कांग्रेस महाधिवेशन : मकवानपुरमा युवाको वर्चस्व

भदौ १८ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मकवानपुरका वडा अधिवेशन आइतबार सम्पन्न भएको छ । वडाअधिवेशनमा अधिकांश वडामा सर्वसम्मत ढंगले नेतृत्व चयन भएको छ । 

मकवानपुरका ग्रामीण क्षेत्रका प्रायः वडामा  सर्वसम्मत रुपमा नेतृत्व चयन भएका छन् । मकवानपुरमा सर्वसम्मत भएका वडाहरुमा युवा कांग्रेसको वर्चस्व देखिएको छ । 

नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाका अनुसार मकवानपुरको बागमती, राक्सिराङ र कैलाश गाउँपालिका, मकवानपुरगढी, इन्द्रसरोवर, भीमफेदीलगायतका वडामा सर्वसम्मत ढंगले अधिवेशन भएको छ । यस्तै, बकैया गाउँपालिका ७ नम्बर वडा मा निर्वाचन भएको छ भने अन्य वडामा सर्वसम्मत नेतृत्व र प्रतिनिधि चयन भएका छन् । 

यस्तै, मनहरी गाउँपालिकाको दुई वडामा निर्वाचन भएको छ भन्ने अन्य वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । हेटौँडा उपमहानगरपालिकाका १९ वडामध्ये ७ वटा वडामा निर्वाचन भएको थियो भने थाहा नगरपालिकाका केही वडामा पनि निर्वाचन भएको प्रवक्ता कोइरालाले जानकारी दिए ।  

यद्यपि, निर्वाचन समितिबाट आधिकारिक जानकारीसहितको सूची आइसकेको कोइरालाले जानकारी दिए । 

वडाकाे नेतृत्व नेविसंघ र तरुणका हातमा



नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ तथा कांग्रेसको युवा संघ तरुण दलका नेताहरुले वडा–वडामा आफ्नो पकड बनाएका छन् । नेविसंघका कार्यकर्ता बकैया १ का बुद्ध ब्रम्मु सर्वसम्मत वडा सभापति बनेका छन् । उनी उमेरले मात्रै २३ पुगेका छन् । 

यस्तै नेविसंघका नेता सुवास सापकोटा, नेविसंघकै सुनिल भोम्जन, सुनिल मोक्तान, बुद्ध लामा पनि वडा सभापति बनेका छन् । यस्तै, तरुण दलका नेता युवराज लामा हेटौँडा १० नम्बर वडाका वडा सभापति बनेका छन् ।  



सर्वसम्मत नेतृत्व चयन भएका अधिकांश स्थानीय तहमा कांग्रेसका युवा नेता हाबी भएका छन् । 

हेटौंडा उपमहानगरपालिका १ मा करिब ७० वर्ष उमेर पुगेका दुई नेताले प्रतिस्पर्धा गरेका छन् । जसमा ७९ वर्षीय हरिकृष्ण महर्जनले बाजी मारेका छन् ।  

यस्तै, कांग्रेसका प्रभावशाली नेता भरत पराजुली मनहरी गाउँपालिका वडा नम्बर एकबाट प्रतिनिधिमै पराजित भएका छन् । मकवानपुर जिल्लामा क्रियाशील सदस्य नयाँ धेरै भएकोले  नयाँ उम्मेदवारले पुराना कांग्रेसलाई पछि पारेको देखिन्छ ।

कांग्रेस मकवानपुरले अद्यावधिक गरेको तथ्यांकअनुसार ५३ सय जना नयाँ क्रियाशील सदस्य नेपाली कांग्रेसले थप गरेको छ । कांग्रेस केन्द्रले यसअघि ५३ सय नयाँ क्रियाशील सदस्यहरु र ४३ सय ५० जना नवीकरण गरेकाको सूची सार्वजनिक गरिसकेको छ । 

मकवानपुरमा अब साढे ९ हजार कांग्रेसको क्रियाशील सदस्य भएको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

मकवानपुर  जिल्लामा  सोमबार सम्म १७ सय २ जना क्षेत्रीय प्रतिनिधि चयन गरेको छ । वडा अधिवेशनले सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । 

यसबाहेक मतदाता संख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचित सदस्यमध्ये कोषाध्यक्ष एक हुने प्रवक्ता कोइरालाले बताए । 

नगरका वडामा २५ सदस्य, गाउँपालिकाका वडामा १५ सदस्य निर्वाचित र त्यसमा २० प्रतिशत सभापतिले मनोनीत गर्ने व्यवस्था रहेको छ । 

कांग्रेसको निर्वाचन समितिले जिल्लास्थित पार्टी कार्यालयमा आधिकारिक रुपमा नतिजा प्रकाशन गर्ने नेपाली कांग्रेस मकवानपुरले जनाएको छ ।

  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १९:५४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया