विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको बैठक प्रारम्भ

विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७४औँ बैठक सोमबारबाट सुरु भएको छ । उत्थानशील स्वास्थ्य प्रणाली निर्माण गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न स्वास्थ्य क्षेत्रका नेतृत्व प्रदायकको थप प्रतिबद्धताको माग गर्दै सो बैठक सुरु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य प्रणालीहरूले क्षमताभन्दा बढी भार थेग्नु परिरहेको बताए । ‘अहिलेको अवस्थामा यस क्षेत्रका मानिसको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि महत्वपूर्ण निर्णय लिनका लागि यो बैठक आयोजना गरिएको छ,’ उनले भने, ‘मानवताका लागि हामीले खोप, औषधि, औजार तथा प्रविधिमा समतामूलक पहुँच सुनिश्चित गर्नु आवश्यक छ ।’ 

पहुँच नपाएकाहरूसम्म सेवा पुग्ने प्राथमिकता हुनुपर्ने उनले बताए । विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिले यस क्षेत्रमा विश्व स्वास्थ्य संगठनको काम गर्ने गरेको छ । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेद्रोस अधानोम घेब्रेसियसले भने, ‘कोभिड–१९ महामारीले अझैपनि जीवन, जीविका, समाज तथा अर्थतन्त्रमा क्षति पुर्याइरहेको छ । दक्षिण–पूर्वी क्षेत्रमा गत मे महिना विनाशकारी रूपमा नै संक्रमणको संख्या बढेकोमा हाल आएर संक्रमण तथा मृत्युको संख्यामा कमी आएको देख्दा मलाई हर्ष लागेको छ ।’ 

तथापि, देशपिच्छे र ठाउँपिच्छे फरक–फरक अवस्था विद्यमान रहेको र केही स्थानमा तीव्र संख्यामा संक्रमण वृद्धि भइरहेको भन्दै उनले अब भविष्यमा फेरि यस्तो ठूलो महामारी हुन नदिन लागिपर्नुपर्ने बताए । 

क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपालले भनिन्, ‘कोभिडले हाम्रा स्वास्थ्य प्रणालीलाई निकै ठूलो क्षति पुर्याएको छ । सेवाहरू अवरुद्ध भएका छन् र स्वास्थ्यकर्मीहरू गलेका छन् । हाम्रो सामुन्ने बहुमुखी चुनौती छ ।’ 



‘हामीले स्वास्थ्यमा गुमाएका उपलब्धिहरूलाई पुनः प्राप्त गर्नु छ, क्षमता गुमाएका स्वास्थ्य प्रणालीहरूलाई पुनः निर्माण गर्नु छ,’ उनले भनिन्, ‘यो सबै हामीले यस्तो अवस्थामा गर्नु छ, जुन बेला सबै देशका सरकारहरूको राजस्वमा ठूलो दबाब सिर्जना भएको छ ।’

सदस्य राष्ट्रहरूका स्वास्थ्यमन्त्री तथा स्वास्थ्यका उच्च पदाधिकारी, संयुक्त राष्ट्र संघका निकाय, साझेदार, दातृनिकाय, तथा नागरिक समाजका प्रतिनिधिको उपस्थिति रहने पाँच दिने भर्चुअल सत्रमा जनस्वास्थ्य आपत्कालको तयारी तथा प्रतिकार्यको सुदृढीकरण कसरी गर्ने तथा नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा भएको प्रगतिलाई कसरी अझ द्रुत बनाउने भन्नेलगायत स्वास्थ्यसम्बन्धी मुद्दाहरूमा छलफल हुने बताइएको छ ।



स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्ने उद्देश्यका साथ कोभिड–१९ महामारीले क्षति पुर्याएका अत्यावश्यक स्वास्थ्य सेवाहरूको ‘अझ राम्रो पुननिर्माण’ विषयमा मंगलबार मन्त्रीस्तरीय गोलमेच हुने कार्यक्रम छ ।

छलफल हुने अन्य मुख्य मुद्दाहरूमा खोपको कार्ययोजनाका लागि क्षेत्रीय खाका, विद्यालय स्वास्थ्यको पुनरुत्थान, र भाइरल हेपाटाइटिस, एचआइभी तथा यौनजन्य संक्रमणको अन्त्य रहेका छन् ।

क्षेत्रीय समितिले गत बैठकमा सन् २०२३ सम्ममा दादुरा तथा रुबेलाको उन्मूलन, अत्यावश्यक स्वास्थ्य सामग्रीमाथिको पहुँचमा अभिवृद्धि, तथा प्राथमिक स्वास्थ्य चौकीको स्तरमा नसर्ने रोगसम्बन्धी सेवाको प्रवाहलाई तीव्र बनाउन स्वास्थ्य प्रणालीको सुदृढीकरणका सम्बन्धमा भएका प्रगतिउपर प्रतिबद्धता आएका थिए ।

विश्वको एक चौथाइ जनसंख्याको बसोबास रहेको यस क्षेत्रको रोगभार भने तुलनात्मक रूपमा उच्च रहेको छ । यस क्षेत्रले सन् २०२३ सम्ममा दादुरा तथा रुबेलाको उन्मूलन गर्ने, बहुक्षेत्रीय नीति तथा योजनाको माध्यमबाट नसर्ने रोगहरूको सम्बोधन गर्ने, मातृ, नवजात शिशु, तथा पाँच वर्षभन्दा मुनिको बालबालिकाको मृत्युदर न्यूनीकरणलाई थप गति दिने, स्वास्थ्यमा सर्वव्यापी पहुँचलाई बढाउने, एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई उल्टाउने, आपत्कालीन जोखिम व्यवस्थापन क्षमतालाई अभिवृद्धि गर्ने, वास्ता नगरिएका ट्रपिकल रोगहरू उन्मूलन गर्ने र क्षयरोग अन्त्य गर्ने जस्ता विषयहरूलाई प्राथमिकता दिँदै आएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १८:१४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया