पिताजीको तस्बिर
फरकधार / २२ भदौ, २०७८

नसम्झिनुपर्ने हो या विस्मृतिको गर्तमा मिल्काइदिनुपर्ने हो, मनको अदृश्य तहमा घोच्ने सम्झनाहरुलाई । तर म सम्झिरहेछु, थाहा हुँदाहुँदै पनि यो सम्झनाले नराम्ररी मलाई घोच्छ भनेर । यसपटकको यो माघे (सप्तमी तिथि) हिउँदे चिसोमा आधा शताब्दी पूरा गरेको छ पिताजी तिम्रो सम्झनाले । कत्ति लामो आयु हो यो सम्झनाको पनि ! थाहा छैन, अझै कति स्मृति दिवशका दिन पुरेत घरमा आउने हुन् र तिम्रा नाममा पिन्ड बटार्न लगाउने हुन् ! म तिम्रा नाममा हरेक वर्ष पिन्ड बटारेर पुत्र हुनुको कर्तव्य निर्वाह गरेको भ्रममा बाँचिरहेको छु । 



केही दशकअघिसम्म पिताजीका नाममा समर्पण गर्दै बटारिएका पिन्ड वाग्मती नदीमा लगेर सेलाउने गरिन्थ्यो, अहिले खाल्टो खनेर पुर्न आदेश दिन्छन् पुरेतबाजे । कुनै समय गाईलाई ख्वाउने चलन पनि थियो । अचेल घर छेउछाउ कोही गाई पाल्दैनन् र छेवैको वाग्मती नदी पानी होइन मानव मलमूत्र बोकेर ठसठस कन्दै बहिरहेको छ । किनकि, कुनै समयको चर्चित काँठ कोटेश्वर अब महानगर बनिसकेको छ । महानगर भन्नु हाम्रो परिप्रेक्ष्यमा अव्यवस्थित बाक्लो वस्ती हुन पुगेको छ । र, त्यही अव्यवस्थित वस्तीले वाग्मती एउटा फोहोर नालामा परिवर्तन हुन पुगेको छ । 

वाग्मतीको त्यो फोहोरमा कसरी पितृका नाममा बटारिएका पिन्ड सेलाउनु ! त्यसैले पिन्ड जमिनमुनि गाड्न थालेको पनि दशक नाघिसक्यो । धन्न, मेरो बासस्थानछेउ पिन्ड गाड्ने जमिन हालसम्म उपलब्ध छ । निश्चित छ, अबका केही वर्षपछि पिन्ड गाड्न जमिन उपलब्ध हुने छैन । साँच्चै त्यसबखत पिताजीका नाममा तयार पारिएको पिन्डलाई के गर्ने आदेश देलान् पुरेतले !

श्राद्ध गर्दैगर्दा एउटा प्रसंग आउँछ, त्यसबेला पुरेतले पिताजीलाई सम्झन आदेश दिन्छन् । ‘ल आँखा चिम्लेर पिताजीको अनुहार सम्झेर उठ्,’ मेरा पुरेत भन्छन् । त्यसबखत म आफूलाई थाम्न सक्दिनँ । मभित्र एउटा अनुत्तरित प्रश्न उत्पन्न हुन थाल्छ, देख्नै नपाएको पिताजीलाई मैले कसरी सम्झनु ? केही दशकअघि श्राद्धको दिन सदाझैं पुरेतले मलाई पिताजीको अनुहार सम्झन आदेश दिएका थिए । ‘पिताजीको निधन हुँँदा म केवल ३ वर्षको थिएँ, मलाई उनको अनुहारको कुनै सम्झना नै छैन गुरुबा,’ मैले भनेको थिएँ । उनले मलाई पुनः आदेश दिएका थिए, ‘तस्बिर त होला नि घरमा तेरो बाउको ? हो त्यही यहाँ अगाडि लेरा अनि सम्झी ।’



‘तस्बिर पनि छैन बाजे, एउटा थियो त्यो पनि झोर (बूढानिलकन्ठ) की फुपुआमोईले लगिन् । अब यसले कसरी सम्झोस् आफ्नो बाउलाई,’ आमाले जवाफ दिएकी थिइन्, ‘फुपुको घरमा गएर तस्बिर मागेको पनि हो, उनले पनि कतै हराइसकिछन् ।’ अब त आमा बितेको पनि दुई दशक नाघिसकेको छ भने बूढा पुरेत जसले मेरा पिताजीलाई देखेका थिए, तिनी पनि यो धरतीबाट बिदा भइसकेका छन् । अब उनको स्थान उनका पुत्रले लिएका छन् । तिनले उनका बाबुले जसरी पिताजीलाई सम्झन आदेश दिँदैनन् । रित पु¥याउन यस्सो भनिदिन्छन्– पिताजीलाई सम्झने बेला भयो । लगत्तै अर्को रिततर्फ लागिहाल्छन् ।  

‘तेरा बाउ अग्ला थिए, लामालामा जुँगा पाल्थे । दुब्ला थिए, ती मोटाएको मैले कहिल्यै देखिनँ,’ पुरेतले त्यतिबेला भनेका थिए, ‘हरेक दिन दूध बेच्न नयाँसडक जान्थे, बिहानै चार बजेतिर । बडो इमानदार र मेहनती थिए तेरा बाउ ।’ 

पिताजीको हुलिया र सामान्य आदत पुरेतले बताएपछि म कल्पना गर्न थालेँ, कस्ता थिए होलान् मेरा पिताजी भनेर । तर कहिल्यै उनको अनुहारको बिम्ब, रेखाचित्र वा इमेज मैले स्मरण गर्न सकिनँ । केवल उनको इमानदारी र मेहनतमात्रै कल्पनामा आए । म हालसम्म पनि त्यसैमा गर्वानुभूति गरिरहेको छु ।

चार दशकआसपासको कुनै एक दिन आमाले मलाई नयाँसडक लगेर आफ्ना पतिले हरेक दिन दूध दिने घर देखाएकी थिइन् । ‘दूध खाने’ त्यो घर नयाँ सडकस्थित रञ्जना सिनेमाहलको अघिल्तिर थियो । आमाका अनुसार त्यस परिवारमा दुई जना बूढाबूढी मात्र थिए । ती जीवनका उत्तराद्र्धको यात्रामा थिए । तिनका सन्तान थिएनन् । सोही बखत आमाले एउटा अनौठो प्रसंग सुनाएकी थिइन् । ‘बाचुन्जेल ती साहुलाई दूध खुवाए त्यो घर तेरो बाबुलाई लेखेर दिने भनेका थिए । तर सोझा तेरा बाबुले मानेनन् र दूधको पैसा समयमा दिए पुग्छ भने,’ आमाले भनिन्, ‘अहिले त ती बूढाबूढी पनि मरिसके होलान् ।’

बाबुले गरेको दुःख सम्झँदा आमा सधैं सुस्केरा हाल्थिन् । ‘धेरै परिश्रम र समयमा खानपान नमिलेका कारण तेरा बाबु ४० वर्षकै उमेरमा बिते’ भन्थिन् उनी । ‘बिहान तीन बजे उठ्थे, दूध दोएर चार बजे त घरबाट निस्किसक्थे । अनि घर फर्कंदा दिउँसो दुई–तीन बजिसक्थ्यो,’ उनी भन्ने गर्थिन्, ‘पछि त त्यो दूध किन्ने साहुले पाँच–सात महिनाको पैसा नै दिएन । पापी रहेछ त्यो साहु !’ बाबुको देहान्तपछि आमा केही पटक पैसा उठाउन नयाँ सडक पुगिछन् । तर उनले कहिल्ये पैसा असुल्न नसकेको गुनासो गरिरहन्थिन् । 

राजधानी काठमाडौंका स्थायी वासिन्दा मेरा बाबु । बाबुमात्र होइन, बाजे–बराजु पनि यही जन्मिएका । कामको सिलसिलामा पाँच किलोमिटर दूरीमा रहेको नयाँ सडक हरेक दिन पुग्थे मेरा पिताजी । तर उनले आफ्नो तस्बिर खिचाउने फुर्सद कहिल्यै पाएनछन् !   

