ग्राउन्ड जिरो ः सुनसरीमा नागरिकता बनाउन तीन साता, बिचौलियाको बिगबिगी

इटहरीकी सृष्टि निरौला दुई साताघि आइतबार नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय इनरुवा गइन् । वडाको सिफारिस, जन्मदर्ता प्रमाणपत्रको फोटोकपी, एसइई प्रमाणपत्र र बाबुको नागरिकता उनले साथै लगेकी थिइन् । र, थिए बाबु पनि सँगै ।  

सृष्टि जिप्रका पुग्दा बिहानको ८ मात्रै बजेको थियो । उनले खाना पनि खाएकी थिइनन् । उनी कार्यालय पुग्दा कार्यालयको ढोकाबाहिर सेवाग्राहीको लामो लाइन लागिसकेको थियो । 

लाइनमा उनी  र उनका बुवा पाललैपालो गरेर बसे । १० बजे  कार्यालयको ढोका खुल्यो । ठेलमठेल गर्दै उनी नागरिकता बनाउनका लागि दर्ता गर्ने कोठाको झ्यालबाहिर लाइनमा पुगिन्् । काउन्टरअगाडि उनी लाइन पुग्दा सयजना भन्दा बढी उनका अगाडि थिए ।  

कार्यालय खुल्यो, कर्मचारी आउन थाले, अगाडि परेकाहरुको दर्ता हुन थाल्यो । कागजात पुगेकाहरुलाई अर्को लाइनमा बस्न भनियो । कागजात नपुगेकहरुलाई पुर्याएर ल्याउन भनियो । 

उनी पालो आउने आशामा २ बजेसम्म लाइनमै बसिन् । तर, उनले आफूले नागरिकता पाउनु पर्ने प्रमाण देखाउन पनि पाइनन् । आजलाई समय सकिएको भन्दै उनलाई फर्काइयो । 

कोरोना महामारीलाई दृष्टिगत गर्दै जिप्रका सुनसरीले पालिकाअनुसार बार तोकेर नागरिकता बनाउने गरेको छ । इटहरीको पालो आइतबार भएकाले एक सातापछि पुनः सृष्टि नागरिकता पाउने आशामा कार्यालय पुगिन् । तर, आफूसँग फाइलमा भएको कागजात दर्ता पनि नगरी फर्किन् । 



कक्षा १२ मा पढ्ने सृष्टि एक सातापछि पुनः २० गते आइतबार जिप्रकामा बिहान साढे सात बजे नै पुगिन् । उनी पुग्दा पनि कार्यलयको ढोकामा उस्तै लाइन थियो । लाइन कम होला कि भनेर उनी साढे सात बजे नै कार्यालय पुगेकी थिइनन् । यसपटक भने ढोकामा नभई झ्यालामा लाइन थियो । 

उनी लाइनमा बसिन् । १ बजे हामीले उनलाई भेट्दा पनि लाइनमै थिइन् । उनीभन्दा अगाडि ५० जना भन्दा बढी थिए । 



उनले भनिन्, ‘आज पनि नागरिकता नबन्ने भो । २ बज्न एक घण्टा बाँकी छ, म यत्ति पछाडि छु ।’ 

सुनसरीमा नागरिकता बनाउन सृष्टिले जस्तै कष्ट धेरैले भोग्दै आएका छन् । सुनसरी दुहवीका रमेश खतिवडा अर्का त्यस्तै पात्र हुन् । 

छोराको नागरिकता बनाउन उनी दुई सातादेखि जिप्रका धाइरहेका छन् । तर, उनले काम फत्ते गर्न सकिरहेका छैनन् । 

तीन साताअगाडि ९ बजे छोरा लिएर जिप्रका पुगेका थिए उनी । उनी भन्छन्, ‘अघिल्लो साता ढिलो भयो भनेर पर्किएँ । ८ बजे कार्यालय पुग्दा ढोकामा उस्तै लाइन थियो । लाइनमा बसेँ, तर नागरिकता नबनाई फर्किएँ ।’ उनले कागजात पुगे–नपुगेको सोध्ने मौकासमेत नपाएको बताए । ढोका र भ्यालअगाडि लाइनमा बसे उनी, तर लिएर गएको कागजपत्र पोको पारेर फर्किन बाध्य भए । ‘जिप्रका सुनसरीले सारै सकस दियो,’ सुस्केरा छाड्दै उनले भने ।

कोरोना महामारीको कारण देखाँउदै जिप्रका सुनसरीले नागरिकता बनाउन पालिकाअनुसार आलोपालो सिस्टम लगाएपछि सेवाग्राही हैरान भएका हुन् । आइतबार इटहरी उपमहानगर र धरान उपमहानगर क्षेत्रमा बसोबास गर्नेले नागरिकता बनाउन पाउने नियम छ । 

कार्यालयको झ्यालअगाडि छोरीसँगै लाइनमा भेटिएका उद्योग वाणिज्य संघ इटहरीका पूर्वमहासचिव उमेश पौडेले कोभिड महामारीका बहानामा जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवाग्राहीलाई सारै दुःख दिएको बताए । 

सोमबार रामधुनी नगरपालिका र भोक्राह गाउँपालिका, मंगलबार हरिनगर गाउँपालिका र बराह नगरपालिका, बुधबार कोशी र देवानगञ्ज गाउँपालिका, बिहीबार दुहवी नगरपालिका र गढी गाउँपालिका, शुक्रबार इनरुवा नगरपालिका र वर्जु गाउँपालिकालाई पालो छुट्याइएको छ । 

बिचौलियाको बिगबिगी 

कोरोना महामारीको अवधिमा जिप्रका सुनसरीमा सक्रिय बिचौलिया मालामाल भएका छन् । उनीहरु बिहानै गएर लाइनमा बसिदिने र सेवाग्राहीसँग पैसा लिएर पालो दिने गरेको भेटिएको छ । 

उनीहरुले आफू बसेको लाइनमा पालो दिएवापत २ हजार रुपैयाँसम्म लिने गरेका छन् । सेवाग्राहीले २ हजार रुपैयाँ तिरेर भए पनि नागरिकताको पालो किन्नुपरेको गुनासो गरेका छन् । त्यतिमात्र होइन, उनीहरुले नागरिकता फाँटका कर्मचारीसँगको मिलेमतोमा पालो मिच्ने गरिरहेको सेवाग्राहीको आरोप छ ।

केही बिचौलियाले कर्मचारीको टेबुलमै फाइल पुर्याइदिने समेत गरेका छन् । यसले गर्दा पनि सर्वसाधारण बढी मर्कामा पर्दै आएका छन् । आइतबार एकैजनाले ४ देखि ५ जनासम्मको नागरिकता बनाउने कागजात कर्मचारीको हातमा पारिदिएका थिए ।  

दुई साता धाउँदा पनि छोराको नागरिकता बनाउन नसकेपछि बिचौलियलाई समातेर नागरिकता बनाउनु परेको एक सेवाग्राहीले फरकधारलाई बताए । उनले भने, ‘फेरि आउनु भन्दा २ हजार रुपैयाँ दिएर पालो नआए पनि छोराको नागरिकता बनाएँ ।’ 

जिप्रका वरपर डेढ सयको हाराहारीमा लेखापढी व्यवसायी सक्रिय छन् । उनीहरुमध्ये कतिपयले बिचौलियाको काम गरिरहेका छन् । 

प्रजिअ भेट्न पाउँदैनन् सेवाग्राही 

जिप्रका सुनसरीमा पुगेका सेवाग्राहीले कार्यलय प्रमुखलाई भेट्नै नपाउने गुनासो गरेका छन् । कार्यालयभित्र छिर्न प्रहरीले रोक्ने गरेका कारण पहुँच वा चिनजान नभएका सेवाग्राहीले आफूलाई परेको गुनासो प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई सुनाउन पाएका छैनन् । ‘कार्यालयको माथिल्लो तलामा बस्ने प्रजिअलाई भेट्न नदिँदा कर्मचारी र बिचौलियाबीचको साँठगाँठ तथा अन्य गुनासो सुनाउन समेत पाइएन,’ एक सेवाग्राहीले भने । 

लामो समयदेखि जिल्लामा रहेर मानवअधिकार रक्षाको लागि काम गर्दै आएका अधिकारकर्मी रमेश भट्टराईले  सेवाग्राहीले सिडिओलाई भेट्नै नपाएको बताए । ‘सबै सेवाग्राहीको पहुँच हुँदैन । कार्यालयभित्र छिर्न नदिएका कारण भुइँ मान्छेहरुको पीडा सुनिदिने कोही भएन,’ उनले भने । 

कार्यालयका सबै काम झ्यालबाटै हुन्छ । कोठाभित्र प्रवेश गर्न नपाउँदा बिचौलिया र कर्मचारीको मनपरी हुने गरेको उनको भनाइ छ । कार्यालयमै रहेका प्रजिअ सेवाग्राहीसँग नभेटी सूचना अधिकारीलाई आफ्ना कुरा भन्नु भन्दै पन्छिने गरेका छन् । 
 
व्यवस्थित गर्ने प्रयासमा छौंः सहायक प्रजिअ 

कोरोना महामारीका कारण दुई महिना नागरिकता वितरण नगरिएकाले नागरिकता लिनेको भीड भएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । 

उनका अनुसार अहिले दैनिक एकसयभन्दा बढी सेवाग्राही नागरिकता बनाउन जिप्रका आउने गरेका छन् । कर्मचारी अभावका कारण अहिले दैनिक ८० जनाको मात्रै नागरिकता बनाउन सकिएको उनले जानकारी दिए । नागरिकता फाँटमा ४ जना अधिकृतको दरबन्दी भएकोमा अहिले ३ जना मात्रै भएकाले सहज रुपमा काम हुन नसकेको उनले बताए । 

गुनासो सुन्ने अधिकारी समेत रहेका पौडेलले नागरिकता वितरणमा समस्या भएकाले आफूहरुले व्यवस्थित गर्न लागेको दाबी गरे । ‘पहिला १० बजे मात्रै कार्यालयको ढोका खोल्ने गरेका थियौं । अचेल सातै बजेबाट खोल्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, सात बजेदेखि नै कर्मचारी कार्यालयमा आएर काम थाल्छन् ।’

टोकन सिस्टमका विषयमा भने आफू नयाँ भएको भन्दै प्रतिक्रिया दिएनन् । बिचौलियाबारे आफूहरुलाई जानकारी नभएको र प्रमाण भए अनुसन्धान गर्ने उनले बताए । 
 

  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १२:५४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया