भारतविरुद्ध हुने दोस्रो मैत्रीपूर्ण खेलमा लागि दशरथ रंगशालाको मैदान उत्रीदै नेपाली पुरुष फुटबल टिमका गोलरक्षक तथा कप्तान किरण चेमजोङले पूर्व कप्तान विराट महर्जनको कीर्तिमान तोडेका छन् ।
भारतविरुद्धको यो खेल उनले देशका लागि खेलेको ७४औँ खेल हो । योसँगै किरण नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बनेका छन् ।
भारतविरुद्ध नै बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमार्फत विराजको ७३ खेलको कीर्तिमानसँग बराबरी गरेका किरणले त्यसलाई तोड्दै यो कीर्तिमान आफ्नो नाममा गराएका हुन् ।
सन् २००८ मा कम्बोडियामा आयोजना भएको एएफसी च्यालेन्ज कप छनोट अन्तर्गत मे २४ मा भएको मकाउ विरुद्धको खेलबाट किरणले नेपालका लागि अन्र्तराष्ट्रिय डेब्यु गरेका थिए ।
उनको अन्र्तराष्ट्रिय डेब्यु सुखद थिएन । पहिलो खेलमै किरणले गम्भिर चोटको सामना गर्नु परेको थियो ।
खेल सुरु भएको मात्र २३ मिनेटमै हल्का उचाइ लिएको बललाई नियन्त्रण गर्ने क्रममा उनी विपक्षी खेलाडीसँग ठोकिन पुगे र उनको बङ्गारामा गम्भिर चोट लागेको थियो ।
करिब पाँच मिनेट मैदानमै प्राथमिक उपचार गरेपनि खेल्न सक्ने स्थितीमा नरहेपछि उनले मैदान छाडेका थिए । त्यसपछि उक्त खेलमा उनको स्थान रितेश थापाले लिए ।
डेब्यु खेलमै चोट बोकेका उनले करिब ३ वर्षपछि सन् २०११ मार्च १७ मा भुटान विरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा पुनरागमन गरे । त्यसयता उनले पछाडी फर्किएर हेर्नु परेको छैन ।
सन् २०१८ मा साफ च्याम्पियनसिप अन्तर्गत भएको भुटान विरुद्धको खेलमा पहिलोपटक नेपालको कप्तानी गरेका थिए ।
किरणले यो खेलसँगै गोलरक्षकका रुपमा नेपालका लागि सर्वाधिक खेलमा कप्तानी गर्ने उपेन्द्र मान सिंहको कीर्तिमानसँग पनि बराबरी गरे । दुवैले १७ खेलमा कप्तानी गरेका छन् ।
हालसम्म खेलेका ७३ खेलमा उनले २४ क्लिन सिट राख्न सफल भएका छन् । नेपालका लागि सन् २०१६ मा एएफसी सोलिडारिटी र सन् २०२१ मै त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि हात पारेका छन् ।
नेपालले त्रीदेशीय फुटबल प्रतियोगिताको उपाधि जित्दा टोलीको कप्तानी किरणले नै गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।