जबजब पिताजी मेरो सम्झनामा तीव्र गतिमा आइपुग्छन् म उनको निधनको दिनको धूमिल सम्झना गर्न थाल्छु । माघको कठ्यांग्रिँदो जाडोको याम । कुहिरोले ढाकेको वस्ती । आँगनमा सेतो कपडाले छोपेर राखिएको मृत शरीर । तेली इँटा छापिएको मेरो घरको आँगन निकै ठूलो थियो । मृत शरीर वरिपरि केही मान्छे उभिएका थिए । केहीबेरपछि मृत शरीर बोकेर मान्छेहरु आँगनबाट बाहिरिएका थिए । त्यसपछि निस्किएको आमाको रुवाइको धमिलो सम्झना आउँछ मलाई । सोही बखत बिहाको बाजा बजाउँदै एक हुल जन्ती मेरै घरको बाटोमा आइपुगेका थिए । आमाको रुवाइलाई बाजाको आवाजले दबाइदिएको थियो । 

त्रिभुवन विमानस्थलको दक्षिणी कुनो त्यसबखत काठमाडौं जिल्ला, कोटेश्वर सुञ्चोटार गाउँपञ्चायत भनी चिनिन्थ्यो । पछि नगरपञ्चायत भएपछि सुन्चोटार हट्यो र काठमाडौं नगरपञ्चायत वडा नम्बर १० हुँदै अहिले काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ हुन पुगेको छ । केही समय महानगरको वडा नम्बर ३५ पनि भयो कोटेश्वर । संसदीय निर्वाचनका निम्ति कहिले क्षेत्र नम्बर १ त कहिले २ हुने सौभाग्य पनि यही भेगले पाएको छ । 

त्यसबखत पिताजीले आफ्नै पौरखबाट झण्डै १८ रोपनी जग्गा जोडिदिएका रहेछन् हाम्रा निम्ति, कोटेश्वर सुन्चोटारको त्यो हाइटमा । उक्त हाइटबाट वाग्मतीको हराभरा फाँट जति स्पष्ट देखिन्थ्यो उति नै नयाँ बानेश्वर, पशुपति क्षेत्र र कन्चन वाग्मती तथा मनोहरा नदी आँखै अघिल्तिरबाट बहन्थे । ती विस्तारित फाँट, फाट्टफुट्टमात्रै चल्ने सवारी, निर्मल पानी बोकेर बहने वाग्मतीका दृश्य मेरा मानसपटलमा अहिले पनि ओहोरदोहोर गरिरहन्छन् ।

मेरो घर काठमाडौँबाट भक्तपुर–ठिमी–लोकन्थली जाने पैदल यात्रुको मूलमार्गमा पथ्र्यो । सार्वजनिक यातायातको सर्वथा अभाव रहेको त्यस बखत मेरो घरअघिल्तिर मान्छेको ओहोरदोहोर दिनहुँ बाक्लो हुन्थ्यो । गाडी गुड्ने सडकबाट भक्तपुर जान घुमाउरो पथ्र्यो । त्यसैले मेरो घरको सीधा बाटो रोज्थे पैदलयात्रु । सोही बाटो घोडा चढेर हिँड्नेले पनि प्रयोग गर्थे । तर, कहिले विमानस्थल विस्तार त कहिले सडक निर्माणका नाममा हाम्रो परिवार राज्यपीडित बन्दै आयो । र, अहिले केही आनामा खुम्चिन बाध्य भएको छ । न त पिताजीले जोडिदिएको जमिन जोगाउन सकियो न त नयाँ केही जोड्न नै ! जब पिताजीले २०२४ सालमा यो धर्ती छाडेर गए तबदेखि नै उनले जोडेको जमिनमा सरकारको आँखा लाग्न थाल्यो र २०२८ सालमा हाम्रो उठिबास नै भयो ।    

पिताजीको सम्झना आउँदा सधैं एउटा कुराले भने मलाई पोल्छ, बाल्यकालमा उनको न्यानो अँगालो पाएको भए र त्यसलाई अहिले स्मरण गर्न पाएको भए ! म कति भाग्यमानी हुन्थेँ होला, मेरो जीवनको गति कति तीव्र हुन्थ्यो होला ! अहिले जस्तो जिन्दगीको गाडी रोकिँदै, फेरि चल्दै, टालटुल गर्दै धिमा गतिमा सायद गुड्दैनथ्यो ।  
जिन्दगीको उद्देश्य तयार गर्न र त्यो बाटोमा हिँड्न प्रेरणा दिने काम प्रायः बाबुले गर्ने गरेको देख्छु समाजमा । पिताजीको अभावमा आफू उद्देश्यहीन, शक्तिहीन, कमजोर मन र शुभेच्छुकको अभावमा समय व्यतीत गरिरहेको महसुस हुन्छ । अब त आफै पिता भएको पनि तीन दशक पूरा भइसकेको छ । र, आफ्नो उमेर साढे पाँच दशक पुगिसकेको छ । 

जब मेरा छोरा र छोरी मेरो नजिक आइपुग्छन् म उनीहरुलाई सुम्सुम्याउँछु र पिता हुनुको कर्तव्य निर्वाहमा चुक्नु नपरोस् भन्दै सचेत हुन पुग्छु । तिनका माग पूरा गर्न नसक्दा अति पीडित हुन्छु । आफ्ना सानासाना खुसीलाई त्याग्दै तिनका ठूला आवश्यकता पूरा गर्न दिनरात खट्छु । तिनलाई बलियो पाखुरीले अँगालो मार्छु, जीवनमा इमानदार तथा असल हुन र मेहनत गर्न छाड्न हुन्न भनेर सम्झाउँछु । जब ती मेरो अघिल्तिर पर्छन्, म तिनलाई छुन आफ्नो काँध झुकाउँछु । 

उमेरको यो लामो नदी पार गरुन्जेल थुप्रै पितासमान मानिस, अभिभावक, मित्र वा प्रेमिकाका रुपमा मेरो समीप आइपुगेका छन् । ती हरेकलाई म पिताजीको काल्पनिक (कहिल्यै नपाएको) स्नेहसँग तुलना गर्न थाल्छु । त्यसबखत ती सबै फिक्काफिक्का लाग्छन् । तीमध्ये अधिकांशमा स्वार्थलेपित र क्षणिक सम्बन्धको गन्ध पाउँछु । तिनले आफूलाई भ¥याङ बनाएको पनि बुझ्छु । तिनका अँगालोमा जब म बाँधिन्छु, तिनले कमै न्यानो दिएका छन् । तिनको न्यानोले मेरो मनको भित्री तहमा स्पर्श गर्नै सक्दैन । यतिखेर यदि मैले तिमीलाई आफ्नो अँगालोमा बाँध्न पाएको भए पिताजी, म तिमीलाई कहिल्यै फुत्केर मबाट टाढा जान दिने थिइनँ ! 

पात्रोमा हरेक साल ‘बाबुको मुख हेर्ने दिन’ आउँछ । त्यस दिन मानिसहरु बजारमा आफ्ना प्रिय र आदरणीय पिताका निम्ति सुन्दर उपहार छानिरहेका हुन्छन् । उक्त दिन म विशेषगरी एकान्तमा बस्न मन पराउँछु र पिताजीको नदेखेको अनुहार सम्झने कोसिस गरिरहेको हुन्छु । सन्नाटाको सिरेटोलाई मलाई बेस्सरी हिर्काउँछ । र, मलाई अविरल तातो आँसुले साथ दिइरहेको हुन्छ । म दुनियाँका तमाम क्रूरता र विडम्बनाहरुसँग लडिरहेको हुन्छु, तर आफ्नै मनसँग हार्न पुग्छु ।

तीन वर्षको अबोध बालक छँदै गुमेका पिताजीको अभावका कारण नै जिन्दगीले एउटा निश्चित उद्देश्य लिनै नसकेको ठहर मैले धेरैअघि नै गरेको हुँ । जे जति काम वा पेशा अपनाएँ, सफलता–असफलता हात परे, ती सबै आइलागेका जिम्मेवारी र प्राप्ति हुन् । सफलता नामका जेजति प्राप्ति गर्न सकेको छु, ती सबै तिम्रै देन हुन् पिताजी । म आफ्नो सफलता तिमीमा अर्पित गर्न चाहन्छु । असफलता र अभाव मेरा आफ्नै कमजोरी हुन् ।   

सानो छँदा मलाई जो देख्यो उही बन्न मन लाग्थ्यो । घरनजिक विमानस्थल भएका कारण बाटोतिर पाइलटहरु खुबै देखिन्थे । तिनलाई देख्दा पाइलटै बन्न मन लाग्थ्यो । तिनले लगाएका कपडा र सुग्घरीपनाले आकर्षित गथ्र्यो । कुनै दिन म पनि त्यसरी नै राम्रा कपडा र टिलिक्क टल्कने जुत्ता लगाएर हिँड्ने छु भन्ने सोच्थेँ । 

विरामी भएर अस्पताल जाँदा जब डाक्टर देख्थेँ, मलाई डाक्टरै बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । पछि माध्यमिक तहमा पढ्दै गर्दा केही साथीका कविता रेडियो नेपालमा बजेको र गोरखापत्रमा छापिएको देखेपछि कवि पो हुनुपर्ने रहेछ भन्ने लाग्न थाल्यो । रेडियोमा गीत सुन्दा गायक बन्न मन लाग्थ्यो । 

आफूलाई पढाउने शिक्षकको फूर्तिफार्ती देख्दा लामो समयसम्म सोचेँ, म पनि एक दिन शिक्षक बन्छु र यसैगरी फूर्तिफार्ती देखाउँछु भन्ने लाग्यो । तर यी सबथोकमध्ये एउटा मात्र थोकमा अब्बल बन्न पनि मलाई तिम्रो दह्रो हात र साथको आवश्यकता थियो पिताजी । तिमी भएको भए छोटै समयमा म सफलता हात पार्न सक्थेँ । तिम्रो अभावमा म क्रमशः निरीह हुँदै गएँ । प्राथमिक तहमा अब्बल रहेको मेरो पढाइ निम्नमाध्यमिकतिर पुगेपछि औसत हुन थाल्यो । म सधैं तिम्रो अभावमा तड्पिन थालेँ, तिम्रो सम्झनाले मलाई सधैं विह्वल बनाइरह्यो, मैले टेकेको जमिन धर्मराइरह्यो । 

म कवि–साहित्यकार त बनेँ, तर राम्रो लेख्न अझै बाँकी नै छ । तिमी हुँदा हौ त म सफल कवि, अति सफल पत्रकार भइसक्थेँ । पाइलट, डाक्टर बन्ने धोको तिम्रो अभावमा कसरी पूर्ति हुन सक्थ्यो र पिताजी ! झिनामसिना खुसीमा पनि निकै फुर्किने र सानै दुःखमा धेरै आत्तिने म, पिताजी तिमी हुँदा हौ त मेरा खुसी कत्ति अग्ला हुन्थे होलान् ! जत्रै पीडा पनि म हादैनथेँ होला ! मेरा दुःखहरु तिम्रो प्रेमका सामुन्ने कत्ति फिका हुन्थे होलान् !  

कुनै बेला परिवारले भोगेको चरम आर्थिक अभावले केही समय आमाले ज्यालामजदुरीसमेत गर्दै हिँड्नुपरेको तथ्यले अझै पनि मलाई घोच्न छाडेको छैन । त्यसबखत त्यस्तो कामलाई ‘कुल्लीकाम’ भनिन्थ्यो । पिताजी, तिमी थियौ भने मेरी आमालाई कुल्ली बन्न पठाउँथ्यौ र ! मभित्र आत्मविश्वास त छ, तर तिम्रो अभावमा त्यो कमजोर हुन पुगेको छ ।

थाहा छैन, अब तिमीसँग मेरो भेट हुन्छ कि हुँदैन (मलाई विश्वास पटक्कै छैन, अब भेट हुन्छ भन्ने कुरामा) । म प्रायः हरेक दिन तिम्रो धूमिल तस्बिरको कल्पना गर्छु र घरबाट सीधा पूर्वपट्टि (करिव पाँच सय मिटर पर) रहेको तिम्रो जन्म र अन्त्य भएको स्थान (त्रिभुवन विमानस्थलको दक्षिणी कुनो) तिर आँखा लगाउँछु । कवि हुनुको नाताले तिम्रा नाममा कविता त लेखेको छु, तर तिम्रो जीवन संघर्षको गाथा लेख्न अझै सकेको छैन । कविता त एक दिन विस्मृतिको गर्तमा विलिन हुनेछ नै, सबैले त्यसलाई बिर्सने नै छन्, तर पिताजी मेरा आँसुले तिम्रो सम्झना सधैं–सधैं गरिरहने छन् ।   

(पराजुलीको ‘कोटेश्वरको केटो’ संस्मरण पुस्तकबाट साभार)
 

  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार ८:१५:५४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया