जुम्लाको हिमा गाउँपालिकाका विद्यालयहरुमा पठनपाठन सुरु भएको छ । गाउँपालिकाले यही भदौ १५ गतेदेखि विद्यालय सञ्चालनका लागि अनुमति दिएको हो ।
गाउँपालिकाको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत ८२ विद्यार्थीको कोरोना परीक्षण गरेर पठनपाठन सुरु गरिएको शिक्षक खम्बा शाहीले जानकारी दिए । ‘विद्यार्थीको कोरोना परीक्षण नतिजा नेगेटिभ आएपछि पठनपाठन सुरु गरेका हौँ,’ उनले भने । स्वास्थ्य मापदण्ड पालन गर्ने गरी गाउँपालिकाभित्रका सबै विद्यालयमा पठनपाठन सञ्चालन गर्न अनुमति दिइएको शिक्षा शाखा प्रमुख शंकर धितालले बताए ।
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका शिक्षा शाखा प्रमुखसहितको छलफलपछि विद्यालय सञ्चालनको निर्णय गरिएको धितालको भनाइ छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले शिक्षा शाखालाई एक साताभित्र शिक्षा क्षेत्रको जोखिम प्रतिकार्य योजना ल्याउन निर्देशन दिएको बताइन् । ‘कोरोनाले विद्यालय बन्द हुँदा विद्यार्थी मेला, पर्व र अन्य काममा जान थालेका छन् । त्यहाँभन्दा विद्यालयमै उनीहरु सुरक्षित हुने सुझाब प्राप्त भएको छ,’ उनले भने ।
सरकारले पछिल्लो समयमा ‘स्मार्ट लकडाउन’ कार्यविधिसमेत बनाएको छ । स्वास्थ्यको मापदण्डअनुसार हरेक साता कोरोना परीक्षण गरेर १०० जनामा परीक्षण गरेमा पाँचजना भन्दा मुनि नतिजा पोजेटिभ आएमा मात्रै विद्यालय सञ्चालन गर्न पाइने मापदण्ड बनाइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक राजीव शाहले जानकारी दिए ।
यस्तै, चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाले आठ विद्यालयमा कोरोना परीक्षण गरेको स्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए । तिला गाउँपालिकाले पनि कार्यपालिकाको बैठक राखेर छिट्टै विद्यालय खुलाउने तयारी गरेको सो गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।