एकताका लागि बाबुराम, वैद्य, विप्लव र उपेन्द्रसँग सकारात्मक छलफल भइरहेको छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा झण्डा उठाउने बताएका छन् । उनले नेपालका विभिन्न कम्युनिस्ट पार्टीबीच छलफल गरी एकताको झण्डा उठाउनुपर्ने बताए ।

माओवादी केन्द्र पाल्पाको विस्तारित बैठकलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य (किरण), नेत्रविक्रम चन्द (विप्लव) र उपेन्द्र यादवसँग सकारात्मक छलफल भइरहेकाले आफू आशावादी भएको बताए । माओवादी केन्द्र र नेकपा (एमाले)बीच एकता हुँदा आफूहरू कमजोर नभएको उनले दाबी गरे । 

उनले देशका उत्पीडित जाति, वर्ग, लिङ्ग समुदाय एवं राष्ट्रको एकताको पक्षमा झण्डा उठाउने बताए । उनले माओवादी पूर्ण समानुपातिक निर्वाचनको पक्षमा नै उभिएको र आगामी दिन पनि पूर्ण समानुपातिक निर्वाचनको मुद्दालाई अगाडि बढाउने बताए । उनले नेकपा गठन गर्दा वैचारिक प्रतिवेदन र संगठनमा माओवादीमय प्रतिवेदन भएको दाबी गरे । माओवादी जनयुद्धको मूल्यांकन, राष्ट्रिय जागरणको मूल्यांकन आफ्नो पक्षमा रहेको प्रचण्डको दाबी छ ।

नेकपा माओवादीका जिल्ला इन्चार्ज तुलाराम घर्ती मगरले पार्टी बलियो बनाउने जिम्मा कार्यकर्तामा आएको बताए । उनले कार्यकर्तादेखि नेतासम्म पार्टी कसरी बलियो बनाउने भन्ने चिन्ता रहेकाले त्यो अभियान छिटो सञ्चालन हुने बताए । 

कार्यक्रममा जिल्ला अध्यक्ष नेत्रप्रसाद पाण्डेयले माओवादीले पार्टी संगठन बलियो बनाउन अभियान नै सञ्चालन गर्ने बताए । उनले पार्टीका अब नियमित गतिविधि सञ्चालन हुने र त्यसले पार्टीलाई चलायमान बनाउन सहयोग पुग्ने बताए । 

नेकपा माओवादी जिल्ला समितिलाई समन्वय समितिमा बदलिएपछिको यो पहिलो बैठक हो । माओवादीका जिल्ला तथा गाउँपालिकाको अगुवा कार्यकर्ताको सहभागिता थियो ।





  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार २०:२७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया