१५ करोडको कालिञ्चोक गाई फार्म १० वर्षदेखि अलपत्र, स्थानीयलाई झुक्याएर जग्गा मात्रै लिइयो

१० वर्षअघि दक्षिण एसियाकै ठूलो भन्दै सुरु गरिएको कालिञ्चोक गाई फार्ममा अहिले न गाई छन् न त सञ्चालक नै बस्छन् । दोलखाको भीमेश्वर नगरपालिका–८ बोचमा १५ करोड लगानीमा उक्त फार्म सुरु गरिएको थियो ।  

६ वटा सामुदायिक वनको करिब ३० हजार रोपनी गाई फार्मको नाममा लिएको एक दशक नाघिसकेको छ । फार्ममा स्थानीयलाई रोजगारी, आम्दानीको लोभ र भ्रम छरेर पाँच सय रोपनी जग्गा लिइएको थियो । स्थानीयले १० वर्षसम्म न गाई देख्न पाए न आफ्नो जग्गाको मुआब्जा लिन पाए । निःशुल्क जग्गा दिएका उनीहरुले गाई फार्ममा गाई नै नभएपछि पछिल्लो समय जग्गा फिर्ताको लागि अभियान थालेको स्थानीय पेमा लामाले जानकारी दिए ।  

वन र स्थानीयको जग्गामात्रै हडपेर आलु उत्पादन गर्दै बिक्री गर्ने गरेको पाइएको छ । फार्ममा केही बाख्रा र कुकुरमात्रै पालिएको स्थानीय बताउँछन् । 

नेपाल डेरी उद्योग संघका पूर्वअध्यक्ष तथा कालिञ्चोक काउफार्म एन्ड रिसर्च सेन्टरका प्रमुख रामकुमार खड्काले सरकारी सहयोगमा गाई फार्म सञ्चालनमा ल्याउने तयारी गरेका थिए । तर, उनले बनाएका योजना जनतालाई झुक्याएर जग्गा हडप्ने योजना मात्रै रहेका स्थानीयको आरोप छ । 

उनले स्थानीय जनता र सरकारका प्रतिनिधिलाई दैनिक डेढ लाख लिटर दूध उत्पादन गर्ने लक्ष्यसहित ६ सय गाई पाल्ने योजना सुनाएका थिए । तर, यहाँ जग्गा सम्याएर आलु मात्रै उत्पादन गरेर बेच्ने गरेको स्थानीय पाल्कु लामाको बताउँछन् ।  

०६८ सालदेखि काम सुरु गरिएको रिसर्च सेन्टरले फार्मलाई अलपत्र मात्रै छाडेन, जनताको चासो र अपेक्षामा समेत लात मारेको स्थानीयको आरोप छ । यो फार्म काठमाडौंबाट एक सय २० किलोमिटरको दूरीमा पर्छ । फार्ममा बनेका अधिकांश संरचना अलपत्र छन् । पब्लिक प्राइभेट पार्टनरसिप (पिपिपी) मोडलमा सुरु गर्ने भनिएको गाई फार्ममा सरकार र फार्मको संयुक्त १५ करोड लगानी भएको छ ।  



गाईपालनका लागि अत्याधुनिक गोठ बनेका छन् । ती गोठको भुइँ, छाना र भित्तामा काठको फ्लोरिङ ओच्छ्याइएको छ । घना जंगल मासेर भव्य कटेज बनेका छन् । ठूला रूख काटेर घाँस खेतीका लागि बारी बनाइएका छन् । 

बारीमा आलु रोपेर रिसर्च सेन्टरका खड्काले आफ्नो लगानी सुरक्षित गरेको स्थानीयको आरोप छ । आधुनिक फार्मलाई भूकम्पले पनि क्षति पु¥याएको थियो । मुडे–चरिकोट राजमार्गको हलहलेबाट करिब ५ किलोमिटर पहुँच मार्गसहित फार्ममा करिब ११ करोड भने लगानी भइसकेको बताइन्छ । सञ्चालक खड्काले स्थानीयबाट व्यक्तिगत सेयरसमेत लिएको खुलेको छ । 



‘मेलै सकेको जति गरेको छु । अहिले बाख्रा पालन भइरहेको छ । कात्तिक–मंसिरमा गाई हाल्ने योजनामा छौं,’ फरकधारसँग कुराकानी गर्दै फार्म सञ्चालक खड्काले भने, ‘भित्रभित्र काम गरिरहेका छौं । हल्ला मात्रै गर्ने, सपोर्ट कसैले नगर्ने, कसैको आठ पैसा लिएको छैन !’ फार्मको उद्देश्य गाई मात्र होइन, मौसम अनुसारको र बेमौसमी तरकारी लगाउने पनि रहेको खड्काले बताए । 

नेदरल्यान्ड्सबाट गाई ल्याउने योजना 

फार्म सञ्चालक खड्काले नेदरल्यान्ड्सबाट गाई ल्याउने योजना सुनाएका थिए । नेदरल्यान्ड्सको एउटा कम्पनीले कोलकातासम्म १२ सय डलरमा गाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको उनले बताएका थिए । नेदरल्यान्ड्सबाट आउने गाईले दैनिक ३० लिटर दूध दिने उनको ग्यारेन्टी थियो । नेदरल्यान्ड्सबाटै ६ महिनाका लागि घाँस ल्याउने कथासमेत १० वर्षअघि उनले सुनाएका थिए ।

गाई दुहुनेको लागि डेढ करोडकै मिल्किङ पार्लर समेत आयात गर्ने उनले बताएका थिए । उनका सबै योजना कागजमा सीमित भएका छन् । 

  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार १७:५४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया