कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले उम्मेदवारी दिने
फरकधार / २१ भदौ, २०७८
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रदीप पौडेलले उम्मेदवारी दिने भएका छन् । १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा अत्यन्त पपुलर भोटबाट निर्वाचित पौडेलले यसपटकको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने भएका हुन् ।



कांग्रेसको क्रियाशिल सदस्यता छानबिन समितिमा सदस्यका रुपमा समेत रहेका पौडेलले आफूले महामन्त्रीमा उम्मेदवारी केही दिनमा नै घोषणा गर्ने फरकधारसँग बताएका छन् ।



‘अहिले हामी क्रियाशिल सदस्यता छानबिनमा नै व्यस्त छौँ, यो मलाई पार्टीले दिएको जिम्मेवारी हो,’ पौडेलले भने, ‘यसको काम सकिए लगत्तै मैले महामन्त्रीको उम्मेदवारी घोषणा गर्नेछु ।’



क्रियाशिल सदस्यतामा रहेको विवाद समाधान गर्न विशेष मापदण्ड बनाएका कारण पौडेललाई पछिल्लो समय कांग्रेसका सबै शीर्ष नेताहरुले उनको प्रशंसा गर्न थालेका छन् ।



विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीति सुरु गरेका पौडेल बौद्धिक तथा स्पष्ट वक्ताका रुपमा कांग्रेसका युवाहरुमा निकै लोकप्रिय छन् ।

यसअघि कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पनि आफू पनि महामन्त्रीमा लड्ने घोषणा गरिसकेका छन् । त्यस्तै, कांग्रेसका अर्का युवा नेता विश्वप्रकाश शर्मा पनि यसपटक महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा छन् । थापाले आफू रामचन्द्र पौडेल पक्षबाट उम्मेदवार हुने बताइसकेका छन् ।



शर्माले भने कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षबाट उम्मेदवार हुन पाउने या नपाउने भन्ने अहिलेसम्म निश्चित भएको छैन । देउवा पक्षधर धेरै नेताहरु महामन्त्रीको आकांक्षी भएकाले पनि शर्मा देउवा प्यानलमा नै महामन्त्री हुने निश्चित नभएको हो । पौडेल चाहिँ १३ औं महाधिवेशनपछि कृष्णप्रसाद सिटौलासँग नजिक छन् । उनी यसपटक सिटौला क्याम्पबाट नै महामन्त्रीको उम्मेदवार हुने भएका हुन् ।



  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १६:६:५५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया