छैन । बिहीबार पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । 

इतिहासलाई हेर्ने हो भने पनि भारत नेपालमाथि हाबी हुँदै आएको छ । नेपालले भारतविरुद्ध २० खेल खेल्दा २ खेलमा मात्र जित हात पारेको छ । १३ खेलमा पराजित हुँदा ५ खेल बराबरीमा सकिएको छ । 

सन् १९८५ को साफ च्याम्पियनसिपमा पहिलोपटक नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो । जसमा दुवै टोलीले गोल गर्न सकेनन् । इतिहासमा भारत बलियो भए पनि नेपालले घरेलु भूमिमा भने भारतविरुद्ध राम्रो प्रदर्शन गरेको छ । 

पछिल्लो समय नेपाली टोलीको खेल्ने शैलीमा निकै परिवर्तन भएको छ । यसले नेपाली फुटबलमा केही आशाका किरण देखिएको छ । 



प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको आगमनसँगै नेपाली टोली पहिलाको भन्दा केही आक्रामक बनेको छ । 

नेपालले सन् १९९३ को साग गेम्समा भारतलाई हराउँदै इतिहास रचेको थियो र त्यो टिमका कप्तान थिए राजुकाजी श्रेष्ठ । उनी आइतबारको खेलमा नेपालले भारतलाई हराउन सक्ने क्षमता राख्ने बताउँछन् ।



‘इतिहासलाई हेर्ने हो भने भारत बलियो देखिन्छ तर यसको मतलब यो होइन कि नेपालले उसलाई हराउन सक्दैन’, शाक्यले फरकधारसँग भने, ‘नेपालले भारतलाई हराउने क्षमता राख्छ तर त्यो खेल कसरी खेलिन्छ भन्नेमा भर पर्छ ।’

नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक समेत रहेका शाक्यले नेपालले भारतलाई हराउने हो भने आक्रमणलाई ध्यान दिनु पर्ने बताए ।

‘खेल जित्नका लागि गोलको आवश्यकता पर्छ बिहीबारको खेलमा नेपाल त्यहाँ चुकेको थियो’, शाक्यले भने,‘ भोलिको खेलमा हामीले त्यसमा ध्यान दिनुपर्छ ।’ 

‘नेपालको डिफेन्स लाइन राम्रो देखिएको छ । हामीले आक्रमण र फिनिसिङमा ध्यान दिनुपर्छ’, उनले थपे, ‘मिडफिल्डरले बल सप्लाई गराउने, वान टु पासमा ध्यान दिनुपर्छ । आफ्नो हाफबाट बल सप्लाई गर्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।’

शाक्यले नेपाललाई घरेलु मैदानको जति फाइदा छ त्यति नै दबाब रहेको बताए ।

‘नेपालले घरेलु मैदानमा खेल्दैछ । दर्शकको साथले उसलाई यसको जति फाइदा छ त्यति नै दबाब पनि । उनीहरुले टोलीबाट जितको आशा गरेको हुन्छन् । यही घरेलु दर्शक सामू नै हारिन्छ कि भन्ने डर हुन्छ ।’ 

भारतले बिहीबारको खेलमा क्षमता अनुसारको प्रदर्शन गर्न नसकेको शाक्यको बुझाइ छ ।

‘भारत हामी भन्दा निकै माथिल्लो स्तरको टोली हो तर अस्तिको खेललाई हेर्ने हो भने उसको हाम्रो स्तरमा खासै फरक देखिएन । यसको मतलब यो होइन कि भारत कमजोर छ ।’ 

‘उनीहरुसँग जुन हिसाबको लगानी, सेवा सुविधा, लिग संरचना छ, अन्तर्राष्ट्रिय म्याच एक्पोजर छ त्यो अनुरुपको खेल भने अस्ति देख्न पाइएन ।’ 

‘हामीले भारतविरुद्ध कहिल्यै पनि कमजोर प्रदर्शन गरेका छैनौँ । उसलाई सधैं  कडा टक्कर दिएका छौं’, शाक्यले थपे, ‘अस्तिको खेलपछि त झन हामीले उसलाई हराउन सक्छौँ भन्ने  आत्मविश्वास बढेको तर त्यो त्यति सहज भने छैन ।’ 

भारतलाई पहिलोपटक हराउँदाको त्यो क्षण

नेपालले सन् १९९३ को साग गेम्स अन्तर्गत पुरुष फुटबलमा भारतलाई हराउँदै इतिहास रचेको थियो । 

बंगलादेशको राजधानी ढाकामा स्वर्णका लागि भएको खेलको निर्धारित समयमा दुवै टोलीले २–२ गोल गरेपछि स्वर्णको टुङ्गो पेनाल्टीमार्फत लगाइएको थियो । त्यसमा नेपालले ४–२ को जित निकाल्दै स्वर्ण आफ्नो पोल्टामा पार्‍यो । 

त्यतिबेला नेपाली टोलीको नेतृत्व राजुकाजी शाक्यले गरेका थिए । उनी यो खेललाई सम्झन्छन्, ‘बंगलादेशमा भएको साग गेम्समा नेपालले एकमात्र स्वर्ण जितेको त्यो पनि फुटबलमा भारतलाई हराएर । त्यो क्षणलाई शब्दमा बयान गर्नै सकिँदैन । यो नेपालका लागि ठूलो सफलता थियो । मलाई लाग्छ यो जित नेपाली खेल इतिहासकै एक ऐतिहासिक हो ।’

  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार २०:४२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया