बेहाल कोशी अस्पतालः प्रसूति कक्षमा डुबान, अप्रेसन थिएटरमै चुहिन्छ पानी

प्रदेश १ का विरामीको ठूलो आधार बन्नुपर्ने सरकारी ‘कोशी अस्पताल’ आफैं विरामी छ । सामान्य पानी पर्दा अस्पतालको प्रसूति कक्ष डुब्छ भने अप्रेसन थिएटरमा पानी चुहिन्छ । 

६ महिना अघि अस्पतालले आँखा उपचार सेवा सुरु गर्यो । तर, उपचार गर्ने डाक्टरको दरबन्दी भए पनि डाक्टर थिएनन् । केही समयपछि अस्पताल सञ्चालक समितिले करारमा डाक्टर नियुक्ती गर्यो । 

विशेषज्ञ सेवा दिने गरी डाक्टरको प्रबन्ध मिलाएपछि अस्पतालले आँखा उपचार सेवा त सुरु गर्यो, तर डाक्टरलाई बस्ने कोठा व्यवस्थापन गर्न सकेन । पुराना संरचना र समिति भवनका कारण तीन महिना लगाएर बिरामी चेकजाँच गर्नका लागि अस्पतालले डाक्टरलाई कोठाको व्यवस्था गर्यो ।  

डाक्टर र चेकजाँच गर्ने कोठा बनाउनै तीन महिना लगाएको अस्पताल प्रशासनले अहिलेसम्म विरामीका लागि आवश्यक पर्ने चस्मा र औषधि राख्ने ठाउँ व्यवस्था गर्न सकेको छैन । त्यतिमात्र होइन अस्पतालको अप्रेसन थिएटरमा पानी चुहिन्छ । ‘पानी चुहिनाले विरामीको अप्रेशनमा समेत प्रभाव परेको छ,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट चुमनलाल दास बताउँछन् । उनका अनुसार पानी पर्दा बाल्टी र आरी थाप्ने गरिएको छ । 

पुराना भवनहरु भत्काइएको र नयाँ बनिनसकेका कारण अस्पतालको सेवा प्रवाहमा समस्या परेको अस्पताल प्रशासन बताउँछ । भौतिक पूर्वाधार अभाव भए पनि अस्पतालमा अत्यधिक भीड हुने गरेको दासले बताए । स्थान अभावका कारण विरामीका साथै तिनका कुरुवा मर्कामा पर्दै आएका छन् । ‘अहिले अस्पतालमा सवै भन्दा ठूलो समस्या भौतिक पूर्वधारको रहेको छ,’ दास भन्छन् ।

स्वास्थ्य वीमापछि विरामीको चाप 



स्वास्थ्य बीमामा सरकारले कडाइ गरेपछि अस्पतालमा विरामीको चाप बढेको छ । यसअघि विराटनगरका निजी अस्पतालहरुले विज्ञापन नै गरेर स्वास्थ्य बीमा गरेका विरामीलाई आफूतिर आकर्षित गर्दै आएका थिए । निजी अस्पतालले सामान्य विरामीलाई समेत धेरै परीक्षण गरेर सरकारसँग बीमावापतको रकम असुल्दै आएका थिए । 
साउनयता भने सेवा बिन्दूबाट रिफर नभई निजी अस्पतालमा गए स्वास्थ बीमाको रकम नपठाउने निर्णय भएको छ । यसले गर्दा कोशी अस्पतालमा विरामीको चाप बढेको हो । 

यसअघि विरामीको इच्छाअनुसार सजिलै रिफर गरिँदै आएकोमा साउनदेखि भने डाक्टरले एनएमसी राखेर कारण खुलाई रिफरको चिठ्ठी बनाइदिनु पर्ने नियम लागू भएको छ । डाक्टरलाई कडाइ गरेपछि बिरामीलाई रिफर गर्न कम हुन थालेको छ । 



दैनिक ओपिडीमा ५ सय देखि ६ सय जना विरामी कोशी अस्पतालमा आउने गरेकोमा साउनयता भने ३ सय जनासम्म  सेवा लिन आउन थालेको अस्पतालले बताएको छ । तीमध्ये अधिकांश स्वास्थ्य बीमा कार्यक्रममा सहभागी छन् ।  

नाम दर्ता गराउन नै अस्पतालमा आधादेखि एक घण्टा लाइन बस्नुपर्ने कर्मचारीहरु बताउँछन् । औषधि लिन र परीक्षणमा समेत समस्या भएको छ । अस्पतालमा अहिले तीनवटा काउण्टरबाट सेवा दिइरहेको भए पनि विरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ ।  

अहिले ज्येष्ठ नागरिक, अपांगता भएका र अशक्तहरुका लागि एउटा काउन्टर र महिला–पुरुषको दुईवटा गरी तीन स्थानबाट सेवा दिँदा समेत समस्या भएको बीमा कार्यक्रम सम्बद्ध कर्मचारी भोला ढुंगेल बताउँछन् । सबै डकुमेन्ट स्क्यान गर्नुपर्ने भएकाले समय लागेको उनले बताए । 

अहिले सात कर्मचारीले बीमा कार्यक्रम हेरिरहेका छन् । कर्मचारी थपका साथै काउन्टर बढाउनुपर्ने सेवाग्राहीको माग छ । स्थान अभावका कारण कर्मचारी थप गरेर काउन्टर बढाउन सक्ने अवस्था नभएको अस्पताल प्रशासन बताउँछ । बीमा गरेका विरामीले निःशुल्क औषधि लिन १ घण्टासम्म लाइनमा बस्नुपर्ने अवस्था छ । 

आमाको उपचार गराउन रंगेलीबाट आएका हिरण्य कार्कीले बीमाका गरिएका विरामीको चापका कारण सास्ती खेप्नुपरेको बताए । ‘नाम दर्ता गराउन एक घण्टा र औषधि लिन एक घण्टा लाइनमा बस्नुपरेको छ,’ उनले भने । 

काउण्टर थप गर्ने विषयमा धेरै पटक छलफल भइसकेको छ । तर, स्थान अभावका कारण थप गर्न सक्ने अवस्था नभएको अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई बताउँछन् । 

परीक्षणमा पालो सिस्टम 

पूर्वाधार र कर्मचारी अभावका कारण कोशी अस्पतालमा उपचारमा आएका विरामीहरूले लामो समयसम्म पालो कुरेर बस्नुपरेको छ । रेडियोलोजी विभागमा कर्मचारी नहुँदा अहिले एक्सरे गर्नै तीन दिनसम्म पर्खनुपर्छ । भिडियो एक्सरे, सिटी स्क्यानलगायतका सेवा लिन कम्तीमा तीन दिन पालो कुर्नुपर्ने विरामीहरु बताउँछन् । 

दैनिक तीन सयदेखि चार सय जना विरामीको भिडियो एक्सरे गर्नुपर्छ । डाक्टर अभाव भएका कारण अहिले दैनिक ८० वटासम्म भिडियो एक्सरे हुँदै आएको छ । घण्टौँ लाइन बसेपछि कोटा सकिएको भन्दै भोलि लाइन लाग्न भनिएपछि विरामीहरुले अस्पतालमा केही दिनअघि ओन्दोलन नै गरेका थिए । 

आन्दोलनपछि पालो सिस्टम त लगाइएको छ, तर समस्या समाधान हुन सकेको छैन । अस्पतालले रिफर पनि नदिने र समयमा उपचार पनि गर्न नसक्दा विरामी मर्कामा परेका छन् । 

रेडियोलोजी विभागमा दुई चिकित्सकको दरबन्दी भए पनि पाँच वर्षदेखि रिक्त रहेको छ । अस्पताल विकास समितिले करारमा नियुक्त गरेको दुई जना र दरबन्दीका एक जना गरी तीनजना रेडियोलोजिस्टले राजीनामा दिएका कारण सेवा प्रभावित बनेको हो । 

अहिले विकास समितिले दुई जना डाक्टर त ल्याइसकेको छ, तर स्थान अभावका कारण अस्पतालमा उपलब्ध उपकरणसमेत चालू गर्न सकिएको छैन । दरबन्दी अनुसार चिकित्सक नहुनु र करारमा रहेका डाक्टरहरुले पनि राजीनामा दिएका कारण समस्या भएको सुपरिन्टेन्डेन्ट चुमनलाल दासले बताए । ‘समस्या समाधन गर्न अहिले एकजना डाक्टर नियुक्त गरिएको र अन्य दुईजनालाई पनि मन्त्रालयले चाँडै पठाउने तयारी गरिरहेको छ,’ उनले भने । 

अस्पतालमा अहिले रेडियोलोजिस्ट बाहेक ऐनेस्थेसिया, नेफ्रोलोजिस्ट, कार्डियोलोजिस्टको पनि अभाव छ । ‘विरामीको चाप थेग्न सक्ने क्षमता अस्पतालको छ, तर डाक्टर नहुँदा सेवा प्रवाहमा समस्या भएको छ,’ दासले भने, ‘कोशी अस्पताल पाँचसय श्ययामा अपग्रेड भएकाले अब चाँडै दरबन्दी अनुसारका चिकित्सक आउने विश्वास छ ।’ 

कहिले बन्ला भवन

कोशी अस्पतालमा अहिले दुईवटा भवनमा तला थप्न र एउटा नयाँ निर्माणको ठेक्का दिइएको छ । अमेरिकी स्वयमसेवीहरुले पनि एउटा भवन बनाउन मद्दत गरेका छन् । एउटा भवन बनाउन ठेक्का प्रक्रिया सुरु भइसकेको अस्पताल विकास समितिका अध्यक्ष भट्टराई बताउँछन् । 

तीन करोड १ लाख ७६ हजार रुपैयाँमा ठेक्का दिइएको भवन असार मसान्तभित्र निर्माण सम्पन्न भइसक्नु पर्ने थियो । काम समयमा नसकिएपछि ६ महिना समय थप गरिएको अस्पतालले बतायो । ठेकेदारले सुस्त ढंगमा काम गरिरहेकाले निर्माण कहिले सम्पन्न हुन्छ, यसै भन्न नसकिने अस्पतालकै कर्मचारी बताउँछन् । 

कोरोना विरामीको उपचार भइरहेकाले पनि निर्माणकार्य ढिला भएको ठेकेदार कम्पनीले बताउँदै आएको छ । सबै तिरको निर्माणकार्य ७० प्रतिशतमात्रै भएको छ । 

अहिले पुरानो इमर्जेन्सी भवन भत्काएर नयाँ बनाउन ३३ करोड २२ लाख ४८ हजार रुपैयाँमा ठेक्का दिइएको छ । त्यसको भर्खर जग खन्ने काम थालिएकाले कम्तीमा दुई वर्ष लाग्ने ठेकेदार कम्पनीले बताएको छ । 

अमेरिकी स्वयमसेवीहरुले निर्माण गरिदिन लागेको मेटर्निटी भवनको काम पनि अधुरै छ । मेडिकल सुपरिन्टेन्डेन्ट दास पाँच वर्षमा अस्पतालमा पर्याप्त भवन बनिसक्ने बताउँछन् । उनका अनुसार प्रसूति र अप्रेसन थिएटर रहेको भवन समेत भत्काएर नयाँ बनाउने योजना संघीय सरकारको छ । यसका लागि बजेट विनियोजन भएको र ठेक्का प्रक्रिया सुरु भएको उनले बताए । 

  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार १४:१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया