विनाअनुमति नेपाली आकाशमा किन उड्यो भारतीय हेलिकप्टर ? गृह मौन

साउन १५ मा दार्चुलामा भएको तुइन प्रकरणमा नेपाल सरकार केही बोलेन । विपक्षी र सत्तापक्षका सांसदले नै भारतीय एसएसबीले तुइन काटेपछि नेपाली युवा जयसिंह धामी बेपत्ता भएको घटनामा सरकारको मौनताको विरोध गरे । पाँच दिनअघि विना इजाजत धामी बेपत्ता भएको ठाउँ र वरपरको नेपाली आकाशमा भारतले हेलिकप्टर उडायो । यी घटनाले भारतको मिचाहा आदत र नेपाल सरकारको अकर्मण्य स्वभाव एकै पटक उजागर गरिदिएको छ ।

विना इजाजत एउटा देशले अर्को देशमा जहाज वा हेलिकप्टर उडान गर्न पाउँदैन । अनुमतिविनै यस्तो उडान गर्नु विश्व व्यापी नियमको उल्लंघन हो । त्यतिमात्र होइन, हेलिकप्टर प्रशासनिक तथा अन्य सरकारी निकायको कार्यालयमाथि उडेको थियो । 

स्थानीय प्रशासनका अनुसार गैर सैनिक उक्त हेलिकप्टर जिल्ला प्रशासन कार्यालय, सेनाको ब्यारेक, सशस्त्र प्रहरी कार्यालयलाई लक्षित गरी उडेको थियो । दार्चुला सदरमुकाम खलंगा र ब्यास गाउँपालिका क्षेत्रमा निरन्तर भारतीय हेलिकप्टर उडाउन थालिएको दार्चुलाका प्रजिअ सिद्धराज जोशी बताउँछन् । घटनापछि स्थानीय प्रशासनले हेलिकप्टर उडान तत्काल रोक्नका लागि भारतको पिथौरागढका जिल्ला अधिकारीलाई पत्र लेख्यो ।  

जिप्रका दार्चुलाका सिडिओ जोशीका अनुसार, पत्र पठाएपछि हेलिकप्टर नेपाली आकाशमा आउन बन्द भएको छ । बुधबार र बिहीबार गरी दुई दिन भारतीय हेलिकप्टर नेपाली आकाशमा उडेको थियो । 

घटनाबारे जिप्रका दार्चुलाले गृह मन्त्रालयलाई जानकारी दिएको जनाएको छ । तर गृह मन्त्रालयबाट कुनै प्रतिक्रिया नआएको सिडिओ कार्यालयको भनाइ छ । 

किन मौन गृह ?



घटनाबारे गृह मन्त्रालयसँग प्रतिक्रिया लिन खोज्दा प्रवक्ता फणिन्द्रमणि पोखरेल बोल्न चाहेनन् । यो बोर्डरको विषय रहेको भन्दै उनी पन्छिए । उनले फरकधारसँग भने, ‘नेपाली आकाशमा हेलिकप्टर उड्नु बोर्डरको कुरा हो, त्यसैले यो विषय परराष्ट्र मन्त्रालयसँग ठोकिन्छ । अनि यसको जवाफ पनि उही मन्त्रालयबाट लिनुहोस्, यसमा यो बाहेक अरु कुनै प्रतिक्रिया छैन।’ उनले उक्त हेलिकप्टर नेपाल आउनको लागि अनुमति नलिएको उनी बताए । 

‘अरुको एयर स्पेस प्रयोग गलत’



लगातार नेपाली आकाशमा हेलिकप्टर उडाउनु एकदम गम्भीर विषय रहेको सुरक्षाविद्हरु बताउँछन् । उनीहरुका अनुसार यसरी विना इजाजत अर्काको देशमा हेलिकप्टर उडाउनु भनेको त्यो देशको प्रशासनलाई गिज्याउनु हो ।

सेनाका पूर्वअधिकारी उमेश भट्टराईका अनुसार अरु देशको एयर स्पेस प्रयोग गर्नु एकदम गलत हो । ‘इमर्जेन्सीबाहेक अन्य समयमा अरुको एयर स्पेस प्रयोग गर्न पाइँदैन,’ उनले भने, ‘यसले देशको स्वाधीनतामा र सुरक्षामा असर गर्छ, त्यसैले यसको म्यासेज गम्भीर छ । यो रोक्नको लागि सरकारले अफिसियल कम्प्लेन गर्नुपर्छ, किनकि यो सिरियस मुभ गर्नुपर्ने अवस्था हो ।’ 

पटकपटक विरोध गर्दा पनि भारतबाट यस्ता गतिविधि नरोक्नु भनेको राम्रो लक्षण नभएको पनि उनले बताए । यसको सीधा म्यासेज यही हो कि, तिमीहरु जेसुकै गर, हामी आफ्नो काम गरिरहन्छौं । उनका अनुसार, यो विषयमा ढिला नगरी सरकारले नै जनाउ गर्नुपर्छ । साथै, ‘एयरडिफेन्स’ सामग्रीहरु पनि राख्नु जरुरी रहेको भट्टराई बताउँछन् । 

  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १५:२७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया