ओमानमा वास्तविक परीक्षा दिँदै नेपाली क्रिकेट, ब्याटिङ सुध्रिए जित्न सक्ने अनुमान

नेपाली क्रिकेटको निरन्तरको समस्या हो ब्याटिङ । अन्तर्राष्ट्रिय डेब्युदेखि नै नेपाललाई यो समस्याले पिरोल्दै आएको छ । 

इतिहासलाई पल्टाउने हो भने पनि यस्ता धेरै खेल छन् जहाँ ब्याटिङ कमजोर भएकै कारण नेपाल पराजित हुन पुगेको थियो । कुनै प्रतियोगिता खेल्न जानुअघि नेपालको सबैभन्दा ठूलो चिन्ता ब्याटिङ नै हुन्थ्यो, तर यसपटक भने नेपालको अवस्था फरक छ । अहिले नेपाल चिन्ताभन्दा पनि आशा बोकेर ओमान भ्रमणमा निस्किएको छ । 

नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत आयोजक ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्न अहिले ओमान पुगेको छ । त्यसअघि पपुवा न्युगिनीसँग दुई खेलको एक दिवसीय सिरिज खेल्ने छ । नेपाली टोलीमा नयाँ जोश, उत्साह छाएको छ भने आशा पनि जागेको छ ।

प्रशिक्षक डेभ वाट्मोरको आगनसँगै नेपालको ब्याटिङमा निकै परिवर्तन आएको छ । गत बैशाखमा सम्पन्न त्रिदेशीय टि–२० सिरिजमा नेपालको ब्याटिङ अपेक्षा गरिएको भन्दा निकै भिन्न थियो । 

नेपालले लगातार तीन खेलमा २०० भन्दा माथिको योगफल तयार पारेको थियो, जसमा युवा खेलाडीको प्रदर्शन लोभ लाग्दो थियो । सिरिजको पहिलो खेलमै सिनियर टोलीका लागि डेब्यु गरेका कुशल भूर्तेल र आशिफ शेखले उच्च प्रदर्शन गरे । उनीहरुले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरेका थिए । यो खेलमा नेपालले ९ विकेटको जित हात पारेको थियो, जसमा कुशलले ६२ रन र आशिफले अविजित ५४ रन बनाए । 



मलेसियाविरुद्धको दोस्रो खेलमा पनि यो जोडीले १०२ रनको साझेदारी गरेपछि  नेपालले ९ विकेटको सहज जित निकाल्यो । यो खेलमा कुशलले ६१ रन र आशिफले ४२ रन जोडे । कुशल र आशिफले सुरुवाती दुई खेलमा मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानको परीक्षा हुनै दिएनन् ।

चौथो खेलमा पनि नेपालले ६ विकेट गुमाउँदै २०६ रनको बलियो योगफल तयार पारेको थियो । यो खेलमा भने कुशल र आशिफको जोडी जम्न सकेन । उनीहरुले मात्र २० रनको साझेदारी गर्न सके ।



यो खेलमा कुशल ६२ रनको पारी खेल्दै आफ्नो टि–२० डेब्युको सुरुवाती ३ खेलमा  अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने । उपकप्तान दिपेन्द्रसिंह ऐरीले ६० रन बनाए । नेपालले बलियो योगफल तयार परेको भए पनि बलिङ राम्रो हुन नसक्दा खेल १५ रनले गुमायो । 

मलेसियाविरुद्धको चौथो खेलमा पनि नेपालको उत्कृष्ट ब्यााटिङले निरन्तरता पायो । नेपालले ७ विकेट गुमाउँदै ११७ रनको जोडेको थियो । 

नेपालका लागि करण केसीले ४५, आशिफ शेखले ४२ र कप्तान ज्ञानेन्द्र मल्लले ४१ रनको योगदान दिए । नेपालले खेल ६९ रनले आफ्नो पक्षमा पा¥यो । 

त्रिदेशीय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेदरल्यान्ड्सविरुद्ध आफ्नो टि–२० इतिहासकै उत्कृष्ट प्रदर्शन ग¥यो । नेपालले आफ्नो टि–२० इतिहासमा सबैभन्दा ठूलो योगफल तयार पार्ने क्रममा ३ विकेट गुमाएर २३८ रनको योगफल तयार पारेको थियो । 

यो खेलमा पनि कुशलले उत्कृष्ट प्रदर्शन गरे । उनले ७७ रनको पारी खेल्दा अविजित रहेका कुशलले ५० र दिपेन्द्रसिंह ऐरीले ४८ रन प्रहार गरेका थिए ।  
नेपालले नेदरल्यान्ड्सलाई ९६ रनमा रोक्दै १४२ रनको फराकिलो जित दर्ता ग¥यो ।  त्रिदेशीय क्रिकेट प्रतियोगितालाई आधार मान्ने हो भने नेपालको ब्याटिङमा निकै सुधार आएको छ ।

नेपाली ब्याटिङको असली परीक्षा भने ओमानमा हुने छ, किनकि त्रिदेशीय क्रिकेटमा नेपालले घरेलु मैदानमा खेलेको थियो, तर कमजोर टोलीसँग । 

मलेसिया नेपाल भन्दा तल्लो स्तरको टोली हो भने नेदरल्यान्ड्सले पनि आफ्ना मुख्य खेलाडीलाई पठाएको थिएन । अर्कोतिर त्रिवि क्रिकेट मैदान ब्याटिङ सहयोगी मानिन्छ । 

त्यो टि–२० खेल थियो भने, ओमानमा एकदिवसीय खेल खेल्ने छ त्यो पनि बलिया टोलीसँग । नेपालले करिब १९महिनापछि एकदिवसीय खेल खेल्न लागेको हो ।वाट्मोरको प्रशिक्षणमा नेपालले खेल्न लागेको यो पहिलो एकदिवसीय खेल हो । त्यसैले पनि टोलीले कस्तो प्रदर्शन गर्ला भन्ने चासो सर्वत्र छ ।  

ओमानको पिच तीव्र गतिका बलरलाई सहयोग पुग्ने खालको छ । त्रिकोणत्मक सिरिज निकै महत्वपूर्ण हुनेछ, किनकि यो एकदिवसीय विश्वकप खेल्ने माध्यम हो । त्यसैले प्रत्येक खेल जित्नै पर्ने दबाब हुन्छ । 

त्यसअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्दै छ ।  त्रिकोणात्मक सिरिजको तयारी स्वरुप हुने पपुवा न्युगिनीसँगको खेल नेपाललाई आफ्नो कमीकमजोरी सुधार्ने र आफ्नो बलियो पक्ष पहिचान गर्ने आधार बन्ने छ । 

आयोजक ओमान नेपालका लागि सधैं टाउको दुखाइको टोली बन्दै आएको छ । ओमानले घरेलु मैदानमा पनि त्यसलाई निरन्तरता दिने प्रयास गर्नेछ । 

इतिहास हेर्ने हो भने, नेपाल अमेरिकामाथि हाबी हुँदै आएको छ । तर, पछिल्लो समय निकै परिवर्तन भएको टोली बदला लिने दाउमा हुने छ । 

नेपाली टोलीमा युवा खेलाडीको बाहुल्य हुँदा उनीहरुबाट निकै आशा गरिएको छ । टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल शरद भेषवाकर र विनोद भण्डारीबाहेक अन्य खेलाडी युवा छन् । 

नेपालको सबैभन्दा ठूलो समस्या ओपनिङ पनि हो । टोलीले विगत चार वर्षमा यसका लागि धेरै प्रयोग गरेको छ । त्रिकोणात्मक सिरिजबाट कुशल भूर्तेल र आशिफ शेखले केही आशा देखाएका छन् । उनीहरु सिनियर टोलीका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्युको प्रतीक्षामा छन् ।

एकदिवसीय क्रिकेटमा खासै अनुभव नभएका उनीहरुले कस्तो प्रदर्शन गर्लान् त्यो आगामी दिनमै थाहा होला । आशिफले २ र कुशलले ३ लिस्ट ‘ए’ खेल खेलेका छन् ।
अनुभवी खेलाडी ज्ञानेन्द्र, शरद र विनोदलाई पनि उत्कृष्ट प्रदर्शन गर्ने दबाब सिर्जना भएको छ । मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरीले पनि उच्च प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

नेपालको स्पिन आक्रमण सन्दीप लामिछानेले सम्हाल्ने छन् । उनलाई सुशान भारीले साथ दिनेछन् । तीव्र गतिका बलरमा करण केसी, सोमपाल कामी, अभिनाश बोहरा र गुल्सन झा छन् । पहिलोपटक राष्ट्रिय टिममा स्थान बनाएका गुल्सन सिनियर टोलीबाट डेब्यु गर्ने प्रतीक्षामा छन् । 

ओमान भ्रमणमा रहेको नेपाली टोली ब्याटिङ र बलिङ दुवैमा युवा खेलाडीमा निर्भर देखिन्छ । त्यहाँ नेपाली ब्याटिङ र युवा खेलाडीको वास्तविक परीक्षा हुने छ । त्यसमा नेपाल कतिको सफल हुन्छ त्यो हेर्न बाँकी नै छ ।

ओमान भ्रमण प्रशिक्षक डेभ वाट्मोरका लागि अन्तिम हुने छ, त्यसैले पनि नेपाली टोली उत्कृष्ट प्रदर्शन गर्दै उनको बिदाइ सुखद् बनाउने प्रयासमा हुने छ । 

  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १६:२५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया