नेपालले ११ वर्षपछि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय समितिको ७४ औं सत्र आयोजना गर्दै

काठमाडौं । नेपालले विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय समितिको ७४ औं सत्र आयोजना गर्ने भएको छ । भोलीबाट सुरु हुने सम्मेलन २५ गतेसम्म चल्नेछ । 

भर्चुअल माध्यमबाट सञ्चालन हुने उक्त सत्रमा दक्षिण पूर्वी एसियाका ११ वटा सदस्य राष्ट्रहरुका प्रतिनिधिको सहभागिता रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उक्त सत्रको नेपालले अध्यक्षको जिम्मेवारी वहन गर्नेछ । 

११ वर्षपछि नेपालले आयोजना गर्न लागेको उक्त सत्रमा सदस्य राष्ट्रका स्वास्थ्यमन्त्री, विश्व स्वास्थ्य संगठनका महानिर्देशक, क्षेत्रीय निर्देशक, सदस्य राष्ट्रका वरिष्ठ स्वास्थ्य अधिकारी लगायत संयुक्त राष्ट्र संघका एजेन्सीहरू, विकास साझेदारहरु, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहनेछ । 

नेपालले यसअघि सन् २००९ मा क्षेत्रीय समितिको सत्र सञ्चालन गरेको थियो । ११ वर्षपछि नेपालले सत्र आयोजना गर्ने दोस्रो मौका पाएको हो । 

दक्षिण पूर्वी एसियाली राष्ट्रहरुमा विश्व स्वास्थ्य संगठनका कार्यक्रमहरु, नीति, बजेटको समिक्षा तथा स्वीकृति गर्नुको साथै कोभिड–१९ लगायतका अन्य समसामयिक जनस्वास्थ्यका विभिन्न मुद्दाहरूमा छलफल हुनेछ । 

उक्त सत्रमा नेपालले प्रस्ताव गरे अनुसार कोभिड–१९ का सन्दर्भमा स्वास्थ्यको सर्वव्यापी पहुँच कसरी बढाउने र स्वास्थ्य सम्बन्धी दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य प्रणालीलाई कसरी थप सुदृढ गर्न सकिन्छ भन्ने बारेमा मन्त्री स्तरीय विशेष छलफल समेत हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । 



आपसी एकता, हातेमालो र परस्पर सहयोगले विपद र महामारीलाई नियन्त्रण गर्नुका साथै स्वास्थ्य सम्बन्धी विश्व, क्षेत्रीय र राष्ट्रिय स्तरमा जाहेर भएका प्रतिबद्धताहरूलाई कसरी प्रभावकारी ढंगले हासिल गर्न सकिन्छ भन्ने बारेमा यस सत्रमा विशेष छलफल हुनेछ । 

साथै यो क्षेत्रका समसामयिक र महत्वपूर्ण स्वास्थ्य मुद्दाहरु माथि छलफल गरी आगामी दिनहरुमा सदस्य राष्ट्रहरु तथा संगठनले चाल्नुपर्ने कदमहरूका बारेमा साझा अवधारणा तथा योजना बनाउने कार्यक्रम रहेको छ । 



नेपालले यस सत्रदेखि आगामी एक वर्षका लागि विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय समितिको अध्यक्षका रुपमा कार्य गर्नेछ । 

  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार १७:३२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया